एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को प्रमुख लक्षण उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुनु हो । तर यति मात्र नभएर नयाँ किसिमका लक्षणहरू पनि देखा परेका छन् । वैज्ञानिकले यसका लक्षणबारे हरेक दिन नयाँ तथ्य फेला पार्दै गइरहेका छन् । वैज्ञानिकका अनुसार सुरुवातमा कुनै सामान्य रुघाखोकी जस्तै देखिएको र कुनै चाहिँ फरक देखिएका छन् ।
यसका लक्षण शरीरमा भाइरस प्रवेश गरेको २ देखि १४ दिनमा देखा पर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यहाँ कोरोनाका १० लक्षण र ती लक्षण देखा परे अन्यमा सर्न नदिन के गर्नुपर्छ भन्ने बारे चर्चा गरिएको छ ।
सास फेर्न गाह्रो हुने
सास फेर्न गाह्रो हुने सामान्यतः कोरोना भाइरसको सुरुवाती लक्षण होइन। तर यो सबभन्दा गम्भीर लक्षण हो ।
विज्ञका अनुसार यो खोकी बिना पनि हुन्छ । यदि तपाईँलाई छाती कसिएको जस्तो महसुस भएर लामो सास फेर्न सक्नु भएको छैन भने तुरुन्त विज्ञ डाक्टरसँग सम्पर्क गर्ने र परामर्श लिनुपर्ने हुन्छ ।
उच्च ज्वरो
उच्च ज्वरो कोरोना भाइरसको खास लक्षण हो । तर शरीरको सामान्य ताप व्यक्तिपिच्छे फरक हुने गर्छ । जसले मानिसमा केही भ्रम समेत पैदा भएको छ ।
विज्ञहरूले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ फरेनहाइटलाई औसत शरीरको ताप भनेका छन् । तर कतिपयको सामान्य ताप सोभन्दा कम हुने गरेको छ । त्यसैले १०० डिग्री भन्दा माथि मात्र असमान्य भनिए पनि सोभन्दा कम ज्वरो पनि कतिपयलाई खतरा हुने बताइएको छ ।
औसत मानिसले १०० डिग्रीभन्दा माथि ज्वरो भएपछि मात्र शरीरको ताप बढेको महसुस गर्ने गरेको विज्ञहरूले बताएका छन् ।
सुक्खा खोकी
खोकी सामान्य रुघामा पनि लाग्ने गर्छ । तर कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा सुक्खा खोकी लाग्ने गरेको छ । यो सामान्य खोकी भन्दा अप्ठ्यारो महसुस गराउने फरक खोकी हो ।
अध्ययनका अनुसार यो खोकी घाटी सफा गर्नलाई भएको खोकी जस्तो होइन । अन्य खोकी लाग्दा व्यक्तिले खकार्ने गर्छ । घाँटी सफा गर्छ । तर यसमा त्यस्तो हुँदैन ।
संक्रमित बिरामीहरूको भनाइ अनुसार यसमा भित्री छातीमा खोकी हुन्छ । तर सुक्खा खोकी हुने भएकाले निकै पीडादायी हुन्छ ।
दृष्टिभ्रम हुने तथा शरीर दुख्ने
कोरोना संक्रमण हुँदा दृष्टिभ्रम हुने तथा शरीर दुख्ने गरेको पाइएको छ । कोरोना संक्रमित सीएनएनका पत्रकार क्रिस क्यूओमोले यस्तो महसुस गरेको बताएका छन् ।
उनले राती कोही आएर आफूलाई कुटिरहेको जस्तो लागेको र पछि शरीर दुख्न थालेको बताएका छन् । उनले कहिल्यै नदेखेका कलेजका मान्छे तथा आफ्ना बाबुसँग कुरा गरिरहेको भ्रम भएको पनि बताएका छन् । ‘म भ्रमित भइरहेको थिएँ’, उनले भनेका छन, ‘म सँग मेरो बुवा कुरा गर्दै हुनुहुन्थ्यो । मैले कलेजमा कहिल्यै नदेखेका मान्छेहरू देखिरहेको थिएँ ।’
अचनाक अलमल र भ्रम
कोरोनाको लक्षण मध्ये अचनाक अलमल वा भ्रम हुनु पनि एक जटिल लक्षण हो । अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार यस्तो लक्षण देखा परे तुरुन्त सघन कक्षमा उपचार गर्नुपर्ने हुन सक्छ ।
त्यसैले ओठ निलो हुँदै गयो तथा सास फेर्न गाह्रो समेत हुँदै गयो र बिरामी अचनाक अलमल हुन थाल्यो भने तुरुन्त स्वास्थ्य विशेषज्ञको सल्लाहमा अस्पताल भर्ना गर्नुपर्छ ।
पाचनमा समस्या
सामान्यत : श्वासप्रश्वासको रोगमा पेट सम्बन्ध समस्या हुने कुरामा ध्यान जाँदैन । तर कतिपय कोभिड–१९ संक्रमितहरूमा पाचन समस्या पनि देखिएको छ ।
सीएनएनका प्रमुख संवादाता डा. सन्जय गुप्ताका अनुसार केही संक्रमितमा पखाला र ग्यास्ट्रिकको समस्या समेत देखिएको छ ।
गुलाबी आँखा
चीन, दक्षिण कोरिया तथा विश्का अन्य क्षेत्रका संक्रमितमा गरिएको अध्ययन अनुसार करिब १ देखि ३ प्रतिशतमा गुलाबी आँखा हुने लक्षण देखिएको छ । यो पातलो झिल्लीको रूपमा हुन्छ । यसले आँखाको सेता भागलाई ढाक्ने गर्छ ।
गन्ध र स्वाद थाहा नपाउने
गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरसको एक लक्षणको रूपमा पछिल्लो समय पत्ता लागेको छ । डा. गुप्ताका अनुसार यस्ता लक्षण भएका बिरामीको संख्या बढिरहेको छ ।
तर यो लक्षण भाइरस संक्रमणको सुरुवातमा भने देखिएको छैन ।
थकान महसुस हुने
कतिपय संक्रमितमा सुरुवातमै चरम थकान भएको देखिएको छ । डब्लूएचले ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार करिब ४० प्रतिशतमा यस्तो लक्षण देखा परेको छ ।
टाउको दुख्ने तथा घाँटी दुख्ने
डब्लूएचओले चीनका ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार १४ प्रतिशतमा यस्तो लक्षण देखा परेको छ । यी लक्षण अन्य फ्लूको जस्तै भएको विज्ञले बताएका छन् ।
विज्ञका अनुसार कोरोना संक्रमण हुँदा सामान्यत ः चिसो वा रुघा लागेजस्तो हुने त्यसपछि ज्वरो र खोकी समेत लाग्ने गरेको छ ।
यस्ता लक्षण देखा परे के गर्ने ?
यस्ता लक्षण देखा परेमा सरकारको निर्देशन तथा स्वास्थ्यकर्मीको सल्लाहलाई पालना गर्नुपर्छ । अरूलाई सर्नबाट रोक्न यस्तो अवस्थामा घरमै बस्ने अर्थात् आइसोलेसनमा बस्नुपर्ने हुन्छ । यसैगरी जोखिम कम गर्न खानपिनमा ध्यान दिने साथै आराम गर्नुपर्ने विज्ञको सुझाव छ ।
यदि तपाईँ ६० वर्षभन्दा माथि तथा गर्भवती हुनुहुन्छ भने यस्तो लक्षण देखा पर्ने बित्तिकै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ । साभार – अन्नपूर्णबाट