अव यो भय र त्रासको वातावरणसँग अपरिचित कोही छैन । कोभिड – १९ संक्रमण विश्वभर तिब्र गतिमा फैलिरहेको छ । विश्व महाशक्ति अमेरिका र अति विकसित युरोप गल्दै गैरहेको छ । तीनतिर खुला सिमाना भएको र कपटपूर्ण विदेश नीति भएको छिमेकी भारतमा संक्राण र मृत्युदर दिनप्रतिदिन बढिरहेको छ ।
हाम्रो त्रासको कारण यति मात्र छैन । कोरोनाले क्रमशः रोप्दै गैरहेका घाउहरु माथी हाम्रो आफ्नै गरिबी, प्रविधिविहिनता, परनिर्भरता, भौगोलिक विकटता, अस्पष्ट नीति, कमजोर राज्यसंयन्त्र आदिले एकैपटक असर देखाउन थालेका छन् । त्यसमाथी राज्य र सरकारको नेतृत्वका विवेकहीन हर्कतले दिनहु देखिने दृष्यहरुलाई साम्य पार्ने हैन झनै बढी पीडादायी बनाइरहेको छ । लकडाउनले हाम्रा पैतला घरभित्रै रोकीराखे पनि देशविदेशका हृदयविदारक घटनाहरुका सजीव चित्र हामीलाई पछ्याउदै आइरहेका छन, रेडियो, टेलिभिजन र सामाजिक सञ्जाल मार्फत ।
हाम्रा आँखाहरु दुख, पीडा र चित्कारका दृष्यमा बढि घोत्लिरहेका छन् । राज्यको क्षमता र सरकारको रबैयाले यतिबेला हामीलाई बढी दूखी र भयभित बनाइरहेको छ । सरकारी लाचारीका कारण सर्वसाधारणले अनेक प्रकारका दूख पाइरहेका प्रष्ट दृष्यहरु दिनहु देखिन थालेका छन् । हामी समवेदनापूर्ण आम मान्छे यी दृष्यहरुलाई कसरी नजरअन्दाज गर्न सक्छौं ?
केही पीडाका दृष्यहरु उल्लेख गरौं ।
–सीमा बन्द गरेकै राति भारतबाट घर फर्केका थुप्रै मजदूरहरु सुदूरपश्चिमको मूख्य नाका गौरिफन्टा पुगिसकेका थिए । तर उनीहरुलाई सुरक्षकर्मीले रोक्यो । ४८ घण्टा खाना पानी विहिन खुला सडकमा अल्झिनुपर्दा उनीहरुको छटपटी बढ्योहोला । उनीहरुले नाराबाजी गरे । सुरक्षाकर्मीले उल्टै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेर उनीहरुलाई पछि हटाउन खोज्यो । पछाडी फर्के भारतिय सुरक्षाकर्मीले रोक्ने सम्भावना त थियो नै फर्केर कतै जाने आधार पनि थिएन । शंकटको बेला आफ्नो घरदेश खोज्दै आउने नागरिकलाई देशको सरकारले सीमा भित्रिन नदिएर उल्टै गोली बर्साएको त्यो इतिहासकै पहिलो घटना थियो सायद । विना पूर्वतयारी, विना पूर्वयोजना र अदूरदर्शीताका बीच गरिएको निर्णयले त्यो घटना घटायो ।
