अत्तरिया -प्रदेश सरकारले अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्थापना गरेको क्वारेनटाईन अलपत्र परेको छ । संघिय सरकारका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई काठमाण्डौको एल आर आई स्कुलले ५० शैयाको बेड र खाटहरु क्वारेनटाईनका लागि उपलब्ध गराएको थियो ।
मन्त्री भट्टका स्वकिय सचिब हितेश ओझाले केही दिन अघि सो सामाग्री एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी र अर्थमन्त्री झपट बोहरालाई हस्तानतरण गरेका थिए । बिभिन्न ठाउँहरुबाट अलपत्र परेका र बाटोमा रोकिएकालाई सो क्वारेनटाईन राख्ने योजना गरिएको थियो ।
तर क्वारेनटाइनमा बस्नेहरुको संख्या दैनिक बढन थालेपछि ब्यबस्थापन र सुरक्षामा थप चुनौती थपिएको छ । सयौंको संख्यामा उनीहरुलाई क्वारेनटाइनमा त राखिएको छ तर उनीहरुको खानपिन र अन्य ब्यबस्थापनको जिम्मा कसैले लिएको छैन । त्यहाँको ब्यबस्थापनको जिम्मा शुरुमा प्रदेश सरकारले लिने भनिएको भएपनी अहिलेसम्म प्रदेश सरकारको कुनै निकायको उपस्थिती देखिएको छैन ।
गोदावरी नगरपालिकाका प्रमुख र प्रदेशका मुख्यमन्त्री बिच यहाँ लाग्ने ब्यबस्थापन खर्च सिधै मुख्यमन्त्री कार्यालय मार्फत भुक्तानी गर्ने सहमती पनि भएको स्रोतको भनाई छ । प्रदेश सरकारले जिम्मा लिने भनेपछि नगरपालिकाले पनि ब्यबस्थापनको कार्य अगाडी बढाउन अन्यौल भएको बताएको छ । तर गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले आफुहरु ब्यबस्थापनमा लागिरहेको भएपनी प्रदेश सरकारको सहयोग नभएको बताए ।
'अब यो प्रदेशको जक्सन भयो,मान्छेहरु यहाँ आउने क्रम तिब्र छ । हिजो पनि एक गाडी मान्छे पहाड पठायौँ,' उनले भने ,' थप मान्छेहरु यसरी नै आउने हो भने यहाँ झनै खतरा हुने देखियो त्यसैले यसमा प्रदेश सरकार गम्भिर बन्नु पर्दछ।' उनले क्वारेनटाइन ब्यबस्थापनको लागि प्रदेश सरकारले फोकल पर्सन राखेर काम अगाडी बढाउनु पर्ने बताए ।
सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदीले क्वारेनटाइनमा बसेकाहरुको ब्यबस्थापन को खर्च प्रदेश सरकार ब्यहोर्ने बताए । मुख्यमन्त्री र गोदावरी नगरपालिकाका प्रमुख बिच ब्यबस्थापकिय बिषयमा छलफल भएको छ, अहिले लाई तत्काल लाग्ने खर्च नगरपालिकाले ब्यहोरे पनि हुन्छ पछि सरकार दिन्छ ,'उनले भने ,'सबै ठाउँ ब्यबस्थापन गर्नु पर्ने छ त्यसैले अत्तरिया क्वारेनटाइनको पनि ब्यबस्थापन हामीले गछौँ ।
मन्त्री सुबेदीले अहिले को समयमा एकले अर्कालाई दोष थुपार्ने भन्दा पनि सबैले मिलेर काम गर्नु पर्ने बताए । अत्तरियामा प्रदेशको क्वारेनटाइन राख्ने प्रदेश सरकारले नितिगत निर्णय नगरेको हुँदा ब्यबस्थापकिय खर्च को कुरो समस्या बनेको बुझीएको छ ।क्वारेनटानमा बसेकाहरुलाई सम्बन्धित जिल्ला पठाउने कार्य पनि अलमलमा परेको छ ।