अत्तरिया - बिश्वब्यापी महामारीका रुपमा फैदिदै गएको कोरोना भाईसर अर्थात कोभिड १९ को संक्रमण भारतमा पनि बढ्दै गएपछि धेरै जसो नेपालीहरु आ -आफ्नो घर नेपाल फर्किन थालेका छन् । चिनवाट सुरु भएको कोरोना भाईसरको संक्रमण भारतमा पनि फैलिएपछि त्यसवाट बच्न भारतका बिभिन्न सहरहरुमा रहेका नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।
अहिले भारतसंग जोडिएका सुदूरपश्चिमका मुख्य नाकाहरुमा भारतबाट फर्कने नेपालहरूको लर्को लाग्न थालेको छ । मजदुरीका लागि भारत गएकाहरू अहिले हतार हतारमा घर फर्किनुको प्रमुख कारण कोरोनाको डर नै रहेको पाइएको छ । भारतमा कोरोना भाइरस फैलिएपछि ज्यान जोगाउन परिवार सहित घर फर्किएको धनगढी स्थित त्रिनगर नाकाबाट नेपाल फर्किएका बाजुरा छेडेदह गाउँपालिका १ काँडाका रमेश रोकायाले बताए ।
उनले आफुसंगै भारतमा लामो समय देखि रोजगारी गरिरहेका नेपालीहरु धमाधम घर फर्किरहेका बताए । उहाले भारतमा उद्योग धन्दा, होटेल बन्द भएपछि काम समेत बन्द भएकाले धेरै नेपाली समस्यामा परेका बताए । दुई तीन दिन यता कैलालीको त्रिनगर स्थित गौरीफन्टा नाका र कंचनपुरको गड्डाचौकी नाकाबाट दैनिक ठूलो संख्यामा नेपालीहरु नेपाल भित्रिरहेका छन्।
धनगढीको भन्सार स्थित त्रिनगर प्रहरी चौकिका अनुसार पछिल्लो समय दैनिक कम्तिमा तीन हजार नागरिक गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम भित्रिने गरेका छन् । अन्य समयमा दैनिक एक हजार देखी एक हजार पाँच सयको हाराहारीमा नेपाल प्रवेश गर्ने दर अहिले बढेर दुई हजार देखी चार हजार सम्म पुगेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज महादेव भट्टले बताए ।
उनले गौरिफण्टा नाका हुँदै भारत जानेको संख्या भने शुन्य जस्तै भएको बताए । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकावाट पनि दैनिक तीन देखि पाँच हजारको संख्यामा भारतबाट मानिसहरू नेपालतर्फ आइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार एक दिन मात्र सीमा नाका भएर ३ हजार १०१ जना नेपाली भारतबाट नेपाल फर्केका छन् ।
भारतबाट फर्कनेहरु सबैको सीमा नाका रहेको ’हेल्थ डेस्क’मा थर्मल स्क्यानरको सहायताले चेकजाँच भैरहेको छ। भारतबाट फर्कनेहरूलाई चेकजाँचपछि मात्रै नेपाल छिर्न दिने गरिएको छ । सीमा नाका भएर फर्केका कसैमा पनि अहिले सम्म कोरोनाका लक्षण भने देखा परेको छैन । कोरोनाको शंका लागेमा अस्पतालमा लगेर परिक्षण गर्ने गरिएको छ ।