कञ्चनपुर – दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका कञ्चनपुरको ढक्का शिविरमा बस्दै आएका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारले खाद्यान्न अभाव झेल्दै आएका छन् ।
कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लकडाउन जारी रहेपछि विस्थापित परिवार खाद्यान्नको अभाव झेल्दै आएका हुन् । दैनिक ज्यालादारीमा काम गरी जीविका चलाउँदै आएका परिवारले काम नपाउँदा भोकभोकै बस्नुपरेको छ ।
निकुञ्ज विस्थापित परिवारले कृषि, निर्माण लगायतका क्षेत्रमा मजदूरी गर्दै आएका छन् । सबै क्षेत्रमा लकडाउनका कारण कार्य ठप्प भएपछि निकुञ्ज विस्थापित परिवारले गर्दै आएको मजदूरीको कार्य खोसिएको छ । स्थानीय तहले राहत प्याकेज ल्याएर वडा वडामा वितरण गर्ने कार्य शुरु गरेका छन् निकुञ्ज विस्थापित शिविरमा बस्दै आएका तेजबहादुर चन्दले भने, “कुनै पनि निकायले राहत वितरण नगर्दा भोकभोकै बस्नुपर्ने भएको छ ।”
“मजदूरी गरेर ल्याएको पैसाले साँझ बिहानको परिवारको छाक टार्नमै ठिक्क हुन्थ्यो। काम गर्ने सबै क्षेत्र बन्द भएपछि मजदूरी पनि पाउने कुरै भएन । मजदूरी गरेर बचेको पैसा पनि सकियो। खाद्यान्न खरिद गर्न सक्दैनौ”, उनले भने ।
खाद्यान्नको अभाव भएपछि निकुञ्ज विस्थापित परिवारले राहत सामग्री उपलब्ध गराई दिन माग गर्दै आए पनि हालसम्म सुनवाइ भने भएको छैन । शिविरमा बस्दै आएका ६०४ परिवारमध्ये २८४ परिवारको अवस्था निकै नाजुक भएको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताए ।
लकडाउनका लागि शिविरमा बस्दै आएका धेरै परिवारले ज्याला मजदूरी नपाउँदा चुलोमा आगो बल्न सकेको छैन उनले भने “एक छाक खाएर बस्नुपरेको छ। स्थानीय तह, स्थानीय प्रशासन कसैले पनि राहत वितरण नगर्दा निकै समस्या भएको छ ।”
शिविरका बासिन्दा भोकमरीले ज्यान गुमाउनु पर्ने अवस्था आए पनि कसैको पनि ध्यान नगएको उनले भने । भारतमा कमाउन गएका पनि शिविरमा फिर्ता भएका छैनन् । दुई छाक खान नपाउँदा निकै समस्यामा रहेको मोतिलाल चौधरीले भने, “शिविरसँगै जोडिएका बस्तीका बासिन्दाले स्थानीय तह र दातृ निकायबाट खाद्यान्न सहयोग पाएका छन् । राहत पाउने आशामै चित्त बुझाउनु परेको छ ।”
शिविरमा रहेको झोपडी सँगैको जग्गामा लगाएको अन्नबालीसमेत निकुञ्जका जनावरले खाएर सखाप पारेपछि झनै समस्यामा पारेको विस्थापित परिवारको गुनासो रहेको छ । शिविरमा बसोबास गर्दै आएका परिवारले रेडियोलगायतका सञ्चारमाध्यमबाट कोरानाको सङ्क्रमण रोकथामका लागि प्रसारण भइरहेका सन्देश सुनेर सतर्कता अपनाउँदै आएका छन् । स्वास्थ्यकर्मी, जनप्रतिनिधि कोही पनि शिविरका बासिन्दाको अवस्थाबारे जानकारी लिन र खाद्यान्नको जोहो मिलाउन पुगेका छैनन् ।
केही परिवारले खाद्यान्न सकिएपछि छिमेकी, आफन्त र नजिकका गाउँमा पुगेर खाद्यान्न मागेर जोहो मिलाउँदै आएका छन् । “बाह्य क्षेत्रमा जानुपर्दा मास्क नहुँदा रुमालले मुख छोपेर हिँड्नुपरेको छ । साबुन त छैन । सेनिटाइजर कस्तो हुन्छ भनेर देख्नसमेत पाएका छैनौँ”, मनोज चौधरीले भने ।
विसं २०५८ मा तत्कालीन सरकारले सङ्कटकालको मौका छोप्दै निकुञ्जको विस्तारित क्षेत्रमा बस्दै आएका परिवारलाई सुरक्षा निकाय परिचालन गरी हटाइएको थियो। निकुञ्जले विस्थापनमा पारेपछि विस्थापित परिवार निकुञ्जकै ढक्का र तारापुर क्षेत्रको जग्गा कब्जा गरी बस्दै आएका छन् । निकुञ्जबाट विस्थापनमा परेका परिवारको सङ्ख्या दुई हजार ४०० को हाराहारीमा रहेको छ । –रासस