कञ्चनपुर – परिवारको खर्च जुटाउनका लागि चार महिना अघि मात्रै भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका थिएनन् ।
कोरोना भाइरसको संक्रमण बढेपछि भारतका सबै क्षेत्रमा लडकडाउनको असरले काम बन्द भए । विद्यालयका विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने रानाको काम थियो । लकडाउनका कारण विद्यालय बन्द भएसँगै रोजगारी गुम्यो । सबै क्षेत्र बन्द भएकाले रानाका लागि अरु क्षेत्रमा रोजगारी पाउने सम्भावना पनि भएन ।
कमाएको केही पैसा डेरा र खानपानमै सिद्धिन थालेपछि उनले घर फर्कने निधो गरे । घर फर्कनका लागि कुनै पनि सवारीका साधान सञ्चालनमा थिएनन् । रानाले काम गर्दै आएको विद्यालयको पुरानो साइकल चढेर घर पुग्ने हिम्मत जुटाए ।
उनले भने, “आगरा बाट साइकल रात दिन चलाउनु पर्यो । एक दुई घण्टा सडक छेउमै सुस्ताउँथे । पुनः साइकल चलाएर सडकमा हिड्नु पथ्र्यो ।” साइकल चलाउन निकै परिश्रम गर्नुपर्ने भएकाले त्यसका लागि खाना खान पनि जरुरी थियो । सडक छेउका थोरै मात्र पसल खुलेका हुन्थे । ती पसलबाट बिस्कुट, नमकिन लगायत खाद्य सामग्री खरिद गरी भोक टार्नु पर्ने उनको बाध्यता थियो ।
सात दिन सात रात लगाएर आगराबाट राना साइकल चढेर सीमानाका आइपुगे तर नेपाल भारत तर्फका सीमा नाका पुरै बन्द थिए । सीमा क्षेत्र भएर नेपाल फर्कनका लागि भारतीय सुरक्षाकर्मी सँग उनले अनुयविनय समेत गरे । केही सीप चलेन ,आगराबाट कमाएर बचाएको १२ हजारमध्ये चार हजार भारतीय रुपैँया बाटोमै खाना खर्चमा सिद्धिएको थियो ।
सीमा क्षेत्रमा बसे दुःख गरेर ल्याएको सबै पैसा सिद्धिने र पछि भोकभोकै पर्ने अवस्था थियो । त्यसैले उनले शुरक्षाकर्मीका आँखा छिचोल्दै सीमा पार पर्ने निधो गरे ।
भारतीय शुरक्षाकर्मीका क्याम्प हुँदै महाकाली नगरपालिका तर्फ लागे उनले भने, “भारतीय शुरक्षाकर्मीले दोधारा चाँदनीका बासिन्दा ठाने र जान दिए । चाँदनीस्थित महाकाली नदी माथिको पुल बन्द गरिएको थियो । महाकाली नदी तर्नु मात्रै एक विकल्प थियो । रातीको मौका छोप्दै काँधमा साइकल राखेर महाकाली तरियो । महाकाली नदी तरेपछि घरमा फोन गरे भारतबाट आइसके । केही घण्टामै घर पुग्दैछु ।”
आगरामा कोरोना भाइरसका संक्रमित व्यक्तिका सङ्ख्या आधा दर्जन पुगेको कुरा गाउँका धेरै जनाले भारतीय सञ्चारमाध्यममा सुनेका थिए । वनसमिति बजारमा भारतबाट फर्कँदै गरेका रानाका लागि केही गाँउले कुरेर बसेका थिए । जब राना बनसमिति बजार पुगे । उनलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नका लागि लगियो ।
राना चैत २१ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । दुई दिनअघि क्वारेन्टाइनमा बस्दै आएका २५ जनासँगै उनको समेत कोरोना भाइरस परीक्षणका लागि र्या्पिड डाइग्नोष्टीक टेस्ट (आरडिटि) विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । सात दिनपछि क्वारेन्टाइनबाट राना घर फर्कन पाउने भएका छन् । रानासँगै परीक्षण गरिएका क्वारेन्टाइनमा बस्दै आएका अन्यको नतिजा समेत नेगेटिभ आएको छ । नगरपालिकाले सञ्चालन गरेको क्वारेण्टमा बसेका सबै जना लडकडाउन पछि सीमा क्षेत्रमा घुसपैठ गरी आएका हुन् ।
रानाजस्तै भारतको पञ्चेश्वरबाट महाकालीमा ट्युवमा तरेर बैतडी हुँदै पैदल हिँडेर आएका उज्जल बोहरा, रामसिंह बोहरासमेत नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । रातीको आठ बजे महाकालीमा ट्युव मार्फत तार्नेहरुलाई जनही एक हजार भारतीय रुपैँया तिरेर दुवै जना महाकाली तरेका हुन् । दुवै जनासँगै कैलाली र बैतडीका गरी सात जनाले महाकाली तरेका थिए ।
सात दिन लगाएर पैदल हिडेर चार दिन अघि शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी घर पुग्दा दुवै जनालाई जनप्रतिनिधि, स्थानीय बासिन्दाले क्वारेन्टाइनमा बस्नका लागि पु¥याएका हुन् । डडेल्धुराको परिगाँउ नजिकैको भारतको बेउरानीबाट ट्युव मार्फत महाकाली नदी तरेका सोही नगरपालिका ११ कलुवापुरका हरिलाल ऐरसहित दैलेखका सात जना जनही भारतीय रुपैयाँ २ सय तिरेर ट्युवमाफर्त महाकाली नदी तरेर चैत १९ गते पुगेका हुन् ।
दैलेखका सात जना पैदल नै घरतर्फ लागेको र ऐर घर पुगेपछि क्वारेण्टनमा बस्दै आएका छन् । भारतीय शुरक्षाकर्मीले सीमा पार गर्न आउनेलाई केही गर्दैनन् ।
ऐरले भने, “नेपाल तर्फका शुरक्षाकर्मीले मात्रै कडाई गरेका छन् ।” क्वारेण्टाइनमा बस्दै आएका भारतबाट फर्केकाले बस्ने, खाने व्यवस्था राम्रो रहेपनि सौचालय एउटै प्रयोग गर्नु परेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा भारतबाट फर्केका सँगै स्वास्थ्यकर्मीको टोलीको समेत व्यवस्था गरिएको छ । –रासस