अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले नगरपालिका भित्र भारत तथा तेस्रो मुलुकवाट आएको स्थानियहरुको पहिचना गर्दै उनीहरुको स्वास्थ्य चेकजाँच गरिरहेको छ । गोदावरी नगरपालिकाका प्रबक्त एबम् वडा नं १ का वडा अध्यक्ष शर्मानन्द भट्टका अनुसार सुरक्षाकर्मी सहित स्वास्थ्यका कर्मचारी र जनप्रतिनिधिहरुको टोलीले गोदावरी नगरपालिकाको बिभिन्न वडाहरुमा गएर भारत तथा तेस्रो मुलुकवाट आएकाहरुको पहिचान गर्दै उनीहरु स्वास्थ्य चेकजाँच गरिरहेको हो ।
उनले कोरोनाको संक्रमण फैलिए यता बिभिन्न देशहरुवाट घर फर्किएका बिभिन्न वडामा बसोबास गर्ने करिब ४० जना घरमै गएर स्वास्थ्य चेकजाच गरिएको बताए ।
यसरी चेकजाँचका क्रममा शंक लागेका ब्यक्तिहरुलाई नगरपालिकाले मालाखेती अस्पतालमा निर्माण गरेको क्बारेन्टाइनमा ल्याएर राख्ने गरिएको बताए । उनले आज मात्रै भारत र दुवईवाट आएका २ जनालाई निगरानिका लागि क्वारेन्टाइनमा ल्याएर राखेको बताए । उनले अहिले गोदावरी नगरपालिका १ , ४ र ९ नं वडामा भारत र तेस्रो मुलुकवाट आएकाहरुको पहिचान गरी घरमै गएर स्वाथ्य चेकजाच भैरहेको बताए ।
साथै अन्य वडामा पनि यो क्रमलाई निरन्तरता दिइने उनको भनाई छ । गोदावरी नगरपालिकाले मालाखेती अस्पतालमा २० जनालाई क्वारेन्टाईनमा राखेको छ । प्रबक्ता भट्टले अहिले सम्म भारत सहित तेस्रो मुलुकवाट आएका २० जना स्थानियहरुलाई मालाखेती अस्पतालमा राखिएको जानकारी दिए । भारतवाट आएका धेरै जसो स्थानियहरु आफ्नो घर परिवारसंग घुलमिल भैसकेकाले उनीहरुलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए ।
'अहिले गोदावरी नगरपालिका धेरै जसो स्थानिय भारतवाट आएका छन् उनीहरुको सोधी खोजी गरिरहेका छौ तर के गर्ने धेरै जसो आफ्नो घरपरिवारसंग घुलमिल भैसकेकाले उनीहरुलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गरेका छौ' उनले भने - ' जो यताउती हिडडुल गरिरहेका छन् उनीहरुलाई भने क्बारेन्टाइनमा राख्न काम गरिरहेका छौ ।'
गोदावरी नगरपालिकाले हाल सैनिक आवासिय विद्यालय तेघरीमा १२० बेडको र मालाखेती अस्पताल २० बेडको क्वारेन्टाईन बनाएको छ भने अत्तरियामा रहेको सुदुरपश्चिम सामुदायिक अस्पतालमा २० बेडको आईसोलेसन वार्ड तयारी अबस्थामा राखेको छ । साथै गोदावरी स्वास्थ्य चौकी ओलानीमा पनि क्वारेनटाईनका लागी तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।
पछिल्लो समय विश्वव्यापि रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि देखिएको छ । धनगढीका एक युवकसंगै अहिले सम्म नेपालमा ५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । जसमध्ये एक जनाको उपचार पछि निको भएको छ भने ४ जना बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।