कैलाली- धनगढी जोड्ने भीमदत्त राजमार्गको महाभारत क्षेत्रमा वन अतिक्रमण र फँडानी गरी नयाँ बस्ती बन्ने क्रम बढेको छ । कैलालीको गोदावरीदेखि डडेलधुरासम्मको १ सय २२ किलोमिटर लामो भीमदत्त राजमार्ग छेउको अधिकांश वन क्षेत्र राजनीतिक संरक्षणमा अतिक्रमण भइरहेको हो ।
वन अतिक्रमण गरी राजमार्ग छेउछाउमा धेरै नयाँ मानव बस्ती र बजार निर्माण भएका छन्। कतिपय ठाउँमा खेती गरिएको छ। राजमार्ग निर्माण हुँदा बसेका मानव बस्तीबाहेक वन र सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका नयाँ बजार र बस्ती ३ दर्जनभन्दा बढी छन्। ‘राजमार्ग निर्माण हुँदा कैलालीको सहजपुर, डोटीको बुडर, डडेलधुरा र डोटीको सिमानामा पर्ने गैरा र स्याउलेबाहेकका अन्य सबै साना–ठूला बजार अतिक्रमित जग्गामा निर्माण भएका छन्,’ राजमार्ग निर्माणका समय सडक विभागका कर्मचारी रहेका रामचन्द्र अवस्थीले भने, ‘पछिल्लो समय राजमार्ग क्षेत्रको हरेक ५र७ किलोमिटरमा नयाँ–नयाँ बस्ती बनिसकेका छन्।’
उनका अनुसार राजमार्ग निर्माण हुँदा बसेका अधिकांश बस्ती पनि जंगल क्षेत्रमै थिए। कैलालीको गोदावरीबाट सुरु हुने भीमदत्त राजमार्ग उक्लँदै जाँदा बाँसपानीमा अतिक्रमण गरेर बस्ती बनेको देखिन्छ। त्यहाँबाट माथि उक्लनेबित्तिकै बूढीतोला र खानीडाँडा राजमार्ग छेउमा खाली जग्गा देख्न सकिँदैन। खानीडाँडा, खानीखोला, भासुभीरदेखि वारिको भूभाग, सहजपुर क्षेत्र, फल्टुडे, घोरडी, गोल्डन, गोगनपानी, गैरा, मेलखर्क, साहुखर्कलगायतका ठाउँमा साना–ठूला बजार पनि वन क्षेक्र अतिक्रमण गरी बनाइएका छन्। राजमार्गको गैरा सडक खण्ड र साहुखर्क सडक खण्डमा अधिकांश पक्की घर वन क्षेत्रमा निर्माण भएका छन्।
‘हरेक वर्ष अतिक्रमण बढ्दै गएको छ,’ गैराका हरि बोहराले भने, ‘पहाडमा रहेको जग्गा जमिन बिक्री गरी राजमार्ग छेउछाउमा जग्गा खरिद गरी घर बनाउने होडबाजी चलेको छ।’ व्यवसाय हुने र बसोबासको व्यवस्था पनि हुने भएका राजमार्ग आसपास अतिक्रमण गर्नेक्रम बढेको उनले बताए। अतिक्रमण गरेर जग्गा बिक्रीगर्ने गिरोह नै सक्रिय भएको स्थानीयको भनाइ छ। राजमार्ग छेउछाउका खाली जग्गा, वन क्षेत्रभित्र रहेका खाली जग्गा र धेरै ठाउँमा सामुदायिक वनले फँडानी गरी खाली बनाएका वन क्षेक्रमा बढी अतिक्रमण भइरहेको देखिएको छ।
डोटी छतिवनका पूर्व्शिक्षक धर्मराज जोशीले भने, ‘वनका कर्मचारीले समय–समयमा अतिक्रमण हटाउने प्रयास नगरेका होइनन्। तर राजनीतिक दलका नेताहरूबाटै अतिक्रमण गर्ने गिरोहलाई संरक्षण हुन थालेपछि सफल भएन।’ सडक विभागले राजमार्ग क्षेत्रमा अवैध रूपमा निर्माण भएका संरचना हटाउन समय–समयमा सूचना मात्र जारी गर्दै आएको छ, हटाउने प्रयास गरेको छैन। वन विभागले वन क्षेक्र अतित्रमण गरी घरलगायतका संरचना र उपभोगका लागि जग्गा बनाउने एक जनालाई पनि कारबाही गरेको भेटिँदैन। डोटीको बुडरमा कार्यरत वन अधिकृत सुरेशचन्द्र डीसी भने वन कर्मचारीले अतिक्रमण हटाउन धेरै प्रयास गरेको दाबी गर्छन्।
‘बल प्रयोग गर्ने वातावरण नभएकाले कुनै पनि प्रयास सार्थक हुन सकेको छैन,’ उनले भने। सडक छेउका खाली जग्गा र वन अतिक्रमणमा राजनीतिक संरक्षण भएको अधिकांश वन कर्मचारीको भनाइ छ। सडक सफाइ गर्ने स्थानीय कर्मचारी लालुसिंह महरा भन्छन्, ‘राजमार्ग छेउछाउमा जंगल फँडानी र उत्खननसमेत सुरु हुँदा समस्या बढ्दै गएको छ।’
बस्तीसँगै सडक छेउका स्रोत पनि उपभोग हुन थालेपछि राजमार्ग असुरक्षित बन्दै गएको उनले बताए। ‘सडकका लागि छुट्याएको २५ मिटर क्षेत्रसमेत नछाडी राजमार्गसँगै जोडेर संरचना निर्माण हुन थालेकाले दुर्घटना बढ्न थालेको छ,’ उनले भने, ‘डोजर प्रयोग गरी सडकसँग जोडिएका डाँडा काटेर घर निर्माण हुन थालेपछि भू–स्खलनको जोखिम बढेको छ।’
कान्तिपुर दैनिकवाट साभार