केही लेख्न बसेँ आयो कोरोनाको कुरा जब
निराशा जित्नका लागि चल्यो यो लेखनी तब ।
आउँछन् कहिले यस्ता राहु–केतु–शनी दशा
घुमेर आउँछन् कैल्यै बुध–वृहस्पति दशा ।।१।।
रोकिन्नन् फेरिँदै जान्छन् राशी नक्षत्रका फल
स्थायी भएर बस्दैनन् एकै ठाउँ कुनै ग्रह ।
कोरोना भाग्छ त्यो पक्कै छिटै बन्ने छ औषधी
आशा–विश्वासमा बाँचौँ सहेर कष्ट तै पनि ।।२।।
गर्नु हुँदैन मान्छेले आत्तिने–मात्तिने कुरा
दिन्छ प्रकृतिले फेरि धर्र्तीमा नव आँकुरा ।
अनेकौँ रूपको हुन्छ देश–काल–परिस्थिति
सकारात्मकता साँच्न नगरौँ कत्ति कन्जुसी ।।३।।
आराम गर्नका निम्ति मिलेको एक फुर्सद
परिवारसँगै बस्ने पाइएको छ औसर ।
बाँडीचुँडी मिली खाने हाँस्ने खेल्ने खुशी हुने
मौकाले पाइयो साँच्चै बेला रम्ने रमाउने ।।४।।
देश–विदेशमा हामी नेपाली छौँ जहाँ जति
विद्या–सीप–कला आफ्ना सिकौँ है घरमा बसी ।
रचनात्मक चित्तैले काममा लाग्नुपर्दछ
सदुपयोगको बेला भनेर बुझ्नुपर्दछ ।।५।।
जागिरे सरकारी वा प्राइभेट कुनै पनि
सधैँ मस्तिष्क घोटेका राष्ट्रसेवक जो पनि
साथै, एकान्तका प्रेमी कवि–साहित्यकारले
कोरोना कालमा लेखून् आरामसँग सारले ।।६।।
छोराछोरीसितै रम्ने गृहिणीसाथ शोभिने
कोठा सजाउनेदेखि भान्छाभित्र सघाउने ।
बृद्धबृद्धाहरू नाति नातिनीसित हौसिने
सम्झिनू यो गृहस्थीमा मिलेरै हो मिलाउने ।।७।।
फूलबारीतिरै लागौँ करेसा अनि बागमा
गोडमेल सिचाइँमा लगाऔँ मन काममा
गाईको गोठको काम भएमा त्यो सघाउनू
घाँसपात कुँडो–पानी पशुलाई खुवाउनू ।।८।।
घरमा हेर्नु नै पर्छ के छ के छैन सामल !
परे केलाउने गर्नू मिलेर दाल चामल ।
लालाबालाहरूलाई दिनू मुस्कान सुन्दर !
कैल्यै सुनाउनू गीत, कथा र काव्य सुन्दर ! ।।९।।
बुढापाकाहरू साथ बसेर सुखदुःखका
कुरा सुन्नू पुराना ती अर्ती र उपदेशका ।
भएको मसिनो–खस्रो खानू भाग बराबरी
रमाउन सके धेरै होला सार्थक जिन्दगी ।।१०।।
सजिलो भन्नमा हुन्छ, गर्न गाह्रो यथार्थमा
लेख्दै छु सब सम्झेर म आफ्नै परिवारमा ।
छिमेकी जनका साथै घर–गाउँ, समाजको
परिस्थिति कहाँ के छ बुझ्नै पर्छ हजारको ।।११।।
चिन्ता गरे चिता नै हो बुझ्नै पर्ने यथार्थ हो
सावधान हुनै पर्छ कुबुद्धि नै विनाश हो ।
कोरोना काल जस्तै हो घरभित्रै बसौँ अब
एक–अर्को भई टाढा बस्नै पर्नै यथार्थ छ ।।१२।।
नधोई हातले नाक मुख आँखा नछोइयोस्
धोऔँ साुबन पानीले बिषाणु त्यो कतै नहोस् ।
मास्क लाएर नै हिँड्नू भन्दछन् स्वास्थ्यविज्ञले
आफ्नै लागि सुरक्षा हो, बुझौँ मान्छे, समाजले ।।१३।।
आज विश्व छ सन्त्रस्त कोरोना फैलिँदै गयो,
ज्यानमारा महामारी त्राहिमाम हुँदै छ यो ।
कैयौँ मुलुकमा आज लाखौँका ज्यान गैसके
ठुला स्वास्थ्य विशेषज्ञ कैयौँ हैरान भैसके ।।१४।।
कोरोनाको थियो त्रास जो भयावह नै छ यो
नाका बन्द गरी जाँच भएन तब फैलियो ।
सावधान रहौँ मान्छे बनौँ झन् अनुशासित
कोरोनामुक्त होस् देश विश्वमा नै प्रमाणित ।।१५।।
पानी नै प्राण हो हाम्रो स्वच्छ हावा छ औषधी
हराभरा छ यो भूमि, अनेकौँ छन् वनौषधी ।
घना जङ्गलमा धेरै बुटी जान–अजान छन्
गाउँमा कतिका राम्रा सात्वकी खान–पान छन् ।।१६।।
कैयौँ मुलुकमा लाखौँ नेपाली दुःखमा अझै
केही ज्यान गए भन्ने सुनिन्छ दुःख त्यो कठै !
ती हाम्रै दाजु–भाइ हुन् नेपाली जन छन् जहाँ
दिन्छौँ श्रद्धाञ्जली साथ पीडामा समवेदना ।।१७।।
– भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’