–कम्पनीहरु र कार्यस्थलहरु बन्द भएर मजदूरलाई बिदा गरिदिएपछि मजदूरहरुले लखरलखर घरदेशको बाटो समाते । धार्चुला सीमामा पुगेका उनीहरुलाई नेपाली सुरक्षाकर्मीले रोक्यो । कसै गरे पनि उनीहरुलाई देश छिर्न दिइएन । बरु देशको सरकारले निर्णय ग¥यो –मजदूरहरु जुन देशमा छन त्यहीको सरकारले व्यवस्थापन गर्ने, सीमा वारपार गर्न नदिने । तर सरकारहरुका निर्णय र बिपन्न जनताका भोगाइवीच आकाश जमिनको फरक हुदोहो । सीमामा अल्झेका नेपालीहरु फर्केर भारतीय भूमीमा जान मानेनन् । बरु केहीले महाकालीको भेलमै हाम फालेर नदी नाघे । भेल नाघेर वारी पुगेकालाई पनि सुरक्षाकर्मीले समातेर यातना दियो, बस्त्रबिहिन बजार घुमायो । त्यसपछि बाँकीले नदी तर्ने हिम्मत पनि गरेनन् ।
अहिले उनीहरु भारतीय भूमिमा बनाएको नाममात्रको क्वारेन्टाइनमा छन् । उनीहरुका दूखका सन्देश जटिल छन । भारतिय प्रहरीले दिनहु अपमान र यातना दिन्छ । गतिलो र पर्याप्त खानापानी छैन । गोरुबाख्राजस्तो गोठको बास छ । सुरक्षाकर्मीले बाहिर निस्कन दिदैन । यतिसम्म की राति दिसाँपिसाव पनि भाँडा–बोत्तलमा गरेर बिहान फाल्नुपर्छ । तर यता नेपालमा भारतिय मजदूर निर्वाध हिंडिरहेका छन् ।
–दार्चुलाका एक मजदूर भारतिय क्वारेन्टाइनमै रहेका बेला घरमा उनकी आमाको निधन भयो । उनलाई नेपाल आउन दिइएन । उनी भारतिय प्रहरीको निगरानीमा बिनाकुनै सर्जाम आमाको क्रिया गरिरहेका छन् । असाध्यै चित्त दुखाउने उनको तस्वीर अहिले सामाजिक सञ्जालमा सेयर भैरहेको छ ।
–यो पंक्तिकारको घर नजिकै केही थारु कृषकहरुका तरकारी बारीहरु छन् । हिजो मात्रै एक बारीमा पुग्दा त्यहाँका कृषकले लामै दुखेसो पोखे । उनको बारीमा आठदश थरीका तरकारी फलेर छिप्पिएका छन् । केही सड्न थालिसके । लकडाउनको कारण उनीहरु तरकारी बेच्न बजारतिर जान पाउँदैनन् । एकडेढ महिना यस्तै अवस्था रहे उनीहरुको तरकारी नष्ट हुनेछ । कृषकहरुलाई लाखौंको नोक्सानी हुनेछ । उता बजारमा दिनहुँ भारतिय मालबाहक गाडीहरु आइरहेका छन् । त्यसका दिनहुँ ठूलो परिणाममा महङ्गो तरकारी फलफुल आयात भैरहेको । डरलाग्दो कुरा के छ भने तरकारी फलफुलका गाडीहरुमा थुप्रै भारतिय शंकास्पद नागरिक पनि आइरहेका छन र उनीहरु लुकीछिपी ठाउँठाउँमा गैरहेका समाचार आइरहेका छन् ।
–टेभिजनका रिपोर्टहरुमा कामविहिन भएका थुप्रै मजदुरहरुले आँशुका धारा बगाउँदै आफ्ना पीडा पोखिरहेका दृष्य देखिन्छन् । शहरबाट दशौं दिन भोकभोकै हिडेर गाऊँ गैरहेका दृष्य देखिन्छन् । भारतको दिल्ली पारीबाट दुधे बालक आँचलमा बोक्दै हप्तौ भोक प्यासमा हिंडेर नेपाल आइरहेका बिपन्न नागरिकका दृष्य कम्ता हृदयविदारक थिएनन् ।
