अत्तरिया - कैलालीको अत्तरिया चोक देखी धनगढीको मोहना पुल सम्मको निर्माणाधीन अबस्थमा रहेको ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण अत्याधिक धुलो उड्न थालेपछि सर्वसाधारणको आवागमन असहज बनेको हो ।
दैनिक अत्तरिया धनगढी आवातजावत गर्ने सर्वसाधारणले सबैभन्दा बढि निकै खेपिरहनु परेको छ । सडकबाट उडेको धुलो सडक छेउछाउका सर्वसाधारणका आवासीय घरका साथै व्यापारिक सटरमा पस्दा सम्बन्धितलाई निकै हैरानी हुने गरेको छ । सडक धुलाम्य भई आवागमन असहज हुँदा १५÷२० मिनेटमा पुगिने अत्तरिया देखी धनगढी सम्मको १४ किलोमिटरको दूरीमा यतिबेला एक घण्टा लाग्ने गरेको यात्री बताउँदछन् । सुदूरपश्चिम प्रदेशसभाको बैठकको विशेष समयमा बोल्ने प्रदेश सभा सदस्यहरुले उक्त सडक निर्माणमा भइरहेको ढिलाइ प्रति बारम्बार ध्यानाकर्षण गराउँदै आएपनि सडक निर्माणको कामले तीव्रता पाउन सकेको छैन ।
निर्माणका क्रममा उक्त सडकखण्डका ठाउँठाउँमा पुराना कल्भर्टहरुलाई भत्काएर नयाँ कल्भर्ट निर्माणाधीन रहे पनि महिनौं भइसक्दा सम्म ती कल्भर्टहरुको निर्माणको काम पूरा हुनसकेको छैन । निर्माणका क्रममा जथाभावीरूपमा सडकमा खाल्डो खन्दा ठाउँठाउँमा सडक साँघुरिन गई दुर्घटनाको जोखिम पनि बढाएको छ । केही दिनअघि मात्र बोराँडाडी खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका थिए । एक जना स्थानिय युवक दिन्कन जोशी विकास गर्दा केही अप्ठ्यारो हुनु स्वभाविक भएको तर निर्माणको काममा ढिलासुस्ती हुँदा जनताले लामो समयसम्म दुःख पाइरहेको गुनासो गरे ।
उनले काम गर्न कति समय लाग्ने, कुनै मापन नै हुन नसक्दा यस्तो समस्या सिर्जना भएको बताए । प्रदेशको राजधानी प्रवेश गर्ने एक मात्र मुख्य सडक अत्तरिया–धनगढी सडकमा दिनमा सानाठूला दुई हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गरेको अनुमान छ । गर्मीयाममा धुलोको सामना गरिरहेका सर्वसाधारणले आउने वर्षायाममा सडक हिलाम्मे र डुबान हुने चिन्ता व्यक्त गरेका छन् । सडक आयोजना कार्यालयका प्रमुखको पटक–पटक सरुवा हुने गरेकाले कामको रेखदेख एवं निर्माणमा ढिलाइ भएको बताइएको छ । निर्माण शुरु भएको गत दुई वर्षमा तीन कार्यालय प्रमुख फेरिएकामा हाल चौथो कार्यालय प्रमुखको रूपमा होमबहादुर एसी आएका छन् ।
आयोजनाका ओभरसियर दिनेशराज ओझा धुलाम्य सडकमा दिनमा तीन पटकसम्म पानी छर्किने गरिएको भए पनि चर्को गर्मीका कारण त्यसले थोरै समयमात्र काम गर्दा धुलो उड्ने समस्या नरोकिने गरेको बताए । तीन प्याकेजमा बाँडेर निर्माण भइरहेको यो सडकको निर्माण लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनीले गरिरहेका छन्।
अहिले आएर सडकको निर्माण अवधी थप्ने तयारी भइरहेको छ। दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी सडक निर्माण सुरु भएपनि उक्त अवधीमा आधा पनि काम हुन नसकेपछि फेरी म्याद थप गर्न लागिएको हो।
दुई वर्ष्भित्र निर्माण सक्ने गरी सम्झौता भएकामा यही वैशाखमा दुई निर्माण कम्पनी र जेठमा एक निर्माण कम्पनीको सम्झौता अवधि सकिन लाग्दासम्म सडकको भौतिक प्रगति भने ३५ देखि ४० प्रतिशत मात्रै हुनसकेको ओभरसियर ओझाले जानकारी दिए। यो सडकको कूल लागत एक अर्ब ५० करोडको रहेको छ । राससको सहयोगमा
निर्माणाधीन ‘छ लेन’ सडकको अबस्था फाटोमा हेर्नुस,