डडेलधुरा- अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ ।
असिनापानीले पाक्न थालेको गहुँ र जौसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको अजयमेरु–१ का लक्ष्मी भट्टले जानकारी दिए । साथै ओखर, जुनार, सुन्तलामा समेत क्षति पुगेको भट्टको भनाइ छ ।
त्यस्तै तरकारी पनि पूर्णरूपमा नष्ट भएको खतेडाका किसान धर्मानन्द भट्टले बताए । भित्र्याउनै लागेको गहुँबाली पूर्णरूपमा नष्ट भएपछि खाद्यान्नको अभाव हुने भन्दै स्थानीयबासिन्दा गणेश पाण्डेले चिन्ता व्यक्त गरे । गहुँबाली नष्ट हुँदा अब के खाने भन्ने पिरले सताएको छ’, उनले भने ।
असिनापानीले भएको क्षतिको अनुगमन गरेर विवरण लिने काम भइरहेको र क्षतिपूर्तिका लागि कार्यपालिकाको बैठकबाट निर्णय लिने गाउँपालिका अध्यक्ष उमेश भट्टले जानकारी दिए ।
यसैगरी गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ । करिब ४५ वर्षपछि यति ठूलो असिनापानी परेको वडा नं १ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए । रासस