अत्तरिया – नेपालमा १० बर्षे जनयुद्ध भयो । त्यही जनयुद्धमा हजारौले बलिदान गरे । जनयुद्धले नेपालमा परिवर्तन पनि भए । जनयुद्धले धेरैको अवस्था बदल्यो, देशको व्यवस्था बदलियो । तर यही जनयुद्धमा होमीएका योद्धा नरेश बहादुर धामीको अवस्थामा भने कुनै परिवर्तन आएन् । कैलालीको गोदावरी नगरपालिका १ मा बस्ने धामी २०५८ सालदेखि जनयुद्धको अन्त्य हुँदा सम्म जनमुक्ति सेनामा भर्ना भएर बिभिन्न युद्धका मोर्चामा होमीएका थिए । न खाने निश्चित हुन्थो न, बस्ने, चारैतिरबाट कतिबेला आक्रमण हुन्छ भन्ने डर हुन्थो तर पनि उनले यो युद्धमा कहिले हरेस खाएनन् अन्य सम्म लडिरहे । युद्धमा लडेका लडाकु धामीलाई पछिल्लो समय कोरोना विरुद्धको लडाईमा भने ज्यान जोगाउन हम्मे – हम्मे छ । त्यो पनि रोगको डरले नभएर भोकको डरले ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि सरकारले देशैभरी लकडाउन गरेको छ । लकडाउनले विशेष गरेर दैनिक ज्यालादारी गरेर खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन । त्यहि दैनिक ज्यालादारे गरेर खाने वर्गमा परेका धामीलाई पनि अहिले छाक टार्न हम्मे हम्मे परेको हो । बजारमा दिनभरी ठेला घुमाएर चटपट बेचेर घर खर्च चलाउने उनी अहिले लकडाउनमा व्यवसाय बन्द हुँदा समस्यामा परेका हुन ।

‘२०५८ सालदेखि शान्ती सम्झौता हुँदा सम्म जनयुद्धमा लागेको हुँ ।’ धामीले भने ‘जनयुद्ध पछि सेनामा जाने सोच थियो तर मलाई चुनावमा खटिनु पर्छ भनेर जान दिईएन् । त्यसपछि चुनाव भयो पार्टीले पनि जित्यो तर आफूहरुको लागि केहि सोचिनन् ।’ उनले त्यसपछि बाच्नका लागि केहि गर्नुपर्छ भनेर सानोतिनो व्यवसाय गरेको बताए । ‘सुरुमा अत्तरिया बजारको सडक छेउमा खोका राखे । त्यसले जेनतेन घर खर्च चलिरहेको थियो । तर ति खोका पनि सरकारले हटाईदिएपछि व्यवसाय बन्द भएर ठेलामा चटपट बेच्न सुरु गरे ।’ उनले भने ‘ठेलामा चटपट बेच्दा दैनीक ५÷६ सय हुन्थो, त्यहि पैसाले दोस्रो दिनको लागि चटपटका सामान ल्याउने र घर खर्च चलाउन्थे गर्थे ।’
२ छोराछोरी र श्रीमती सहित अत्तरियामा भाडाको घरमा बस्ने धामी परिवारलाई अहिले लकडाउनमा घर चलाउन निकै हम्मे–हम्मे परेको छ । काम गरिरहेकै अवस्थामा घर खर्च चलाउन समस्या परिरहने धामी परिवारलाई झण्डै १ महिना देखि काम ठप्प भएपछि झनै समस्या परेको छ । ‘खानेकुराको जोहो गर्न निकै समस्या छ, अहिले अलि अलि छिमेकीले सहयोग गरेका छन ।’ धामीले भने ‘चैत्र २३ गते नगरपालिकाले ७ दिनका लागि भनेर १० केजि चामल दिएको थियोे त्यसपछि १७ दिन वितिसक्दा पनि कुनै सहयोग आएन् ।’
उनले घर चलाउन समस्या भएपछि छिमेकी मार्फत नगरपालिकामा कुरा राखेपछि बुधबार नगरपालिकाकी उपप्रमुख रत्ना कडायत घरमै आएर सहयोग गरेको बताए । ‘उपप्रमुख घरमै आएर केहि रासन दिएर जानुभयो निकै खुसी लाग्यो ।’ उनले भने ‘मेरो समस्या छिमेकी मार्फत सुनेर वहाँले व्यक्तीगत रुपमै मलाई सहयोग गर्नु भएको रहेछ ।’
उनी कोरोना भाईरसबाट बचाउनका लागि लकडाउन गर्नु उचित भएपनि आफूजस्ता दैनिक ज्यालादारी गर्नेको लागि सरकारले हेर्न आवश्यक रहेको बताउँछन् ।