बाँके – बन्दाबन्दीको मौका छोपी भारतबाट अवैध रुपमा आयात भइरहेको कुखुराबाट कोरोना सङ्क्रमणको जोखिम बढेको छ । बाँकेमा लुकिछिपी भारतीय ब्रोइलर कुखुरा ठूलो मात्रामा आयात हुने गरेको छ । यसरी आयातित ब्रोइलर कुखुरा सीमावर्ती परसपुर, थुकैला, जयसपुर, खजुरामा रहेका कुखुरा फार्मबाट बिक्री वितरण हुने गरेको पाइएको छ ।
अहिले प्रत्येक दिन बिहानै मोटरसाइकल र साइकलमा भारतीय कुखुरा आयात हुने गरेको खजुरा गाउँपालिका २ का अगुवा कृषक लालबहादुर खत्रीले बताए । सबैभन्दा बढी जानकी गाउँपालिका– १ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा भारतीय कुखुरा तस्करी हुने गरेको उनले बताए ।
‘लकडाउनले नेपाली किसानले कुखुरा बेच्न पाएका छैनन् तर भारतीय कुखुरा अवैध रुपमा गाउँगाउँमा पुगेको छ’, उनल भने, ‘नेपाली कुखुरा पालक किसानले पालेका कुखुरा लकडाउनले दाना खान नपाउने अवस्था छ तर अवैध रुपमा आयातीन भारतीय कुखुरा महँगो दरमा बिक्री भइरहेको छ ।’
उनले भारतीय कुखुरा आयतलाई तत्काल रोक लगाई नेपाली कुखुरापालक किसानलाई राहतको कार्यक्रम ल्याउनेतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनका अनुसार नेपालगञ्ज सँग जोडिएका गाउँमा तयार गरिएका कुखुरा फार्मबाट भारतीय ब्रोइलर कुखुराको बिक्री हुने गरेको छ । ‘बिहान ल्याएर खोरमा राख्ने र साँझपख नेपाली कुखुरा भनी बिक्री गर्ने कार्य भइरहेको छ। लकडाउनले बजारका पसल बन्द भएपछि खोरमै ब्रोइलर कुखुरा खरीद गर्नेको भीड लाग्ने गरेको छ’, उनले भने ।
जानकी गाउँपालिका पशुसेवा शाखाका स्वास्थ्य प्राविधिक दिलबहादुर खड्काले अवैध रुपमा आयात हुने गरेका भारतीय कुखुराले नेपाली कुखरा व्यवसायीसँगै मानवस्वास्थ्यलाई समेत गम्भीर असर गर्ने गरेको बताए । उनले भारतबाट आयात हुने कुखुरामा धेरै मात्रामा भिटामिनलगायत औषधि प्रयोग हुने गरेकाले मानवस्वास्थ्यमा समस्या देखिन सक्ने उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बन्दाबन्दीको बेलामा मात्र नभई जुनसुकै समयमा पनि भारतीय कुखुरा नेपाल भित्रिएको पाइएमा बरामद गर्ने गरिएको बताए। उनले अहिले कोरोना भाइरस महामारीका कारण नेपाल–भारत आवत–जावतमै रोक लगाइएकाले तस्करीको सम्भावना कम भए पनि सम्भावित नाकामा थप कडाइ गरिने प्रतिबद्धता व्यक्त गरे । रासस