काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोभिड –१९ को रोकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन लागि टोलि खटाएको छ । ११ औं तहका कर्मचारीको नेतृत्वमा प्रत्येक प्रदेशमा टोली खटाएको हो ।
सो टोलिले खटाइएको प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरी मन्त्रालयमा प्रतिवेदन दिने बताइएको छ ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टोलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएको हो ।
टोलिले उपचारका लागि तोकिएको सरकारी वा निजी अस्पतालले आफ्नो जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका रुपमा वा करार सेवाबाट लिने व्यवस्था मिलाउने काम गर्ने जिम्मेवारी दिइएको छ ।
मन्त्रालयले प्रदेश १ मा डा सुधा देवकोटा, राजकुमार पोखरेल र चित्रा खनाल, प्रदेश २ मा मोहम्मद दाउद, डा प्रकाश साह र बाबुराजा अमात्य, बागमती प्रदेशमा रोशनी तुईतुइ, यशोदा अर्याल र विजयक्रान्ति शाक्य र गण्डकी प्रदेशमा डा तारा पोखरेल, मदनकुमार श्रेष्ठ र सुदिप आलेमगरको टोली खटाएको छ ।
त्यसैगरि, प्रदेश ५ मा डा रमेश खरेल, केशव पण्डित र रविकान्त मिश्र, कर्णाली प्रदेशमा डा अनुज भट्टचन, डा फणीन्द्र बराल र उत्तम कोईराला र सुदुरपश्चिम प्रदेशमा डा भिमसिंह तिंकरी, डा रामराज पन्थि र रामबहादुर नेपालीको टोली पठाउने निर्णय गरेको छ ।