कञ्चनपुर - कोरोना भईरस रोकथामका लागि अहिले स्थानिय तहहरुले धमाधम क्वारेन्टाइनहरु निर्माण गरिरहेका छन् । यद्धपी देशभर निर्माण गरिएका अधिकंश क्वारेन्टाईनहरु खाली रहेका छन् ।
कञ्चनपुर जिल्लामा अहिलेसम्म तीन सय ४० बेडका क्वारेन्टाइन निर्माण गरिएका छन् । तर अहिले सम्म ३८ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । जिल्लाको नौवटै स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनमा अहिले सम्म ३८ जना मात्रै बसेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकमा रहेको छ ।
वेदकोट नगरपालिकामा ११, पुनर्वास नगरपालिकामा ५ , बेलौरी नगरपालिकामा ३, लालझाडी गाउपालिकामा १० र बेलडाँडी गाउँपालिकामा ९ जना बसेका छन् । भीमदत्त नगरपालिकाले १ सय, महाकाली नगरपालिकाले १०, वेदकोट नगरपालिकाले ६४ , कृष्णपुर नगरपालिकाले ३०, पुनर्वास नगरले ५०, बेलौरी नगरले ४५, लालझाडी गाउँपालिकाले १८ र बेलडाँडी गाउँपालिकाले २३ बेडको क्वारेन्टाइन निर्माण गरेका छन् । शुक्लाफाँटा नगरपालिकाले भने क्वारेन्टाइन निर्माण गरेको छैन ।
सबैभन्दा बढी १ सय बेड निर्माण गरेको भीमदत्त नगरपालिका र कृष्णपुरमा एकजना पनि भर्ना भएका छैनन् । जिल्लामा ३१ बेडको आइसोलेसन निर्माण गरिएकोमा भीमदत्त नगरपालिका– १८ स्थित महाकाली अस्पतालमा आठ बेड, शुक्लाफाँटा नगरपालिकामा १२, बेलौरी नगरपालिकामा पाँच र वेदकोट नगरपालिकामा ६ बेडको आइसोलेसन छन् ।
महाकाली अस्पतालबाहेकका आइसोलेसनमा बिरामी भने भर्ना गरिएका छैनन् । महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले कोरोनाको शंका गरिएका नौजनामध्ये चारजनाको रिपोर्ट नेगेभिट आएको र उनीहरू घर गइसकेको बताए ।
अन्यको भने रिपोर्ट आउन बाँकी रहेको उनले बताए । रिपोर्ट आउन बाँकी दुईजना महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिएका छन् भने तीनजनाको होम क्वारेन्टाइनमा उपचार भइरहेको छ ।