चिनको वुहान शहरबाट सन २०१९ को अन्त्यसंगै शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वभरी डरलाग्दो महामारीका रुपमा फैलिदै गएको र यसबाट यो लेख तयार पार्दा सम्म विश्वभरमा डेढ लाख भन्दा बढी मानिसको मृत्यु (गैह आवासीय नेपाली संघका अनुसार कोरोनाले विश्वभरमा २८ जना नेपालीको मृत्यु भएको) समेत भईसकेको छ । नेपालमा पनि केही दिन अघिमात्रै देखा परेको कोरोना भाईरसको संक्रमित दर दिनप्रति दिन बढ्दै गएईरहेको छ । यसबाट सुरक्षित हुने एकमात्र उचित उपाय लकडाउन (बन्दाबन्दी) नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेबाट कार्यान्वयन गरी यसलाई बैसाख १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको छ ।

हाम्रो देश विकासका दृष्टीले कतिपय मुलुकको तुलनामा अझै पछाडि रहेको, वैदेशिक सहयोगकै भर पर्नुपर्ने र गाँस, बास र कपासको परिपुर्ती आयातकै भरमा चलिरहेको परिवेशका बिच देखिएको कोरोना भाईरसको उपयुक्त चेक जाँचका लागि हामीसंग बिद्यमान यन्त्र उपकरण, प्रविधि, जनशक्ति तथा श्रोत साधनको उपलब्धताले हाम्रो जस्तो भौगोलिक विकटता भएको मुलुकमा कोरोना भाईरस लागे नलागेको यथार्थ जानकारी पत्ता लगाउन कति सम्भव र सजिलो छ र छैन ? भन्ने कुराको आंकलन सहजै गर्न सकिन्छ ।
कोरोनाले विश्वका सम्पन्न तथा शक्तिसाली मानिने मुलुकहरु (अमेरिका समेत) लाई समेत चुनौती दिईरहेको यस परिस्थितीमा हाम्रो जस्तो अल्पविकसित, गरिब मुलुकका हामी नागरिकले यस रोगसंग आ – आफ्नै वलवुत्ता र विवेकले मुकाविला गरी सुरक्षित रहनुको अरु विकल्प छैन । यद्यपी अरु विकसित मुलुकको तुलनामा आजसम्म हामी नेपालीलाई यसले खासै असर नपारेको (कोरोना भाईरसले नेपालमा हाल सम्म कसैको मृत्यु नभएको) र नेपाल सरकार यसप्रति पूर्णरुपमा सचेत रही यसबाट बच्नका लागि विभिन्न सुरक्षात्मक नीति नियम कार्यान्वयन गर्नु गराउनु हाम्रा लागि खुशीको कुरा हो र हामी नेपाली हुनुको गर्व पनि ।
नेपाल सरकार, बाणिज्य तथा आपूर्ती मन्त्रालय, ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र भन्सार विभागको तथ्यांक अनुसार आ.ब.२०७५/०७६ मा रु. १५ अर्व १३ करोड बराबरको बार्षिक तरकारी आयात भएको छ । २०७६ श्राबण देखि मंसिर सम्म (५ महिनामा) रु २० अर्व २१ करोड ७६ लाख १७ हजार बराबरको खाद्यान्न, रु. १० अर्व ८८ करोड ६४ लाख ८८ हजार बराबरको मलखाद, रु. ९ अर्व ९४ करोड ६९ लाख ६१ हजार बराबरको पालम आयल, रु. ६ अर्व ६१ करोड ६२ लाख ७६ हजार बराबरको भटमासको तेल, रु. ३ अर्व ४३ करोड २५ लाख १० हजार बराबरको प्रशोधित कपास, रु १ अर्व ९० करोड ४४ लाख २५ हजार बराबरको भेडाको (प्रशोधित) उन आयात भएको देखिन्छ । यसरी आयातको वर्तमान अवस्थालाई विश्लेषण गर्दा हाम्रो देशमा वढि देखि कम पैठारी कारोबारमा संलग्न देशहरु क्रमशः भारत, चीन, ईण्डोनेशिया, यूएई, संयुक्त राज्य अमेरिका, क्यानडा, स्वीजरलैण्ड, दक्षिण अफ्रिका, थाईलैण्ड, साउदी अरेविया, अर्जेन्टिना, दक्षिण कोरिया, युक्रेन, फ्रान्स प्रमुख रुपमा रहेका छन ।
