अत्तरिया -भारतबाट घर फर्किएका गोदावरी नगरपालिकाका स्थानियहरु सिधै घर गएका छन् । सुदुरपश्चिम प्रदेश सरकारले केन्द्र सँग समन्वय गरी हिजो मात्रै कैलालीको सिमाबाट उद्दार गरिएको थियो ।
प्रदेश सरकारले कम्तीमा १४ दिन ति ब्यक्तीहरुलाई आ- आफ्नो स्थानिय तहमा क्वारेण्टटाइन मा राख्ने निर्णय बमोजिम सबैलाई भित्र्याएको थियो । तर उनिहरु नगरपालिकाको सम्पर्कमा नआई घर गएका छन् ।उनिहरु नगरपालिकाका बिभिन्न वडाका बासिन्दा हुन् । भारतबाट आएकाहरु नगरपालिकाको प्राय सबै वडाका छन् ।
गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले भारतबाट आएकाहरुलाई होम क्वारेटाईनमा राखिएको बताए । 'हिजो फर्किएकाहरु हाम्रो संपर्कमा आएनन्, डाटा संकलन गरिरहेका छौं,' उनले भने - 'सबै वडाहरुमा उनिहरुको अबस्था बुझ्न नगरपालिकाका स्वास्थ्यकर्मी पनि परिचालन गरेका छौं।' हिजो मात्रै झण्डै ४० भन्दा बढी गोदावरी नगरपालिकामा घर भएका भारतबाट फर्किएका थिए ।
गोदावरी नगरपालिका ११ का वडा अध्यक्ष शिव बिकले आफ्नो वडामा तत्काल भारतबाट कोही आएको जानकारी नभएको बताए । उनले भने - हामी वडामा कोही आएकी भनेर जानकारी लिने कार्य गरेपनी त्यस्तो कोही नभेटिएको बताए ।
वडा नम्बर ९ का वडा अध्यक्ष लाहानु चौधरीले वडामा हिजो भारतबाट स्थानियहरु आएको स्विकार गरे । उनले भने - हिजो अबेर राती धनगढी भएर धनचौरी,मुर्कुटी लगाएतका ठाउँहरुका स्थानियहरु आएका छन् । हामी उनिहरुको तथ्याङ संकलन गरिरहेका छौं ।
गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउँदले आईसोलेसन कक्ष र क्वारेनटाईन ब्यबस्था नगरपालिकाले गरेको भएपनी उनिहरु संपर्कमा नआएको बताए । उनका अनुसार मालाखेती अस्पतालमा र सामुदायिक अस्पतालमा २०/२० बेडको आईसोलेसन कक्ष र शैनिक अस्पताल तेघरीमा १२० बेडको क्वारेनटाईन कक्ष निर्माण गरिएको छ ।