डोटी – जिल्लामा ३ सय ३० जनामा कोरोना भाईरस परीक्षणका लागिस्वाव संकलन गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न क्वारेन्टाइनहरुमा राखिएका ३ सय ५ र अन्य २५ जना गरी ३ सय ३० जनाको बुधबार स्वाव संकलन गरिएको हो ।
बुधबार बिहान स्वास्थ्य मन्त्रालय र डोटीबाट प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको पहलमा हेलिकप्टर मार्फत डोटीमा पठाएका स्वास्थ्य सामाग्री र जिल्ला भित्रका डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको टोलीले स्वाव संकलन गरेको हो ।
दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र के.आई सिंह गाउँपालिकाको सेती सभाहल राजपुरमा, शिखर नगरपालिकाको धुरकोट, बोहरागाउँ र बानेडुङग्रीसैन गरी ३ ठाउँमा, आदर्श र सायल गाउँपालिकाको मौवामा, बडीकेदार र जोरायल गाउँपालिकाको विपिनगरमा र बोगटान फुडसिल गाउँपालिकाको चवराचौतारा केन्द्रमा छुट्टाछुटै डाक्टरहरुको टोलीले स्वाव संकलन गरेको हो ।
शिखर नगरपालिकाका तीनै केन्द्रमा गरी ८४ जना, चवराचौतारामा ७६ जना, मौवामा ७५ जना, सेती सभा हल राजपुरमा ५० जना र विपिनगरमा ४५ जना गरी ३ सय ३० जनाको नाकको स्वाव संकलन गरिएको डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
जसमध्ये क्वारेन्टाइनमा रहेका ३ सय ५ सँगै ११ जना सुरक्षाकर्मी, ३ जना कामदार र जनप्रतिनिधी सहित अन्य ११ जना रहेका छन् ।