यो धर्तीकै स्वर्ग प्राकृतिक सम्पदाले भरिपूर्ण सुन्दर नगरी बझाङ ! जो संग साइपाल हिमालको सामीप्यता र सेती नदिको सुन्दरता प्रयाप्त मात्रामा छ । दुनियाँका हरेक व्यक्तिहरु जब यो भूमीको भ्रमण गर्दछन तब मनभरी यो भूमिको माया र आँखाभरी अकल्पनीय दृश्य बोकेर मनमोहक हुन्छन । सेती नदीको छाल छिचोल्दै साइपाल हिमाल सम्म पुग्दा जो कोहिलाई पनि स्वर्गको टापुमा पुगेको आभास झै हुन्छ । शताब्दीऔं पुराना धर्मका धरोहर लाँगा देबताका साँची स्तम्भ, आकाश र धर्ती संग लुकामारी खेल्ने ति बिशाल पहाडका छातीहरु, भोटे दाइको बारीको चिसोहावा, माना सरोबरबाट बग्ने पबित्र पानी अनि संसारकै ति रमणीय बस्तिशरु ! परन्तु तिनै भुमीका ति भञ्ज्याङ, खोला, झरना देखाउदै हजारौं पर्यटकलाई बोलाएर राज्यलाई धनी बनाउने बझाङका ति टिठलाग्दा बस्तीहरु आज भोकै छन । त्यहिको हिउँ खोतली यार्सागुम्बा टिपेर राजधानीलाई करोडौं राजस्व बुझाउने हातहरु आज नाङ्गै छन ।

शिरमा च्यात्तिएको टोपी अनि आङमा जिवनको डोको बोकेर अभाब र गरिबी संग जुध्दै मुसुक्क हाँसेका ति फुटेका ओठहरु कति दयनिय छन । यता दुरदराजका बस्तीमा कोरोना आतंक चलिरहदा हाम्रा जनप्रतिनिधि एउटा साबुन र एउटा मास्क बोकेर दौडिदैछन रे ! गरिबको घरमा चुलाको आगो निभ्दा बिचरा भोकभोकै रुदै गरेको बच्चालाई ! बाबु तिमीलाई क, ख पढ्न आउछ भनेर सोधेको त बलुन्धारा आँशु बगाउदै पैतला फुटेर चिराचिरा भएका नाङ्गा खुट्टाले बिहानै कठ्याङग्रीदो चिसोमा उठेर गाई चराउन पो जादो रहेछ । दशकौं देखि दिपक सार्की मालिकको धारा छुन नपाइ हजारौं मिटर टाढाबाट पानी बोकेर खादा पनि खै तिनतले गणतन्त्रबादी सरकारको ध्यान ? साहेद उनिहरु घरजम जोड्नमै ब्यस्त होलान ।
जिन्दगीलाई ब्यर्थै बुझेका बृद बुवा बिदेशीयको छोराको बाटो हेर्दाहेर्दै डाँडो काट्न पो लागेका रहेछन । जिबनमा कहिल्यै साइकल नदेखेका हाम्रा हजारौं दाजुभाईहरुले घन र बेल्चा नचलाई उनको हातमुख नै जोडिन्न । मेरा गाउँ–ठाउँका लाखौंलाख दाजुभाइले मुम्बई र ब्याङलोरका होटलमा जुठाभाँडा नमाझी उनीहरुको घरको चुलो नै बल्दैन, आहाराकै लागि हाम्रा हजारौं दिदीबहिनीले बिदेशमा मालिकको कोठीमा काम गर्दाको पिडा कति कहालीलाग्दो छ । काँध खुइलिने गरी हड्डी भाँचीने गरी भारी बोकेर कैयौं ज्यामीहरुले अनिलो खानु परेको पिडा ज्युदै छ ।
दशकौंदेखि हलोको ओग समातेर हत्केलाका छापहरु हलोको ओगमा छापिएका किसाहरु अब हात हेर्ने ज्योतिषीलाई हत्केला देखाउने कि हलोको ओग यो प्रश्न गम्भीर नै छ । बिभिन्न क्याम्पसबाट डिग्री पास गरेका युवायुवतीहरु एक पेट चारोको लागि मलायाका अपराधी हातमा बेचिन मेन पावर धाइरहेको कथा दिनदिनै सुन्न र पढ्न पाईन्छ । काखीमा बिरामी बच्चा बोकेर अस्पताल पुगेकी मनमाया उपचार खर्च नपाएर काखीमा बच्चाको लाश बोकेर रुदै घर फर्केका समाचार दिनानु दिन पढ्न पाइन्छ ।
सुखी नेपाली र सम्बृद्द नेपालको आशा देखाएर अरबौं लुट्न ब्यस्त यो देशका मालिकलाई मैले लेखेको यो यथार्थ कहाँ पच्ला र ? तर पनि म सचेत नागरिकको हिसाबले बोल्नुपर्छ । हाम्रा दिदीबहिनीहरु कंगोमा बेचीएकी छन, दाजुभाइ इराकमा काटिएका छन, लाखौंलाख युवायुवती खाडीमा जवानी बेचीरहेछन, कैयौं दाजुभाइ दिदी बहिनीहरु भारतको गल्लीमा बजारको सस्तो श्रमिक भएर गुजारा गर्दैछन, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट दैनिक १५००/२००० युवा बिदेश उड्छन, दैनिक सात जनाका लाश सेतो बाकसमा भित्रीरहेका छन । तर यिनको रेमिट्यान्समा रजाइँ गर्दै यो देशका शासकहरु साइरन बजाएर करोडौंको गाडीमा सवार गर्दैछन, र आफ्ना साखा सन्तान बिदेशका महंगा कलेजमा पढाउदै आफू सामान्य ज्वरो आउदा समेत अमेरिका, सिङ्गापुर करोडौंको खर्चमा उपचार गर्दैछन । राज्यकोषको दोहन गरेर स्थानिय तहदेखि केन्द्र सम्म लुट मच्चाएको छ, ठेक्का पट्टा, उपभोक्त समीती, योजना र नियुक्तिमा आसेपासे नातागोता भर्ती केन्द्रको रुपमा गरेका छन । मानौं यिनी जन्मीदा नै यो दुनियाँ जितेर आएका थिए, हामी हारेर आएका थियौं र पो बेचियौं ।
हिजो चप्पल नहुने आज बाइकमा सवार छन । हिजो जुत्ता नपाउने आज कारमा सवार छन, कोदोको रोटी नपाउनेहरु आज भुजा ज्युनार गर्दैछन । महिनाको एक पटक ननुहाउनेहरु ठुला होटलको स्विमीङ पुलमा रमाउदैछन, बारी नहुनेका बजारमा घरेडी भएका छन, एक हल गोरु नहुनेहरु रातारात स्काइभेटरका मालिक भएका छन । मानौ यो भौतिक दुनियाँ उनिहरुकै पञ्जा भित्र छ । गणतन्त्र यिनिहरुका लागि लुट्ने लाईसेन्स बनेको छ । हिजो धोती किन्न नसक्नेहरु आज रंगी बिरंगी आदर्शका कोट लगाएर अडबाङगे टाउकोमा पाल्पाली ढाका टोपी लगाउदै अघि पछि डण्डावाला लिएर पो हिड्दा रैछन । यसरी दुनियाँ मारेर पिएको रगतले मोटाउदै सत्ताको अहंकारमा मात्तिएकाहरु बिरुद्ध हामी जनता एक जुट हुनै पर्छ । हामी कसैका निजी दास होइनौं एक्काइसौं शताब्दीका महामानब हौं ।