अत्तरिया - अहिले विश्वका बिभिन्न शक्तिशाली देशहरु कोरोना भाईरससंग लडिरहेका छन् । छिमेकी राष्ट चिनवाट सुरु भएको यो भाईरसवाट बच्नका लागि विश्वका सबै देशहरुले निकै साबधानी अपनाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले नेपालमा पनि कोरोनाको जोखिम उच्च रहेको बताएपछि पुरै देश एक महिनादेखी लकडाउनमा रहेको छ ।
जसका कारण नेपालीहरुको दैनिकि नै परिवर्तन भएको छ र सबैको ध्यान पनि कोरोनामै गएको छ । कोरोनाका कारण देशभरका साना तथा ठूला आयोजनाहरु प्रभावित बनेका छन् । यता कैलालीमा साना तथा ठूला विकास निर्माणका योजनाहरु रोकिरहेका बेला गोदावरी नगरपालिकाको भवन निर्माणको काम पनि प्रभावित बनेको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेवाट देशभर लकडाउन गरेपछि भवन निर्माणको काम पुरै प्रभावित बनेको हो ।
स्थापना काल देखी भाडाको घरमा संचालनमा रहेको नगरपालिका भवन निर्माणका लागि गत मंसिर २ गते शर्मा एण्ड कम्पनीसंग १० करोडमा ठेक्का सम्झौता भएको थियो । एसियाली बिकास बैकंको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यन्व्यन ईकाइले बनाउन लागेको भवन २० महिना अर्थात २०७८ साल साउन महिनामा सक्ने गरि काम सुरु भएपनि एक महिना लामो लकडाउनले पुरै काम प्रभावित बन्न पुगेको हो ।
गोदावरी नगरपालिका वडा नं २ तेघरी ब्यारेक नजिकै नगरपालिकाले खरिद गरेको १५ कठ्ठा जग्गामा निर्माण भैरहेको भवनको मंसिर २० गते शिलन्यास गरिएको भएपनि अहिले सम्म जगका लागि खाल्डो खन्ने काम मात्रै भएको छ । भवन निर्माण्को काम उसैपनि सुस्त गतिमा भैरहेका बेला लकडाउनले अझै समस्या थपेको छ । अब बर्षायतको समय पनि नजिकिदै छ ।
यो समयमा काम गर्न नपाउदा बर्षायत सुरु हुनै लाग्दा काम गर्न झनै कठिनाई हुने भएपछि तोकिएको समयमै भवन निर्माणको काम सम्पन्न नहुने देखिएको छ । यता शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर बृज लाल चौधरीले कोरोनाको त्रास र लकडाउनले गर्दा सबै स्टाफहरु घर गएपछि काम प्रभावित बनेको बताए ।
उनले यो समयमा चाहिएको बेला निर्माणका सामग्रीहरु पनि नपाइने हुदा समस्या थपिएको बताए । 'अहिले कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको र गोदावरी नगरपालिकाको भवन निर्माणको कामसंगै भैरहेको छ , यताको सामान उता चाहिन्छ , उताको सामान यता' उनले भने - 'त्यसैले सामानहरु पनि ल्याउन लैजान नसकिने भएकाले पुरै काम प्रभावित बन्न पुगेको हो ।'
उनले सरकारले गरेको निर्णय अनुसार कामलाई अगाडी बढाइने बताए । अहिले प्रभावित भएका कैलालीका ठूला योजनाहरुको निर्माणका लागि प्रशासनवाट पास लिएर काम भैरहेको अबस्थामा अनुमति पाएमा नगरपालिका भवन निर्माणको काम अगाढी बढ्ने उनको भनाई छ ।