अत्तरिया - सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला मध्यको एक हो कैलाली जिल्ला । कैलाली एक सुगम जिल्लाका रुपमा चिनिन्छ । कैलालीमा १३ ओटा स्थानिय तह रहेका छन् । ति मध्यको पनि एक महत्वपूर्ण स्थानिय तह गोदावरी नगरपालिका हो । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको वडा नं २ र ४ मा पर्ने गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गरिसकेको छ ।
यद्धपी यहि नगरपालिकामा पनि थुप्रै त्यस्ता बिकट ठाउँहरु रहेका छन् जहाँका स्थानियहरु न त बिरामी पर्दा राम्रो उपचार पाउँछन् , न त त्यहाँका बालबालिकाहरु बिधालय नै पढ्न पाउँछन । त्यो ठाउँ हो गोदावरी नगरपालिकाको वडा नं १२ मा पर्ने सिम , चाप , सल्ली र नायल ।एक हजार ६० जना भन्दा बढि स्थानियहरुको बसोबास रहेको यि चार ओटै ठाउँका स्थानियहरु अहिले सम्म पनि समान्य आधारभूत आवश्यकता पाउनवाट पनि बञ्चित रहेका छन् ।
अत्तरिया बजारवाट झण्डै ४० किलोमिटरको दुरीमा पर्ने सो ठाउँका स्थानियहरु अहिले कुनै बिकट पाहाडी तथा हिमाली जिल्लाका स्थानियहरुको जस्तै दुख कष्ट भोग्न बाध्य छन् । कतिपय स्थानियहरुले अहिले सम्म बिजुली बत्ती देख्न पाएका छैनन भने गाउँमा कोही बिरामी भयो वा सुत्केरी भएका डोकोमा हालेर अत्तरियामा रहेका स्वास्थ्य संस्थाहरुमा पुञ्याउनुपर्ने अबस्था रहेको छ ।
जसोतसो बाटो त पुञ्याउने प्रयास गरिएको छ तर स्थानियहरुलाई त्यो बाटोमा आवतजावत गर्नका लागि निकै खतरा मोल्नुपर्ने अबस्था रहेको छ । स्थानिय युवा दिल बहादुर बुढाथोकीका अनुसार अहिले यहाँका स्थानियहरु सामान्य आधारभूत आवश्यकतावाट बञ्चित भैरहेका छन् । मानबलाई चाहिने शिक्षा , स्वास्थ्य , खानेपानी, बाटोघाटो लगाएतका आधारभूत आवश्यकतावाट आफुहरु निकै पछाडी परेको उनले बताए ।
हेर्नुस हामी सुगम जिल्लाको त्यो पनि सुगम नगरपालिका मै रहेका छौ तर के सुबिधा पाएका छौ भनौ उनले भने अहिले गाउँ गाउँमा सरकार घर घरमा सरकार भन्छन तर हामीहरुले के पाएका छौ भनौ , हामी यति सम्म पिडित छौ कसलाई भनेर यो समस्या समाधान हुन्छ , हाम्रो यो पिडालाई कसले बुझिदिने । उनले गाउँमा ५ कक्षा भन्दा बढिको पढाइ हुने बिधालय नहुदा आफुजस्ता उच्च शिक्षा हासिल गर्न चाहाने थुप्रै युवाहरु अहिले भारतमा गएर मजदुरी गर्न बाध्य रहेको दुखेसो पोखे ।
गाउँमा ५ कक्षासम्म पढाई हुने एउटा मात्रै बिधालय छ ५ कक्षा पास भएपछि कि त ओलानी , अत्तरिया जानुपर्छ कि त नजिकै सिमानामा रहेको डडेल्घुरा जिल्लामा जानुपर्छ उनले भने तर बिधालय आउन जाद ५÷६ घण्टा लाग्नेभएपछि कतिपय बिधार्थीहरु बिचमै बिधालय छोडेर भारत तिर जान्छन् । उनले यसैका कारणले गाउँमा धेरै जसो शिक्षावाट बञ्चित हुदा अशिक्षा र अज्ञानता बढिरहेको बताए ।
यस्तै अर्का स्थानिय पदम बोहराले आफुहरु सुगम जिल्ला र नगरपालिका भित्र पर्ने भएपनि गा.वि.सको भन्दा तत्लो स्तरको सेवा सुबिधा पाइरहेको बताए । उनले यहाँको प्रमुख समस्या भनेको बाटोघाटोको नै रहेको उनले बताए ।
'हाम्रो सबैभन्दा ठूलो समस्याका रुपमा अहिले बाटो घाटो नै रहेको छ , बाटो नहुदा अहिले हाम्रा साना नानीबाबुहरु न त राम्रो शिक्षा दिक्षा पाइरहेका छन् न त राम्रो स्वास्थ्य' उनले भने - 'अहिले शहरी स्वास्थ्य क्लिनक खुलेपछि स्वास्थ्यमा केही हद सम्म सहज भएको छ तर केही जटिल समस्या भयो भने अझैपनि डोकोमा हालेर अस्पताल सम्म पुञ्याउनुपर्ने बाध्यता रहेको छ ।'
अर्का स्थानिय चन्द्र बहादुर थापाले आफु लामो समय सम्म सो ठाउँमा बसिरहदा अहिले सम्म कुनै पनि सेवा सुबिधा पाउन नसकेको बताए । उनले आफु नगरपालिकाको बासी भएपनि आफुलाई स्थानिय सरकार गोदावरी नगरपालिकाले सौतेनो ब्यबहार गरीरहेको बताए । उनले यो ठाउँ प्राकृतिक सौर्दयताले भरिपूर्ण रहेपनि यस तर्फ कसैको ध्यान जान नसकेको बताए । उनले आफ्नो समस्या समाधानका लागि गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरु र प्रदेश सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
उता वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्काले गोदावरी नगरपालिकाको बिकट वडाको अति बिकट ठाउँ चाप , सल्ली र नायल रहेको बताए । उनले प्राकृतिक सौर्दयतासंगै थुप्रै सम्भावना बोकेको उक्त ठाउँका लागि आफुले काम गरिहेको भएपनि आफु एक्लैले केही गर्न नसक्ने बताए ।
'म एक्लैले के गर्न सक्छु र , वडाको बजेट पनि कति नै हुन्छ' उनले भने -' वडाको बजेटले काम गर्न नसकिने अबस्थामा नगरपालिका र प्रदेश सरकारले उक्त ठाउँका लागि केही सोचि दिनुपर्ने अबस्था छ । ' अत्तरियावाट नजिकै परेपनि यँहाका स्थानियहरुले अहिले सम्म बिजुली बत्ती देख्न नपाएको र बिरामी पर्दा ज्यान जोखिममा राखेर अत्तरियाका स्वास्थ्य संस्थाहरुमा पुग्नुपर्ने बाध्यता रहेको बताए । आफुले वडावाट गर्न सकिने सम्पूर्ण गर्न तयार रहेको बताउदै उनले यस तर्फ स्थानिय सरकारका रुपमा रहेको नगरपालिका र प्रदेश सरकारलाई पनि ध्यान दिन अनुरोध गरे ।