अत्तरिया – गोदावरी नगरपालिकाका बिभिन्न वडामा भईरहेको राहत बितरण प्रति स्थानियले आपत्ती जनाएका छन् । साथै राहत बितरण भिडभाडका साथ गरिएको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १, ३ र ४ मा राहत बितरणमा बास्तबिक लकडाउन पीडितलाई नदीएर पहुंको आधारमा बांडिएको स्थानियको आरोप रहेको छ । वडा नम्बर ३ को कार्यालयले मुक्ती विद्यालय, रोयल युवा क्लबको कार्यालय र चौकीडाँडा सामुदायिक वनको भवन गरेर तीन स्थानमा राहत वितरणको कार्यक्रम आयोजना गरेको थियो । जसमा स्थानिय राहात लिनेको भिड रहेको थियो ।
स्थानिय सुनेराम बिकले राहत बितरण सही तरिकाले नगरेको गुनासो गरे । उनले भने ‘हुनेखाने तथा आफ्ना मान्छेलाई मात्रै राहत प्रदान गरिँदा हामी जस्ता वास्तविक मजदुरी गरेर खाने विपन्नले केही पाएनौ।’
यस्तै वडा नम्बर १ मा पनि राहत बितरण प्रती स्थानियले असन्तुष्टी जनाएका छन् । ’बास्तबिक मजदुर र दैनिक गरिखानेले राहत पाएका छैनौं,’ एक स्थानियले गुनासो गर्दै भने – ’राहत बोकेको गाडी टोल भित्र ल्याइयो, तर हामीहरूलाई राहत वितरण नगरी फर्कियो ।’
उनले घर बनाएर भाडामा लगाउने घरधनीले राहत पाएको, तर कोठा भाडामा बस्ने मजदूरले नपाएको गुनासो गरिन् । यस्तै नगरपालिकाको ४ मा पनि राहात बितरणमा अनियमितता भएको स्थानियले आरोप लगाएका छन् । एक स्थानियले वडा अध्यक्ष र सदस्यहरुले पँहुचको आधारमा आ–आफ्ना मान्छेलाई राहत बितरण गरेको आरोप लगाए ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँदले राहत बितरणको लागि बिधी बनाएर नै काम अगाडी बढेको बताए । ’राहत बितरण गर्न अली कठिन नै भएको छ तर पनि बास्तबिक ब्यक्तीहरु राहत पाउनबाट बन्चित नहुन भनेर सबै वडा अध्यक्षलाई निर्देशन दिएको छु,’ मेयर साउँदले भने –’कतै अनियमितता भएको छ भने नगरपालिकामा उजरी दिनहोस् हामी छानबिन गर्छौं ।’ उनले राहत बितरणमा कुनै किसमको राजनीति नहोस भन्ने तर्फ आफू सचेत रहेको बताए ।