–यी सबै दृष्यभन्दा अझै खतरनाक र सोचमग्न बनाउने एक भिडियो देखियो टेलिभिजनमा । त्यो दृष्य काठमाडौंको कुनै गल्लीको थियो । चार जना मजदूर आफ्ना झोलीझिम्टा बोकेर सायद कतै सुदूर बस्तीका आफ्ना घर जान निस्केका थिए । एक चोकको छेउमा उनीहरु सडक पेटिमा बसेका थिए । कतैबाट प्रहरीजवान आएर उनीहरुलाई लाठी हिर्काउँदै उठाए । उनीहरु अगाडी बढ्न खोजे । त्यता जान पाइन्न भन्दै प्रहरी जवानले अर्को बाटोतिर लखेटे । केही अघि पुगेका उनीहरुलाई अर्को दिशाबाट आएका प्रहरीले यता जान पाइन्न भन्दै उल्टो लखेटे । उनीहरु तस्रो बाटो भित्र भागे त्यहाँ पनि अर्को प्रहरीले लखेटे । उनीहरुलाई कुनै पनि बाटो अघि बढ्न दिइएन न त चोकमा नै बस्न दिइयो । पंक्तिकारलाई दृष्यले निकैबेर सोचमग्न बनायो । यो एक सामान्य घटना मात्र थिएन । आश्रयविहिन मजदूरहरुलाई न चोकमा बस्न दिइयो न कुनै बाटाबाट अघि बढ्न दिइयो । आखिर उनीहरुले जाने कहाँ हो ? राज्यले उनीहरुलाई व्यवस्था गरिदिएको आश्रयस्थल कता छ ? यो एक दूखद बिम्ब थियो बर्तमान समयको । विपद पर्दा जनताले जानसक्ने सबै बाटाहरु बन्द भएजस्तो ।
यी केही प्रतिनिधि दृष्य मात्रै हुन । यस्ता कहालीलाग्दा थुप्रै दृष्यहरु यतिवेला जताततै देखिइरहेका छन् । जोसुकैले देखिरहेका छन् । यसको ठीक विपरित कोरोना महामारीसँग लड्ने अभियानमा उस्तै सक्रियता देखिन्छ । सामाजिक सञ्जालमा दिनहुँ राहत र उद्धारका तस्विरहरु छ्याप्छ्याप्ती देखिन्छन् । व्यक्तिगत, सामुहिक, संस्थागत रुपमा राहत बाँड्ने प्रतिस्पर्धाजस्तै चलेको छ । सरकारहरुका राहतउद्धार कोशमा आर्थिक परिमाण दिनका दिन बृद्धी भैरहेकै छ । तर यो सब के भैरहेछ ? भन्न नसकिने अवस्था छ । जसरी राहत वितरणका समाचारहरु सेयर भैरहेका छन त्यो भन्दा धेरै बर्ता बास्तविक पिडितहरुले राहत नपाएका, बिरामीले उपचार नपाएका, भोकाहरुले खाना नपाएका, कोही बाटा पखेरामा घस्रिरहेका, कोही सीमामा अल्झिरहेका, कोही विदेशका भूमीमा अपमान र यातना सहदै देश सम्झरहेका दृष्यहरु प्रचारप्रसार भैरहेका छन् । देशका प्रधानमन्त्री यतिवेला प्रधानमन्त्री कम र स्वास्थ्यकर्मी ज्यादा हुन खोजिरहेकोजस्तो उनको भिडियो वक्तव्य हिजो मात्रै प्रशारण भएको छ । अस्तिमात्रै उनको कोरोनाको महामूल सुदूरपश्चिम नै हो भन्ने आशयको व्यङ्गरसले भरिपूर्ण भिडियो सार्वजनिक भएको थियो ।
.......................
