वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारचन्दा बढीमा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ । त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ ।
अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ । साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ ।
बुधबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या करिब ८१ हजार रहेको छ । चीनमा निको हुनेको संख्या नै करिब ७६ हजार रहेको छ ।
मंगलबार इटालीमा ८३७, स्पेनमा ७४८, फ्रान्समा ४९९, बेलायतमा ३८१, जर्मनीमा १३०, इरानमा १४१, बेल्जियममा १९२ र नेदरल्यान्ड्समा १७५ जनाको मृत्यु भएको छ ।
कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४२ हजारको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या ८ लाख ५८ हजारभन्दा बढी पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन् ।