काठमाण्डौ - आज बैशाख १२ गते , चार बर्ष अघि नेपालीहरुका लागि आजको दिन निक्कै दुःखदायी रह्यो । ४ बर्ष पहिले आजकै दिन ठूलो मात्रामा जनधनको क्षति गराएर विनाशकारी भूकम्प गएको आज चार वर्ष पूरा भएको छ ।
४ बर्ष अघि अर्थात २०७२ साल वैशाख १२ गते आजैको दिन गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो । विनाशकारी भूकम्पमा परी हजारौ नेपालीले अकालमै ज्यान गुमाय भने हजारौ घाईते अबस्थामा रहेका छन् । नीजि घर तथा सरकारी भवन गरेर लाखौँ घर तथा भवनहरु कामै नलाग्ने गरेर भत्किएका थिए । भूकम्पका कारण काठमाण्डौँ उपत्यका सहित सिन्धुपाल्चोक, गोरखा, रसुवा, धादिङ लगाएतका जिल्लाहरुमा बढि क्षति भयो ।
झण्डै ८ लाख नागरिकले भूकम्पको प्रत्यक्ष मार खेपे । भूकम्पमा परि कम्तिमा ८ हजार ७९० जनाले ज्यान गुमाए भने झण्डै २२ हजार नागरिक घाइते भए । अति प्रभावित १४ र कम प्रभावित १८ गरि ३२ जिल्लामा भूकम्पको असर अझै बाँकी नै रहेको छ । भत्केका घरको पुनर्निर्माणमा समेत निर्धा्रित लक्ष्य अनुसार काम हुन सकेन । निजी आवस निमार्ण तर्फ अहिलेसम्म चार लाख तीन हजार दुई सय ८० लाभग्राहीले तेस्रो किस्तानको अनुदान लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
यस्तै सात लाख ६० हजार २७९ जनासँग अनुदान सम्झौता भएकोमा पहिलो किस्ता लिनेको संख्या सात लाख ५५ हजार ८६८ र दोस्रो किस्ता पाउनेको संख्या पाँच लाख ६४ हजार ३४२ रहेको छ । केहीको गुनासो सुनुवाई भएको छ भने केहीको गुनासो अझै पनि गुनासोमै छ । अहिले पनि गुनासो संकलन भइरहेको प्राधिकरणले जनाएको छ । सम्पदा पुनर्निर्माणमा भने ढिलाई भएको छ । अहिलेसम्म एकादुई बाहेक सम्पदाको काम सकिएको छैन ।
यस्तै विनाशकारी भूकम्पले घरबार भत्काएपछि आफ्नो गाउघर छाडेर अन्यत्र बस्दै आएका कतिपय भूकम्प पीडितहरुले दैनिक घामपानी र कठ्याङ्ग्रिँदो जाडो बस्नुपर्ने बाध्यता अझै कायमै रहेको बताएका छन् । उनिहरुले दैनिक मजदुरी नगरे बालबच्चा सहित भोकै बस्नुपर्ने अवस्था रहेको गुनासो गरेका हुन् । अस्थायी टहरामा बस्दा जाडोयाममा चिसोले निदाउन नसक्ने, गर्मीमा जस्तापाता तातेर बस्न नसक्ने र बर्खामा पानी पसेर खान बनाउन समेत समस्या हुने गरेको विस्थापितहरुको भनाई रहेको छ ।
विस्थापितहरूको व्यवस्थापनका लागि आवश्यक जग्गा खरिद लगायत कारणले कठिनाइ भइरहेको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि सरकारले एकीकृत बस्ती विकास योजनालाई मूर्तरूप दिन सकिरहेको छैन । नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको भुकम्प विज्ञहरुले बताउँदै आइरहेका छन् ।