अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले नगरबासीको स्वास्थ्यप्रति आफुहरु गम्भिर रहेको बताएकी छन् । आज गोदावरी न्युन संग कुराकानी गर्दै उनले अहिले विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसका कारण गर्दा देश बिदेशमा सन्त्रास फैलिरहेका बेला गोदावरी नगरपालिकाले कोरोना रोकथाम र यसवाट बच्नका लागि बिभिन्न खाले उपायहरु अपनाइरहेको बताएकी हुन् ।
उनले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको सम्पूर्ण नगरबासीहरुलाई घरभित्र बसेर पालना गरिदिन अनुरोध गरिन् । 'अहिलेको यो बिषम परिस्थितीमा सबैले आआफ्नो ठाउँवाट सरकारलाई सहयोग गर्न अति आवश्यक रहेको छ' उनले भनिन् - 'हामी आफ्नो तर्फवाट गर्न सकिने हर प्रयासहरु गरिरहेका छौ तपाईहरु नआत्तिनुहोस , एक अर्काको सम्पर्कमा नरही सबैले घरमा बसेर लकडाउनको पूर्णमा पालनामा मात्रै गरिदिनुहोस ।'
उनले गोदावरी नगरपालिकाका बिभिन्न वडामा घर भएका थुप्रै स्थानियहरु अहिले भारत तथा तेस्रो मुलुकवाट घरआएकाले उनीहरुलाई सकेसम्म नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसीदिन र नभए आफ्नो घरभित्र सेल्फ क्वारेन्टाइनमा बसिदिनका लागि आग्रह गरिन् ।
नगरबासीको स्वास्थ्यलाई मध्यनजर गदै कुनै वडामा कोरोनाका आशंका लागेका ब्यक्तिहरु फेला परेमा उनीहरुका लागि गोदावरी नगरपालिकाले मालाखेती अस्पताल २० बेडको र सैनिक आवासिय बिधालय तेघरीमा १२० बेडको क्वारेन्टाइन स्थापना गरेको र अत्तरियामा रहेको सुदुरपश्चिम सामुदायिक अस्पतालमा २० बेडको आइसोलेसन वार्ड तयारी अबस्थामा राखिएको बताइन् ।
यस्तै गोदावरी नगरपालिका वडा नं १० , ११ र १२ स्थानियहरुलाई मध्यनजर गर्दै ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकीमा पनि क्वारेन्टाइन तयार भैरहेको जानकारी दिइन् । उनले अहिले भारत लगाएत बिभिन्न मुलुकवाट आएका २५ जनालाई क्वारेन्टाइनमा समेत राखिसकेको बताइन् । नगरपालिका क्षेत्रका नगरबासीका लागी २ वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको बताइन् ।
साथै उनले अहिले कोरोनाको आशंका गरिएका ब्यक्तिहरुको उपचारमा संलग्न रहने स्वास्थ्यकर्मीहरुका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुका लागि प्रदेश सरकारसंग आफुले कुरा गरिरहेको उनले बताइन् । स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक रहेको पर्सलन प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) को अभाव रहेकाले यसका लगि अहिले प्रदेशको सामाजिक बिकास मन्त्रालयसंग कुरा भैरहेको छ उनले भनिन् ।
'विश्वभर महामारीको रुपमा रहेको फैलिरहेको कोरना भाईरसको संक्रमणबाट बच्न सरकारले गरेको लगातारको लकडाउनको कारण दैनिक ज्यालादारी गरी खाने बर्ग, अति बिपन्न बर्ग, गरिव, असाहाय र अपाङ्गता भएका व्यक्तिहरु एवम पिछडिएको समुहलाई लक्षित गरी हामीले १ करोडको राहत कोष स्थापना गरेका छौ' यो कोषमा तपाईहरु पनि सहयोग गर्न सक्नुहुनेछ' उनले भनिन - ' हामी हरबखत अपडेटमा रहेका छौ । कुनै समस्या वा गारासारो परेमा हामीले बिभिन्न नम्बरहरु पनि दिएका छौ तपाईहरुले त्यसमा खबर गर्नुसक्नुहुनेछ ।'
नगरबासीहरूका कुराहरूलाई सम्बोधन गर्न तुरून्तै नगरभरीका सबै स्थानमा औषधी छर्नुपर्ने र अति विपन्न, गरिब, मजदुरी गरि खाने,अपांग वर्गहरूका लागी तत्कालै वडावडाबाट तथ्यांक संकलन गरि राहतको आभाष गराउन गर्न पनि नगरपालिकाको ध्यान रहेको उनको भनाई छ । उनले सम्पुर्ण वडाका अध्यक्षलाई आफ्नो वडामा सबै नागरिकहरु माथि निगरानि बढाइ कुनै समस्या भए तत्काल उद्धार गरेर नगरपालिकाले बनाएका क्वारेन्टाइन र आइसोलेसनमा ल्याउने गरी तयारी अबस्थामा रहन निर्देशन दिइसकेको बताइन् ।
साथै उनले हिजो मात्रै सुरक्षाकर्मी , स्वास्थ्यकर्मी सहित आफुले पनि नगरपालिकाले बनाएका क्वारेन्टाइन र त्यहाँ रहेका नगरबासीहरुको बारेमा जानकारी लिएको बताइन् । उनले त्यँहा देखिएका कमी कमजोरीहरु सुधारका लागि पनि निर्देशन दिएको बताइन् ।
उनले अहिले यो समस्या विश्वको नै भएकाले संघिय , प्रदेश र स्थानिय गरी तिनै तहको सरकार नेपालीहरुको जिउज्यानको रक्षाका लागि निरन्तर लागि रहेकाले कसैले पनि आत्तिनुपर्ने अबस्था नरहेको बताइन् । तर कोरोना भईरसको जोखिमवाट बच्नका लागि आ आफ्नो क्षेत्रवाट सरकारको नियमको पालना गर्दै उच्च सर्तकता अपनाउन सबै नगरबासीलाई उनले आग्रह गरेकी छन् ।