विश्वभरि संत्रास छाएको कोरोना महामारी कै कारण हामी र हाम्रो गाँस बास र कपासमा प्रत्यक्ष दोहोरो सरोकार रहने दुई ठूला मुलक चिन र भारत पनि यति वेला यस रोगबाट अझ बढी विक्षिप्त भएका छन । सुरक्षाको बाध्यात्मक कारणले दोहोरो देशविचका कतिपय ठूला ब्यापारीक नाका अनिस्चित समयका लागि बन्दाबन्दी नै छन । यसरी लक डाउन अघि सम्म नियमितरुपमा आयात भईरहेका खाद्यवस्तु (तरकारी समेत) कोरोना रोगको नाकाबन्दीले रोकिएका छन । भने यो अवस्था अनिश्चितकाल सम्म लब्बिन सक्ने हुँदा खाद्यवस्तुको अभाव हुने निश्चित छ । यहि अवस्थाले गर्दा हामीले हाम्रो बजारबाट किनेर नै जीविकोपार्जन गर्ने बानी र दैनिकीको विकल्प तत्काल खोज्नु पर्ने अपरिहार्यता भएको छ । अन्याथा हामी संग नगद पैसा हुँदा हुँदै पनि किनेर खान पाउने अवस्था समेत नरहन सक्छ । कोरोनाकै कारण हाम्रो देश समेत पूर्णरुपमा लकडाउनमा रहेको र त्यसबाट बच्ने एक मात्र उपयुक्त उपाय (नेपालको परिवेशमा अझ बढि उपयुक्त र उचित विकल्प) लकडाउन (बन्दाबन्दी) नै हुने भएकाले लकडाउनको समय अनिश्चितकालीन हुन सक्छ । यसरी लामो समयको बन्दाबन्दीमा सुरक्षाको बाध्यात्मक कारणले मानिसले घरभित्रै बस्नु पर्ने हुदाँ मानिसमा बेचैन आउने, दिकदारी महसुस हुने, आफनो जीवनदेखि आफैलाई वितिष्णा लाग्ने, बिभिन्न प्रकारका मानसिक असन्तुलन, डिप्रेसन तथा मनोत्रास जस्ता थुप्रै स्वास्थ्यगत समस्याहरु आउन सक्छन । यी र यस्ता समस्याहरुबाट समेत बँच्न आफुले आफैलाई केही न केहि काममा व्यस्त राख्नु पर्ने हुन्छ । यसको उपयुक्त उपाए र बिकल्प कृषि पेशा नै हो ।
भनिन्छ, अनिकालमा विउ जोगाउनु र संकटमा जीउ जोगाउनु । बाँच्न पाँउनु प्रत्येक मानवको आधारभुत अधिकार पनि हो । जो कोही मान्छेले सरल र सहज किसिमबाट बाँच्न पाउनु पर्छ । यसका लागि भोक लागेको बेला खाना खानु नै प्रमुख अनिबार्य आवश्यकता हो । जुन खाने कुरा कृषिबाटै प्राप्त गर्न सकिन्छ । अर्थात मानिस जातीको बाँच्ने आधार नै कृषि हो ।
देशको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढी जनसंख्या कृषि मै आश्रित भएको अवस्था, हिमाल देखि तराई सम्म फैलिएको भौगोलिक संरचनामा विविध किसिमको हावापानी, माटो, जमिन, पर्यावरण विद्यमान अवस्था कृषिका विविध क्षेत्र खाद्यान्न, फलफुल, पशुपालनका लागि वरदान सावित हुन सक्छ । यसरी आफ्नै स्वदेशमा उपलब्ध यस्तो बरदानलाई मध्येनजर गरी स्वाभिमानी देशका हामी स्वाभिमानी नागरिक भएर बाँच्ने र बचाउने प्रमुख पेशा र श्रोतमा कृषि नै उचित विकल्प हो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि सूचना तथा संचार केन्द्रको तथ्यांकका अनुसार नेपालको कुल क्षेत्रफल मध्ये बन जंगलले (झाडी १५६० हे सहित) ५८ लाख २८ हजार हेक्टर, चरन खर्कले १७ लाख ६६ हजार हेक्टर, पानीले ३ लाख ८३ हजार हेक्टर र अन्य क्षेत्रले २६ लाख २० हजार हेक्टर ओगटेकोमा ३० लाख ९१ हजार हेक्टर खेती गरिएको जमिन र १० लाख ३० हजार हेक्टर खेती नगरिएको खेती योग्य जमिन रहको पाईन्छ । परापूर्वकाल (सत्य युगको उतरार्धतिर विश्वामित्र ऋषिको पालादेखि) काल देखि नै कृषि कार्यको सुरुवात भएको शास्त्रीय प्रमाणका आधारमा समेत प्राणी जन्य जीवनलाई बचाउने मुल आधार नै कृषि रहेको र मानवले आफ्नो उत्पतीकाल देखि नै केही न केही खाद्यवस्तु खाएरै आफुलाई बचाएको पाईन्छ ।
