अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा भरखरै कालोपत्रे गरिएको गेरेपानी –तेघरी सडकमा घास उम्रिएको छ । गेरेपानी देखी शक्ति कटेज सम्मको करिब डेढ किलोमिटर सडक कालोपत्रे भएको ५ महिना नबित्दै घाँस उम्रिएको हो ।
कालोपत्रे गरिएको सडकको बिच भागमा घाँस उम्रिएपछि स्थानीयबासीले आक्रोश पोखेका छन् । बर्षौदेखी हिलो र घुलो भएको सडकमा आबत जावत गर्दै समस्या खेप्दै आएका स्थानियहरु गाउको सडक कालोपत्रे भएपछि खुसी भएका थिए । यद्धपी कालोपत्रे गरिएको ५ महिना नबित्दै सडकमा घाँस उम्रिन थालेपछि ठेकेदार कम्पनीले गुणस्तरीय काम नगरेको आरोप लगाएका छन् ।

सडक निर्माणका क्रममा नै बिभिन्न त्रुटिहरु देखिएको र त्यो बेला आफुहरुले आवाज उठाउदा कसैले पनि नसुनेको स्थानियहरु बताउदछन् । सडक कालोपत्रे भइरहेको बेला सम्बन्धित निकायको वेवास्ता कारण यस्तो अवस्था सृजना भएको उनिहरुको आरोप छ । ठेकेदार कम्पनी र नगरपालिकाको लापरबाहिकै कारण सडकको छेउछाउ देखी बिच भागमा घाँस उम्रिन थालेको एक जना स्थानियले बताए । यस बिषयमा गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु भने बेखबर रहेको छन् ।
गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण राज जोशीलाई यस बारे सोध्दा आफुले पनि घास उम्रिएको भन्ने सुनेको तर अनुगमनमा नगएको बताए । कालोपत्रे सडकको बिच भागमा घास उम्रिन नहुने बताउदै उनले यस बारे आफुले अनुगमन गर्ने र ठेकेदार कम्पनीसंग बुझ्ने जानकारी दिए ।

उता गोदावरी नगरपालिकाका इन्जिनियर रुद्ध बहादुर बोगटीले घास उम्रिएको बिषय अहिले सम्म कुनै जानकारी नआएकाले आफुले यस बिषयमा बुझ्ने बताए । उनले कालोपत्रे गरिएको सडकमा निरन्तर सवारी साधनहरु चल्नुपर्ने भएपनि सो सडममा कमै संख्यामा सवारी साधनहरु चल्ने हुदा यस्तो समस्या आएको बताए । कालोपत्रे सडकको बिच भागमा घास उम्रिनु ठेकेदार कम्पनीको पनि लापरबाहि रहेको बताउदै उनले यसको सुधारका लागि ठेकेदार कम्पनीलाई चिठ्ठी काट्ने जानकारी दिए ।
१४ सय ५० मिटर लम्वाई रहेको उक्त सडक गोदावरी नगरपालिकाको बजेटवाट निर्माण गरिएको हो । ७७ लाखको लागतमा निर्माण गरिएको उक्त सडक निर्माणको जिम्मा श्रीपुर सत्य ,सबित्रि जे.वि कम्पनीले पाएको थियो ।