काठमाण्डौ - कोरोना भाइरसको विश्वव्यापी संकटका बेला अहिलेसम्म ४१ हजार एक सय ४० जना नेपालीहरु स्वदेश फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भारत तथा तेस्रो मुलुकवाट अहिले सम्म ४१ हजार एक सय ४० जना नेपालीहरु स्वदेश फर्किएको जानकारी दिए ।
एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको देवकोटाले जानकारी दिए । देवकोटाले अहिले सम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको बताए ।
सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको बताउँदै उनले धरानमा नमुना परीक्षण सुरु भइसकेको जानकारी दिए । यस्तै धनगढी , सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाइएको छ ।
कोरोना संक्रमण भइसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उनले आग्रह गरे।
देवकोटाले प्रत्येक प्रदेशमा १ हजार सेट पिपिई, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाइएको जानकारी दिए ।
उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुँदै पठाइएको बताए। त्यसैगरी क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उनले जानकारी दिए।