हामीले हाम्रो देश कृषि प्रधान मुलुक भन्दै आईरहेको र पछिल्लो अवस्थामा राज्यले समेत कृषिलाई उच्च प्राथमिकतामा राखेको सन्दर्भमा नेपालको कृषि प्रणाली क्रमशः परम्परागत, निर्वाहमूखी तथा मनसुनमा आधारित कृषि प्रणाली, कृषि क्षेत्रमा अदृष्य वेरोजगारी, दुई तिहाई भन्दा वढी जनसंख्या कृषि मै आश्रित, कृषि क्षेत्रमा वैज्ञानिक पद्धती र आधुनिकीकरणको कमी र उन्नत विउविजनको प्रयोगमा कमी जस्ता विशेषताहरुलाई तीन तहकै सरकारले मध्येनजर गरी सोही अनुरुप सुधारात्मक किसान लक्षित कार्यक्रम तत्काल ल्याउनु पर्ने अवस्थाको सृजना भएको । आफू र आफूसंगै जोडीएको जीवन बचाउनु पर्ने बाध्यात्मक परिस्थितिलाई हामी सबैले स्वीकार गरी आफूले आफ्ना लागि आफूसंग उपलब्ध भएको जमिन, ठाँउ कतै खाली नराखी कृषि उत्पादन गर्नु पर्ने अपरिहार्यताको संदेश कोरोनाले दिईरहेको छ । यसरी बढ्दै गईरहेको शहरीकरणलाई समेत ध्यान दिदै देशभित्र रहेका सम्पूर्ण जनसंख्यालाई दैनिक पेट भर्नका लागि आवश्यक पर्ने खाद्यबस्तु उपलब्धताका लागि आयातमा भर नपरी देश भित्रै उत्पादन गर्न गराउन भुगोल, क्षेत्र वातावरण सुहाउदा कृषि पेशा संचालन गर्नरगराउन अत्यन्तै जरुरीको समय आईसक्यो ।
कृषि पेशाका माध्यमले प्रसस्त आर्थिक आम्दानीका लागि स्वदेश नै उच्च संभावना हुँदा, हँुदै पछिल्लो समयको उच्च आधुनीकीरण, शहरीकरण, शैक्षिक बेरोजगार, कृषिसंग सम्बन्धित नीति, नियम, कार्यक्रमहरुको अभाव, कमी, पारिवारीक पछौटेपन, गरिबी र अधिकतम ब्यक्तिमा कृषि प्रतिको हेर्ने दृष्टिकोण जस्ता कारणले अधिकांस उत्पादनशिल उमेरका जनशक्तीहरु दिनानुदिन विदेश पलायन भईरहेका र विषम कठिनाईका बाबजुद छोटो समयमै प्रसस्त पैसा (आर्थिक आम्दानी) गरी स्वदेश फर्किने र सोही कमाएको पैसाले चाहिएको खाद्यवस्तु बजारबाट किनेर पारिवारीक दैनिकि चलाउने र पैसा सकेपछि फेरी विदेश नै पलायन हुने एक खालको अनियमित चक्रमा प्रायः नेपालीहरुको जीवन चलिरहेको परिवेशमा कोरोनाको विश्वब्यापी संत्रासका कारण विदेशमा काम गरिरहेका नेपालीहरु यतिवेला स्वदेशमै फर्किन बाध्य भएका र अनतः आफ्नै देशमा केही न केही गरेर बाँच्ने र यसका लागि कृषि नै पहिलो प्राथमिकता हो भन्ने कुरा महसुस गरेको यथार्थता हाम्रा सामु छलंङ्ग भईसकेको छ ।
हामीलाई दैनिक आवश्यक पर्ने खाद्यवस्तुको बजार कोरोनाकै कारणले गर्दा लामो समयका लागि बन्द भएको छ । विदेशी आयात पूर्णरुपमा रोकिएको छ । बाँच्नका लागि खाना खानु आवश्यक छ । खानाका लागि कृषि उत्पादन गर्न जरुरी छ । कृषि उत्पादनका लागि हामीसंग प्रचुरमात्रमा संभावना भएको भूगोल छ । यसर्थ यस संकटको घडीमा विश्व एक गाँउको अवधारणाबाट टाढा रही स्वदेश एक गाँउको अवधारणामा हामी नेपालीहरु एकजुट भई संभावनायुक्त क्षेत्रमा सोही अनुरुपका कृषि पकेट कार्यक्रमहरु संचालन गरौं र गराऔं । हामीसंग उपलब्ध भएका जमिनलाई अधिकत्तम सदुप्रयोग गरौं । आँगनको करेसाबारी देखि घरको छत, कौशी समेत बाँझो नराखी आजैबाट आफैबाट कृषि उत्पादनमा जुटौं र जुटाऔं भन्ने अपरिहार्यता कोरोनाले नेपालमा ब्यूँताएको छ । कोरोनाबाट बच्ने सुरक्षात्मक नियम पालन गरी आफूलाई सधै ब्यस्त र स्वस्थ राखौं । आफू पनि बाँचौ संग संगै अरुलाई पनि बचाऔं ।
गणेश बहादुर थापा (थापा काजी) बुढीगंगा नगरपालिका – ५, बाजुरा
हालः कीर्तिपुर नगरपालिका, काठमाण्डौ, अधिकृत छैठौ पदका कार्यरत