काठमाण्डौ - नेपाल र नेपालीहरुका लागि निकै दुखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ठिक पाचँ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनासकारी गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको हो ।
मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण हजारौ मानिसहरुले ज्यान गुमाएका थिए भने निजी तथा सरकारी गरी लाखौ आवास भत्केका थिए । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो ।
यी जिल्लालाई सरकारले अति प्रभावित भनी परिभाषित गरेको छ। सो भूकम्पमा परी करिब नौ हजार नेपालीहरुले ज्यान गुमाएका थिए भने करिब २२ हजार मानिस घाइते भएका थिए ।
अझै पनि भूकम्पवाट बिस्थापित भएकाहरु खुला आकाशमुनि बस्न बाध्य रहेका छन् । भूकम्पले सात हजार ५ सय ५३ विद्यालय , ९ सय २० सांस्कृतिक सम्पदा, १ हजार १ सय ९७ स्वास्थ्य संस्था, ४ सय १५ सरकारी भवन, १ सय ९४ सुरक्षा निकायका संरचना, ७ सय ६२ किमी सडक संरचना र १ हजार भन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो ।
भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको छ। हालसम्म पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ।