धनगढी - सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले गए राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले पठाएको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।
कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण बैठक बस्न नसक्ने भएकाले प्रदेश सभाका सबै सदस्यलाई अधिवेशन अन्त्यको जानकारी एसएमएसबाट गराइएको उनको भनाइ छ । सामान्य अवस्थामा प्रदेश प्रमुखबाट प्राप्त पत्र बैठकमा सभामुखले पढेर सुनाएपछि अधिवेशन सुरु वा अन्त्य गरिन्थ्यो ।
तर, यसपटक विषम परिस्थिति भएका कारण प्रदेश प्रमुखबाट पत्र प्राप्त भएपछि सभामुख अर्जुनबहादुर थापाले कार्यव्यवस्था परामर्श समितिका उपलब्ध सदस्यहरूसँग मात्र आइतबार छलफल गरेका थिए । गत ६ माघमा सुरु भएको हिउँदे अधिवेशनमा १२ वटा बैठक बसेको थियो । ११ फागुनपछि प्रदेश सभाको बैठक बसेको थिएन ।
यो अधिवेशनमा पाँचवटा विधेयक पेस भएको र तीमध्ये दुईवटा पारित भएका सचिव धामीले जानकारी दिए । निजी व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयक र सार्वजनिक व्यवसाय दर्ता गर्नेसम्बन्धी विधेयक पारित भएका हुन् ।
एफएम, रेडियो तथा टेलिभिजन व्यवस्थापनसम्बन्धी विधेयक, खेलकुद र प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी विधेयक समितिमा छलफलको क्रममा छन् । यस्तै, प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा, सुविधा संशोधनसम्बन्धी विधेयक पनि सचिवालयमा दर्ता गरेको छ । तर, उक्त विधेयक प्रदेश सभा बैठकमा पेस भएको छैन । नयाँ पत्रिका दैनिकवाट