काठमाण्डौ – चीनले सरसफाइलाई अझ महत्त्व दिँदै असभ्य क्रियाकिलाप र व्यवहारमा प्रतिबन्ध लगाएको छ । जसका अनुसार बिना हात वा कुनै रुमाल र टिस्यु पेपर खोक्न वा हाच्छिउँ गर्न प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरस (कोभिड १९) को महामारीका बीच सरसफाइ बनाइ राख्ने उद्देश्य सहित निकालिएको नियमावलीमा यी कुरा पनि समेटिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार सार्वजनिक ठाउँलाई सुरक्षित बनाइ राख्ने उद्देश्यले यो कदम उठाइएको हो ।
यो नियम लागू गर्नुको पछाडि मानिसहरुलाई सभ्य व्यवहारप्रति प्रोत्साहित गर्नु हो । साथै यसलाई कोरोना भाइरसको महामारीसँग पनि जोडेर हेरिएको छ, चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ ।
यो नियमको उल्लङ्घन गर्नेले जरिबाना तिर्नुपर्नेछ । यसका साथै सार्वजनिक ठाउँमा मास्क नलगाउने (यदि ऊ अस्वस्थ छ भने) पनि जरिबाना तिर्नुपर्ने हुन्छ । यी नियममा एकअर्का बीच एकदेखि दुई मिटर सम्मको दुरी राख्न पनि भनिएको छ ।
मानिसहरुलाई सफा कपडा लगाउन र शर्टलेस (नाङ्गो जीउ) नघुम्न भनिएको छ । बेइजिङमा यसअघि नै असभ्य मानिने व्यवहारहरु– थुक्न, फोहर यता–उता फ्याक्न, कुकुरलाई खुला छोड्न, अग्लो भवनबाट सामान फ्याक्न, खुला ठाउँमा शौच गर्न र धुम्रपान गर्नेलाई लिएर कडा नियम बनाएको छ ।
यो कानुनले सामाजिक रुपमा क्षति पु¥याउनेलाई पनि गम्भीर अपराधको रिपोर्ट गर्न प्रहरीलाई प्रोत्साहित गर्छ ।