काठमाडौं – तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा आतंक मच्चिरहेको छ। कोरोना प्रतिको त्रास दिनप्रति दिन बढ्दो छ।यो समयमा शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई ध्यान दिनु पनि आवश्यक छ। केही उपायहरु छन्, जसले लामोसम्म सहयोग नगरेपनि कोरोनाको जोखिमसँग लड्न अवश्य पनि सहयोग गर्नेछ।
१. स्वस्थ र पोषिलो खानेकुरा
शरीरलाई सधै स्वस्थ र पोषिलो खानेकुराको आवश्यक पर्छ। जसले रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतालाई राम्रोसँग काम गर्न मद्दत गर्छ।
२. मादक पदार्थको सेवन नगर्ने
मादक पदार्थको सेवनलाई सीमित गनुपर्छ। सकेसम्म मादक पदार्थको सेवन नगर्ने र गुलियो अर्थात् चिनी मिसाईएका पेय पदार्थहरु बच्नुपर्छ।
३. धुम्रपानको सेवन नगर्ने
धुम्रपान सेवन स्वास्थ्यका निम्ति घातक मानिन्छ। यदी कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित छ भने धुम्रपानले झन् गम्भीर खालका समस्या निम्त्याउने जोखिम बढ्छ।
४. शारीरिक क्रियाकलाप गर्ने
विश्व स्वास्थ्य संगठनले दिनमा युवाका लागि कम्तीमा ३० मिनेट र बालबालिकाका लागि १ घन्टा शारीरिक क्रियाकलाप गर्न सुझाव दिएको छ।
यदी स्थानीय तथा राष्ट्रिय मार्गनिर्देशनले अनुमति दिन्छ भने बाहिर हिड्ने, दौडने तर अन्य व्यक्तिसँगको दूरी पनि कायम गर्ने। यदी बाहिर निस्कन मिल्दैन भने घर भित्रै अनलाईमा उपलब्ध व्यायामका भिडियो हेर्न सकिन्छ, नृत्य, योगा गर्न सकिन्छ भने घरभित्रकै सिढीमा हिड्ने गर्नुपर्छ
घरबाटै काम गर्नेहरुले पनि विभिन्न तरिकाबाट व्यायाम गर्न सक्छन्। जस्तै, लामो समयसम्म एउटै पोजिसन नबस्ने, प्रत्येक ३० मिनेटमा ३ मिनेटको ब्रेक लिनुपर्छ।
५. मानसिक स्वास्थ्य ध्यान दिने
मानसिक स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। कुनै संकट या कोरोनाको महामारी फैलिएको बेला मानसिक तनाव हुनु र डर लाग्नु सामान्य हो। यो समयमा आफुले आफु निकटका मानिसहरु कुरा गर्नुपर्छ।
समुदायमा भएका अन्य मानिसले सक्दो सहयोग गर्न सक्छन्। जस्तै, परिवार, छिमेकी र साथीहरु। किनभने संकटको समयमा मानिसको हौसला र करुणाले पनि औषधिको काम गर्ने विज्ञ बताउँछन्।
संगीत सुन्ने, पुस्तक पढ्ने र विभिन्न खेलहरु खेल्न सकिन्छ। यदी समाचारले डर पैदा गर्छ भने सकेसम्म धेरै समाचार पढ्नु हुँदैन। सही सूचना लिने हो भने विश्वसनीय समाचारका स्रोतबाट मात्र सूचना लिनुपर्छ।
कोरोनासँग सम्बन्धित सही सूचना र जानकारीका प्रदान गर्नका लागि विश्व स्वास्थ्य संगठनले ह्वाट्सएप र फेसबुकसंग सहकार्य गर्दै हेल्थ अलर्ट म्यासेजिङ्ग सर्भिस सुरु गरेको छ।
जसमा कोरोनाको लक्षण र बच्ने उपायहरु पनि समावेश गरिएका हुन्छन्। यो सेवा हाल अंग्रेजी भाषामा उपलब्ध भएपनि अर्को साता अन्य भाषा पनि सार्वजनिक गरिने संगठनले जनाएको छ।