काठमाडौं - काठमाडौं उपत्यकामा कोभिड– १९ बाट संक्रमित १२ बिरामी विभिन्न दुई अस्पतालमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । तीमध्ये शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठजना छन् भने पाटन अस्पतालमा चारजना संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
देशका अन्य भागमा भने तीनजनाको उपचार भइरहेको छ । कुल गरी १५ जना उपचारमा रहेको मन्त्रालयले जनाएको छ । युनिफाइड कमाण्डको रूपमा रहेको सशस्त्र प्रहरी अस्पतालमा पनि राजधानीका संक्रमितहरूको उपचार गरिने भए पनि त्यहाँ हालसम्म संक्रमितहरूलाई उपचारका लागि लगिएको छैन ।
मन्त्रालयका अनुसार मंगलबार (२ वैशाख)सम्म ६ हजार दुई सय ९९ को परीक्षण गरिएकोमा ६ हजार दुई सय ८३ को नेगेटिभ, १६ जनाको पोजेटिभ नतिजा आएको छ भने दुई सय ४५ जनाको परीक्षणको नतिजा आउन बाँकी छ । मंगलबार (२ वैशाख) सम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार आठ सय १९ को परीक्षण गरिएकोमा १६ जनाको नतिजा मात्र पोजेटिभ देखिएको छ, त्यसमध्ये दुईजनामा आज नै नतिजा पोजेटिभ भेटिएको हो ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएका एक सय ८३ मध्ये सबैजनाको नतिजा नेगेटिभ रहेको छ । तीमध्ये चारजनाको नतिजा आउन बाँकी छ ।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा परीक्षण गरिएका ३५ मध्ये सबैको नतिजा नेगेटिभ छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय १६ जनाको परीक्षण भएकोमा ४६ जनाकै नेगेटिभ देखिएको छ ।
त्यसमध्ये १३ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा एक सय ३८ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ छ । यस्तै स्थिति छ, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको पनि । जहाँ ९३ को परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ छ भने एक सय १३ जनाको नतिजा आउन बाँकी छ ।
हेटौँडास्थित कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षण गरिएका एक सय ११ मध्ये सबैको नतिजा नेगेटिभ छ भने तीन जनाको नतिजा आउन बाँकी छ ।
यसैगरी धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालमा तीन सय १९ को परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ छ भने एक सय १० जनाको नतिजा आउन बाँकी छ । राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र (भैरहवा)मा ७९ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ छ भने एकजनाको नतिजा आउन बाँकी छ ।
यसैगरी चितवनस्थित कोभिड– १९ डायग्नोष्टिक प्रयोगशालामा एक सय ९४ को परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ छ भने वीर अस्पतालमा ६ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ छ । नया पत्रिका