केही बिरामी कोभिड – १९ बाट निको भए । तर फेरि पछि तिनमा सङ्क्रमण पाइयो । सामान्यतया साधारण रुघाजस्तै कोरोनाभाइरस एकचोटि सङ्क्रमण भए प्रतिरोधी क्षमता बढ्छ । तर यो भाइरसमा के फरक छ ?
सत्तरी वर्ष नाघेका एक पुरुष बिरामी चिकित्सकहरूसामु अनौठो र चिन्ताजनक उदाहरण बने । ती व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण पाइएपछि टोक्योको अस्पतालमा आइसोलेशनमा राखिएको थियो ।
जापानी समाचार प्रसारक एनएचकेका अनुसार ती निको भए र सामान्य जीवनमा फर्किए । उनले सार्वजनिक यातायात पनि प्रयोग गरे । केही दिनपछि पुनस् बिरामी भए र उनलाई ज्वरो आयो । ती पुरुष अस्पताल फर्किए । त्यहाँ उनलाई फेरि उक्त भाइरसको सङ्क्रमण भएको पाइयो ।
यूके सरकारको कोभिड–१९ रणनीतिमा समग्र जनतामा प्रतिरोधी क्षमताको विकास गराउने भन्ने पनि थियो । उनको जस्तो घटना अरू नभएको त होइन तर यसरी पुनः सङ्क्रमित हुनेको सङ्ख्या न्यून छ । तर पनि कतिपयमा छ । किन होला ?
भाइरस फर्कियो
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस भन्छन कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोभिड –१९ भएको पाइएको छ ।
उनको विश्वासमा यो फेरि सङ्क्रमण भएको नभई पुरानै भाइरस फेरि बल्झिएको हो । “मेरो विचारमा यो भाइरसको पनि मानिसमा प्रतिरोधी क्षमता त जन्मन्छ तर कतिपयमा भने प्रतिरोधी क्षमता सशक्त नहुन सक्छ,“ उनले भने । “जब प्रतिरोधी क्षमता खस्किन्छ तब शरीरमा रहेका भाइरस फेरि बल्झन्छन् ।“
भाइरस शरीरमा रहन्छ
कतिपय भाइरस शरीरमा तीन महिना वा लामो अवधिसम्म रहन्छन् । विज्ञहरूका अनुसार करिब १४ प्रतिशत मानिसमा कोरोनाभाइरस सङ्क्रमण दोहोरिएको पाइएको छ । कोभिड – १९ का बारे वैज्ञानिकहरूले अनौठो मानेको कुरा चाहिँ के हो भने निको भइसकेका बिरामीहरूमा यसरी पुनः सङ्क्रमण निकै चाँडो अवधिमा पाइएको छ । भिन्न भिन्न रोगका लागि प्रतिरोधी क्षमता भिन्न भिन्न प्रकारले काम गर्छ भन्ने हामीलाई थाहा छ ।
दादुराको हकमा बाल्यकालमा दिइएको एउटै खोपले जीवनभरि प्रतिरोधी क्षमता बनाइराख्छ । तर कतिपय स्वास्थ्य अधिकारीहरूले भने निश्चित उमेरका मानिसहरूलाई सुरक्षित राख्न पहिलेको भन्दा आधुनिक खोप पुनः दिनु राम्रो हुन्छ ।
अन्य कतिपय भाइरसका निम्ति खोप उति प्रभावकारी हुँदैनन् । त्यसैले त्यस्ता खोप बेला बेला फेरि दिइरहनुपर्छ ।
अनि कतिपय यस्ता खोप पनि छन् ( उदाहरणका लागि इन्फ्लूएन्जाको वा साधारण रुघाको खोप ( जुन हरेक वर्ष दिनुपर्छ किनकि त्यसको भाइरस बारम्बार परिवर्तन भइरहन्छ ।
अझै बुझ्न बाँकी
कोभिड–१९ नयाँ भाइरस भएकाले यसको व्यवहार बारे वैज्ञानिकहरूलाई बुझ्न बाँकी छ । त्यसपछि मात्रै किन छिटो पुनः सङ्क्रमण भएको भन्ने पत्ता लाग्ला । मड्रिडस्थित कार्लोस तृतीय स्वास्थ्य प्रतिष्ठानका अनुसन्धाता इसिडोरो मार्टिनेज पनि कोरोनाभाइरसको पुनः सङ्क्रमण हुन सक्ने भए पनि कोभिड–१९ को पुनः सङ्क्रमण चाँडो भएकोमा अनौठो मान्छन् ।
“यदि लामो समयसम्म प्रतिरोधी क्षमता नरहने हो भने एक दुईवर्षपछि आउने अर्को महामारीमा फेरि सङ्क्रमित भइन्छ । त्यो सामान्य हो,“ मार्टिनेजले बताए ।
“तर निको भएलगत्तै फेरि त्यही भाइरसबाट सङ्क्रमित भइहाल्नु भनेको अनौठो हो । अहिलेसम्म हामीले बुझे अनुसार यो कोरोनाभाइरस फ्लूको भाइरस जति परिवर्तित भइरहँदैन,“ उनले भने ।
बीबीसीबाट साभार गरिएको