कन्चनपुर – एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो ।
कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न क्षेत्रमा काम सञ्चालन गर्नका लागि योजनाले तयारी थालेको हो । लकडाउनले छ प्याकेजमा जारी काममध्ये केही ठाउँमा एक दुई दिनभित्रै सञ्चालन गर्ने तयारी भइरहेको योजना प्रमुख अच्युतविलास पन्तले बताए । “सडक निर्माण शुरु गर्न प्रक्रिया अघि बढाएका छौँ”, उनले भने , “काम शुरु गर्न निर्माण व्यवसायी परिचालन हुँदैछन् ।”
विसं २०८० मा सक्ने गरी शुरु गरिएको महाकाली कोडिरोडरको काम लक्ष्यानुसार सकिनेमा अझै आशङ्का छ । विकास निर्माणको काम द्रुत गतिमा हुने महिनामा लकडाउन हुँदा योजनाको काम सोचेअनुसार अघि बढाउन नसकिएको कार्यालयले जनाएको छ । अहिले पनि जिल्ला प्रशासन कार्यालयमार्फत निर्माण व्यवसायीलाई परिचालन गर्न पासको व्यवस्था गरेर परिचालन गरिएको योजनाले जनाएको छ । पुलको काम पनि ढलानको लागि तयारी गरिँदैछ ।
“अहिले पनि लकडाउनले निर्माण व्यवसायीलाई मजदुर पाउन मुस्किल भइरहेको गुनासो गर्ने गरेका छन”, योजना प्रमुख पन्तले भने , “तर पनि हामीले काम गर्नुपर्छ भनेर ताकेता गरेका छौँ ।” कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुला तिङ्करसम्म ४२५ किलोमिटर निर्माण गरिने उक्त सडकको १२५ किलोमिटर मात्रै हालसम्म ट्र्याक खुलेको छ । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसँग भएको सम्झौता चालु वर्षमा सकिँदैछ । योजना प्रमुख पन्तले भने , “अब नयाँ बहुवर्षीय सम्झौता गरेर आगामी वर्षदेखि थप काम अगाडि बढाइने योजना छ ।”
कोरिडोरको काम २०६६ सालदेखि शुरु भएको हो । महाकाली कोरिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ । भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा यो सडकलाई लिइएको छ । हालसम्म कोरिडोरको काम सबैभन्दा बढी दार्चुलामा २१२ किलोमिटर, बैतडीमा १४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ । कार्यालयका अनुसार हालसम्म रु ३३ करोडको लागतमा दार्चुलामा ५२, बैतडीमा ६२ र डडेल्धुरामा ११ किलोमिटर ट्र्याक खोलिएको छ भने कञ्चनपुरमा भने काम सञ्चालन हुन सकेको छैन । लोकान्तरबाट