हामीसँग एक जोर सजिव आँखा हुनु हाम्रो कमजोरी हैन । जस्तो यो देशका प्रधानमन्त्री र उनको नजिकको सञ्जालका मान्छेहरु सँग एक जोर आँखा छन्, त्यस्तै हामी जनतासँग पनि छन् । जसरी उनीहरु आफ्ना आँखाले यावत दृष्यहरु देख्दछन, त्यस्तै हामी पनि देख्दछौं । फरक यो छ की उनीहरुलाई दुखका कतिपय दृष्यले दुख्दैन, तिनै दृष्यहरुले हाम्रो अन्तरहृदयमा गहिरो दुखाई महसुस हुन्छ । हाम्रो जस्तो दुखाई उनीहरुलाई हुन्थ्यो भने उनीहरु त्यसको निदान गर्न धेरैथोक गर्न सक्थे किनभने उनीहरुसँग राज्य छ, राज्यसँग थुप्रै संयन्त्रहरु छन्, राज्यसँग आफ्ना संयन्त्र उपयोग गर्ने अधिकार छ । आफसोच, हामीलाई दुख्दा हामी केवल छटपटाउन सक्छौं, पीडाको चित्कार देखाउन सक्छौं । बाकी हामी के नै गर्न सक्छौं र ? यो आलेख पनि पीडाको एक चित्कार माात्रै हो ।
यतिवेला कोरोना महामारीले सिंगै विश्व आक्रान्त छ । टेलिभिजन र यूट्युवमा देखिने लाशका वर्षाहरुले जस्तोसुकै कठोर मान्छेको हृदय पगालिदिन्छ । चाङ्गका चाङ्ग लाशहरु डोजरले पुर्दै गरेका दृष्य देख्दा दुई थोपा आँशु नझार्ने आँखा कसका होलान् र ! महिनौंदेखि संक्रमितहरुको उपचारमा व्यस्त हुँदा डाक्टरहरु आफ्नै अनुहार बिर्सिसकेका छन् । कतिले त संक्रमित लाशका चाङ्गमाथि आफ्नै जीवन आहुति दिइदिएका छन् । यस्तौ अवस्था भोली आफ्नै घरआँगन र आफ्नै आँखा अघिल्तिर पनि नआउला भन्नु कसरी ? के यस कुरामा हामी सबै सचेत हुनु जरुरी छैन ? के यस कुरामा राज्य सचेत हुनु जरुरी छैन ? प्रधानमन्त्रीका मान्छेहरु तर्क गर्छन् – युरोप अमेरिका जस्ता देशले त केही गर्न सकेका छैनन्, हामी के नै गर्न सक्छौ, परिस्थिति बुझेर आलोचना गरौं ! तर तर्क यो उचित हैन । केही गर्न नसक्नु र केही गर्न नखोज्नुबीच ठूलो अन्तर छ । उनीहरुले आफ्ना नागरिकलाई राज्यले दिनुपर्ने र दिनसक्ने सम्पूर्ण सुविधा र सम्पूर्ण सुरक्षा दिइरहेका छन् । मन्त्री प्रधानमन्त्रीले उपभोग गरिरहेका सेवासुविधा आम जनताले पनि उपभोग गरिरहेका छन र आम जनताले भोगिरहेका कष्ट मन्त्री प्रधानमन्त्रीले पनि भोगिरहेका छन् । के हाम्रोमा पनि अवस्था यही हो ?
धन्न ! अहिलेसम्मको कोरोना संक्रमणको सवालमा हाम्रो गरिवी हाम्रो सौभाग्य भएको छ । हाम्रो जटिल भूगोल हाम्रो अदृश्य शक्ति बनेको छ । हाम्रो जीवनशैली प्रभावकारी शिक्षा भएको छ । यीनै कुराहरुले हामीलाई ऐलेसम्म कोरोनाबाट जोगाएका छन् । तर हाम्रो दूख अर्कै छ । कोरोनाको निर्मम आक्रमण अगावै धेरै निर्धन मान्छेहरुलाई भोक र शोकले थला पार्न थालिसकेको छ । देश भित्र र देश बाहिर हाम्रा दाजुभाइ दिदीबहिनीले भोगिरहेको कष्टले हामीलाई कोरोनाको सम्भावित कष्टलाई बिर्साइदिएको छ । त्यसमाथी देशका प्रधानमन्त्रीले प्रहार गर्ने कटु व्यङ्ग र उपेक्षाका शव्दहरुले हाम्रा घाऊहरुमा नूनचुक छर्ने काम गरेको छ ।
