डडेल्धुरा – सुदूरपश्चिमको डडेल्धुरामा रहेको सामुदायिक रेडियो अमरगढी ९७.४ मेगाहर्जले आफ्नो नियमित प्रसारण हुने कार्यक्रम तथा समाचारहरु आंशिक रुपमा स्थगित गरेको छ ।
विस्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले गर्दा सुदूरपश्चिम पनि उच्च जोखिममा रहेको कारण रेडियोले आफ्नो प्रसारण आंशिक रुपमा स्थगित गरेको हो । नेपाल सरकारले कोरोना भाइरसका कारण सिंगो देशलाई ‘लक डाउन’ गरेको समयमा रेडियोमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रेडियोको प्रसारण १८ गते सम्मका लागि आंशिक रुपमा बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक छत्र साउँदले जानकारी दिए ।
रेडियोले प्रशारण गरिरहेका मनोरन्जन र अन्य कार्य १८ गते सम्मका लागि बन्द गरिए पनि स्रोताहरुलाई सहि सुचना प्रदान गर्न बिहान र बेलुकाको समाचार भने रेडियोबाट प्रशारण हुने उनको भनाइ छ ।
‘सुदूरपश्चिममा विना चेकजाँच भारतवाट हजारौको संख्यामा नागरिक आउन थालेकाले जोखिम बढेको छ ।’ उनले भने, ‘स्थानीय, प्रदेश र संघिय सरकारले यसमा ध्यान दिनु आवश्यक छ । भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने ब्यबस्था गर्न समेत तिनै तहका सरकारलाई आग्रह गर्दछौँ ।’
साथै रेडियोले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आवश्यक सेवा बाहेकका अन्य सबै व्यापार व्यवसाय, समूहमा मानिस जम्मा भई भेला, सभा, गोष्ठी सेमिनार गर्न, भीडाभाड हुने गरी आवतजावत नगरिदिन सबैमा आग्रह गरेको छ ।
‘नेपाललाई सरकारले देशलाई ‘लक डाउन’ गरिसकेको कारण सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई घरमै सुरक्षित बस्न आग्रह गर्दैछौँ । रेडियोको प्रसारण आंशिक रुपमा स्थगित हुँदा स्रोताहरुमा पर्न गएको असुविधाका कारण रेडियो परिवार छमा प्राथी छ ।’ प्रबन्ध निर्देशक साउँदद्वारा जारी सूचनामा उल्लेख छ ।