धनगढी – धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाले उचित उपचार नपाएको गुनासो गरेका छन । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको बताए ।
‘चार दिनसम्म मेरो कोठामा एउटै स्वास्थ्यकर्मी आएनन । गुनासो बाहिर मिडियामा सार्वजनिक गरेपछि शनिबार दिउँसो चारजना झुल्किएका थिए, तर चेकजाँच गरेनन,’ उनले भने, ‘भर्ना भएको दिन लेखिदिएको औषधि सकियो । कोठामा अक्सिजन पनि छैन । यहाँ उपचार हुँदैन भने मलाई काठमाडौं पठाउनुर्पयो ।’
११ चैतमा भर्ना भएका उनलाई कोरोना पुष्टि भएको रिपोर्ट शुक्रबार आएको थियो । त्यसपछि उनलाई अर्को कोठामा सारिएको थियो । तर, त्यतिबेलासम्म पनि आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी नगराएको उनले बताए । ‘कोरोनाको बिरामी भेटिएको भन्ने खबर सञ्चार माध्यमबाट थाहा पाएपछि डाक्टरलाई फोन गरेर सोधेँ । त्यसपछि मात्रै जानकारी पाएँ,’ उनले भने ।
शनिबार उनले गुनासो सार्वजनिक गरेपछि दिउँसो प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेय सहितको टोलीले भेटेको छ । तर, कुनै चेकजाँच नगरी केहीबेर कुरामात्रै गरेर गएको बिरामीको गुनासो छ । आफन्तले पनि स्वास्थ्यकर्मी बिरामीसँग तर्सिएर भाग्ने गरेको बताए ।
अस्पतालका डाक्टर जगदीशप्रसाद जोशीले बिरामी जाँच्दा स्वास्थ्यकर्मीले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नहुँदा समस्या भएको बताए । ‘व्यक्तिगत सुरक्षा नहुँदा स्वभाविक रुपमा केही समस्या हुन्छ । अहिले सुनिएका कुरा त्यसैसँग जोडिएका छन,’ जोशीले भने । तर, बिरामीले उपचार नै नपाएको भन्ने चाहिँ गलत भएको उनको दाबी छ । मेडिकल सुपरिटेण्डेण्ट पाण्डेयले चिकित्सकको निगरानीमा संक्रमितको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताए ।
धनगढीका संक्रमित ७ चैतमा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका थिए । विमानस्थलमा मामाको छोरोले रिसिभ गरेका उनी त्यस दिन काठमाडौंस्थित मामाकै घरमा बसेका थिए । भोलिपल्ट बुद्ध एअरको विमानमा नेपालगञ्ज पुगेको उनले बताए । नेपालगञ्ज विमानस्थलबाट कोहलपुरसम्म रिक्सा र कोहलपुरबाट अत्तरियासम्म हायसमा यात्रा गरेको बताए । अत्तरियाबाट धनगढी बजारसम्म विंगर प्रयोग गरेका उनले त्यहाँबाट घरसम्म पुग्न अटो रिक्सा प्रयोग गरेको बताए । घरपरिवार बाहेक अरुसँग आफ्नो भेटघाट नभएको उनको भनाई छ ।
९ गते बेलुकी ज्वरो आएजस्तो भएपनि केही समयमै ठिक भएको उनको भनाई छ । अर्को दिन समान्य रुघा लागेको पनि बताए । ‘१० चैतमा पनि रुघाखोकी लागिरहेपछि श्रीमतीले अस्पताल जान भनिन। अनि भोलिपल्ट एक नातेदार भाइसँग मोटरसाइकलमा सेती अस्पताल आएको हो,’ उनले भने । – नयाँ पत्रिकाबाट