प्रधानमन्त्रीज्युले र हामीले देख्ने दृष्यहरु उनै हुन । घटना उनै हुन । संकट उही हो । यो समय देशका प्रधानमन्त्री हामी आम सर्वसाधारण भन्दा बढी फुर्सदमा हुनुहुन्छ । जस्तोसुकै लकडाउन भए पनि ग्रामीण बस्तीका किसानले गहुँबाली समेट्न खेतमा जानैपर्छ । गोरुगोठाला जानैपर्छ । साँझ बिहान चुलो बाल्न नूनतेल तरकारीको जोहो गर्नैपर्छ । कारखाना, इटाभट्टा, कन्स्ट्रक्शन आदि ठाऊँ बाट कामविहिन निकालिएका मजदूरहरुले भोको पेट भर्न र शीर लुकाउन कहीं न कहीं त निस्किनै पर्छ । यी सव कुराहरु प्रधानमन्त्रीले गरिरहनु पर्दैन । सदन बन्द छ, क्याविनेट चल्दैन । दिनहुँ आउने दर्जनौं फाइलहरु आजकल नआउलान । उद्घाटन, सिलान्यास सभासमारोहमा जानुपर्दैन । यसकारण प्रधानमन्त्री फुर्सदमा हुनुहुन्छ । अडियो भिडियो, समाचार र इन्टरनेटको सुविधा हामीसँग भन्दा निकै राम्रो उहाँसँग होला ।
यसकारण ऐले देशभित्र र देश बाहिर सर्वसाधारणले भोगिरहेका दूखदर्दका दृष्यहरु पनि प्रधानमन्त्रीले हामीभन्दा बढी देखिरहनुभएको छ होला । तर ती दूख प्रधानमन्त्रीलाई दूखजस्तो लाग्दैन । मजदूरहरुले पसिनाको सट्टा दिनरात आँशु बगाइरहेका छन, बिरामीहरु सिटामोल नपाएर पेटमा पटुका र निधारमा डोरी बाँधेर पीडा साम्य पार्ने कोशिस गरिरहेका छन । परदेशको भूमिमा अपमान सहेर मजदुरी गर्न गएकाहरु यतिबेला त्यहाँ बाँच्न नसकेर देश खोज्दै आइरहेका छन । देशको सरकारले सीमा बन्द गरिदिएको छ । उल्टै यताबाट लाठी र अश्रुग्यास बर्साएर उतै लखेटीरहेको छ देशको सुरक्षकर्मी । अफसोच उनीहरु खाना बिहिन, आश्रय विहिन र रोगको आगो दन्किरहेको ठाउँ फर्किनुभन्दा उर्लदो महाकलीमा हाम फाल्नु सजिलो मानिरहेका छन् ।
भारतिय मिडियाले मजदूरहरुको कष्टलाई हाम्रो बदनामीको गतिलो साधनको रुपमा उपयोग गरिरहेको छ । विडम्बना देशका प्रधानमन्त्रीलाई यी सब कुराले कुनै असर गरेको छैन । पटक पटक मृत्युलाई जीतेकोमा गर्व गर्ने प्रधानमन्धीको मुुटु इस्पातले बनेको छ सायद । बिपन्न जनताका दूखमा उनी उखान टुक्क मिस्याउछन र सजिलै भनिदिन्छन – “अनुशासनहीन, उत्ताउला, अराजक मान्छेहरु देशको नियम मान्दैनन् ।” हामी सर्वसाधारण जनतालाई हाम्रो पीडाले त सताउँछ नै आफैले मत दिएर बनाएका देशका प्रधानमन्त्रीको कटु व्यङ्गबाणले झन धेरै सताउँछ । हाम्रो छटपटी बढ्छ । अनि चिच्याएर सोध्न मन लाग्छ – “प्रधानमन्त्री ज्यु ! यो देश कसको हो ? केही भ्रष्ट मन्त्रीहरु, तिनका आसेपासे र निर्मम प्रधानमन्त्रीको मात्रै हो की सेती महाकली किनार तिर झुप्रामा बस्ने निर्धन मान्छेहरुको पनि हो ? जीवनको चरम कष्टको बेला देश खोज्दै महाकाली किनारै किनार हिँड्ने ती मान्छे को हुन ? के तिनीहरुको कुनै देश छैन ?”
