बीबीसी – कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले गएको २४ घण्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार २ सय ८८ मानिसहरूको मृत्यु भयो। जुन गत मार्च २० तारिखयताकै सबैभन्दा कम हो ।
शनिवार त्यहाँ ३ सय ७८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले हालसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भइसकेको जनाएको छ ।
बालबालिकालाई राहत
अधिकारीहरूले कोरोनाभाइरस महामारी फैलिएयता पहिलो पटक स्पेनमा एकैदिन ३ सय भन्दा कम मानिसहरूको मृत्यु भएको जनाएका छन् । यसले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको उनीहरूको भनाइ छ । छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतवार स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन् । लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ ।
बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ । कतिपय अभिभावकहरूले विशेषगरी सुपरमार्केट जस्ता सङ्क्रमणको खतरा धेरै रहेको स्थानमा बालबालिकालाई पठाउन चाहेका छैनन् ।
इटलीमा लकडाउन खुकुलो पारिँदै
यसैबीच इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन् । टेलिभिजन सम्बोधनमा उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए ।
उनका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन् । इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ ।
इटलीमा अमेरिका पश्चात् सबैभन्दा धेरै २६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । तर हाल त्यहाँ लगातार मृतकको सङ्ख्यामा कमी आइरहेको छ ।