हामी बुझ्दछौं, कोरोना माहामारीसँग लड्न राज्यले केही कठोर नीति अवलम्बन गर्नैपर्छ । दण्डसजायका केही कडा प्रवधान लागु गर्नैपर्छ । तर हामी यो पनी चाहन्छौं की यी कुराहरु गर्नुपूर्व केही आधारभूत तयारी र आधारभूत योजना राज्यसँग हुनैपथ्र्या, त्यो अहिलेसम्म पनि छैन । केही दूरदर्शीता प्रधानमन्त्री र उनको संयन्त्रसँग हुनैपथ्र्यो जुन अहिलेसम्म देखिएको छैन । हामी यो चाहदैनौं की गरिब बिपन्न मान्छेहरु कोरोनाको संक्रमणभन्दा बढी सरकारका रबैयाले मरुन । हामी यो चाहदैनौ की दूरदराजका जनता अनेक तरहका कष्टले मर्नुभन्दा एकै कोरोना कष्टले मर्नु बेश भन्ने निष्कर्शमा पुगुन् । कर्णाली पश्चिमका जनतालाई सदियौंदेखि उपेक्षा गर्दै आएको राज्यका प्रधानमन्त्रीको नियत र दूरदर्शितामाथि हाम्रा थुप्रै प्रश्नहरु छन् । अहिलेकै अवस्थाको कुरा गरौं ।
प्रधानमन्त्रीले जुन सन्दर्भमा सुदूरपश्चिम बासीमाथि जुन व्यङ्ग गरेका छन त्यसको कारक पनि स्वयम् प्रधानमन्धी हैनन् ? उनको संयन्त्र हैन ? विश्वका सम्पन्न राज्यहरु ठप्प भैरहदा हामीले पनि केही महिना देश लकडाउन गर्नुपर्ने हुनसक्छ भन्ने ज्ञात थिएन ? दशौं लाख नागरिक परदेशमा छन, बिपत्तीको वेला उनीहरुलाई देशको सहारा चाहिनसक्छ भन्ने ज्ञात थिएन ? महिना बढी कामकाज बन्द भए लाखौं मजदुरको गाँसबास बन्द हुनेछ, उनीहरुलाई बाँच्न गाँसबासको आवस्यकता पर्नसक्छ भन्ने ज्ञात थिएन ?
सुदूरपश्चिमका अधिकाँश विपन्न जनता भारतमा मजदुरी गर्छन, विपत्तीको बेला भारत सरकारले उनीहरुलाई उचित राहत दिनेछैन, उनीहरु प्लेन चढेर हैन, सडकमा गुडेर, पैदल हिडेर देश फर्किनेछन भन्ने थाहा थिएन ? सीमावारी मात्रै थुप्रै क्वारेन्टाइन बनाएर उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ला भन्ने ज्ञात थिएन ? डाक्टरजति तपाइका दल–संगठनका सोर्सफोर्समा शहरका सुविधासम्पन्न अस्पतालहरुमा बस्छन, सुदूरपश्चिम जाँदैनन, शंकटको बेला त्यहाँ पनि डाक्टर चाहिन्छन भन्ने ज्ञात थिएन ? के तपाइलाई देशका जनताका आवस्यकताबारे कहिल्यै कुनै कुराको ज्ञात हुदैन ? प्रधानमन्त्रीज्यु, चालिस वर्ष अघि बिग्रको भत्केको सुदूरपश्चिम भन्दा पनि जिर्ण र दयनिय थियो तपाइको शरिर, त्यो अहिले कसरी हृष्टपुष्ट भयो ? के सुदूरपश्चिमलाई त्यसरी हृष्टपुष्ट हुने अधिकार छैन ?
प्रधानमन्त्रीज्यु ! हामीसँग यो देशको नागरिकता हुदासम्म, राज्यलाई हाम्रो पसिनाको कर तिर्दासम्म, र हामीलाई दुखकष्ट पर्दासम्म हामी यस्ता प्रश्न गरिरहनेछौं । हाम्रो कामना छ तपाई अझ धेरै वर्ष बाँच्नुस । हाम्रा प्रश्नहरुको जवाफ अवस्य दिनुस ।