अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ बस्ने लक्ष्मण बि.क शारिरिक रुपमा अशक्त छन् । उनी एक ठाउँवाट अर्का ठाउँमा आवतजावत गर्नका लागि ट्राइसाईकलको प्रयोग गर्दै आएका छन् । उनी २ बर्षदेखी सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता बाफतको रकम बुझ्दै आएका छन् ।
पहिला पहिला जब नगरपालिकाले भत्ता वितरण सुरु गथ्यो उनी गाउँ नजिकै रहेको वडा कार्यालयमा गएर सहजै तरिकाले आफ्नो भत्ता बुझेर ल्याउथे । तर अहिले भने आफुलाई भत्ता लिन निकै सास्ती हुने गरेको उनी गुनासो गर्छन । गोदावरी नगरपालिका वडा नं १ र २ का स्थानियहरुले अहिले सामाजिक सुरक्षा भत्ता बाफत पाउने रकम अत्तरिया स्थित कुमारी बैंकवाट बुझिरहेका छन् । बैंक मार्फत भत्ता दिने ब्यबस्था गरेपछि निकै समस्या भएको बि.कले गुनासो गरेका हुन् ।
'हेर्नुस यति सम्म दुख भएको छ कि , जुन दिन देखी बैंकले भत्ता दिन सुरु गरेको थियो म त्यहि दिन देखी बैंक धाइरहेको छु तर ४ दिन भयो आज आएर पाए उनले भने - 'म जस्तो ब्यक्ति कतिदिन सम्म यो बैंकको चक्कर लगाउने ।' बैंक र बैंकका कर्मचारीहरु अपाङमैत्री नहुदा आफु जस्ता सबैले सास्ती खेपिरहनुपरेको उनको गुनासो छ । 'न त बैंकका कर्मचारीहरुसंग अपाङगता भएका ब्यक्ति , जेष्ठ नागरिकहरुसंग गर्ने ब्यबहार मिलेको छ न त हामीजस्ता ह्वलचियर प्रयोगकर्ताहरुलाई सहजै रुपमा आवतजावत गर्न दिइन्छ' उनी भन्छन् - 'यो ब्यबस्था ठिक भएन ।' उनले बिहान १० बजे बैंक खुल्ने गरेको भएपनि ३ नबज्दै बन्द हुदा झन समस्या थपिएको बताए ।
उनी मात्रै होईन अहिले आआफ्नो भत्ता लिन बैंक सम्म पग्ने वडा नं १ र २ का जेष्ठ नागरिकहरुले पनि निकै समस्या खेपिरहेका छन् । गोदावरी नगरपालिका वडा नं १ की ८० बर्षिय लालमति खड्काले भत्ताकै लागि भनेर ४ दिन देखी बैंक धाइरहेको बताइन् । उनले आफुलाई बैंकको बारेमा केहि जानकारी नभएपछि समस्या भएको सुनाइन ।
'कहिले केहि मिलेन भन्छन् कहिले केहि मिलेन भन्छन् उनले भनिन - ' हामीलाई त वडामै ठिक थियो , बैंक सम्म पुग्नका लागि अरुसंग पैसा रिण मागेर आइरहेकी छु ।' यस्तै अर्की एक जना महिलाले वडामा दिदा सहजै रुपमा पाउने भए पनि बैंकमा भने निकै झन्झटिलो प्रकृया रहेको बताइन् । उनले भत्ता दिन सुरु भएदेखी बैंकमा आएको र सानो भएको पसल पनि बन्दको बन्दै रहेको बताइन् ।
चुनाबको समयमा घरघरमै भत्ता दिन्छौ भन्ने जनप्रतिनिधिहरु अहिले आफ्नै मोजमस्तीमा रहेको र जनतालाई भने सास्ती भैरहेको उनको गुनासो छ । उनले ८० बर्ष उमेर भएका बुढा आमाबुवा र शारिरिक रुपमा अशक्त एबम् अपाङगता भएका ब्यक्तिहरुलाई जनप्रतिनिधिहरुले बैंक मार्फत भन्दा पनि घरमै गएर भत्ता दिदा उचित हुने बताइन् ।
कुमारी बैंक अत्तरिया शाखा प्रमुख कृष्ण पालले भने भत्ता लिनेहरु एकैदिन धेरैको संख्यामा आउन थालेपछि समस्या भएको बताए । उनले जेष्ठ नागरिकहरुमा बैंकले भत्ता दिन सुरु गरेकै दिन मात्र भत्ता पाइने र अघिपछि नपाइने हो कि भन्ने मानसिकताले गर्दा सुरुकै दिनदेखी भिडभाड हुन थालेको बताए ।
'हामीले यो पहिलो पटक वितरण गरिरहेका छौ , वडा नं १ र २ का झण्डै १२ सय जनाको नाममा भत्ताको पैसा आएको छ' उनले भने - 'सुरुमा केहि सिस्टम नबुझ्दा ढिलाई भइरहेको छ तरपनि हामीहरुले अहिले अरु कामलाई ठप्प गरेर भत्ता वितरणलाई पहिलो प्राथमिकता दिइरहेका छौ ।' भत्ता वितरणकै लागि भनेर अहिले २–३ जना कर्मचारीहरुलाई अलग्गै खटाएको उनले बताए ।
शाखा प्रमुख पालले भत्ता वितरणको बेला कसैको नाम नमिल्ने कसैको थर नमिल्ने , कसैको नाम र थर फरक पर्ने हुदा सबैको खोजीनिति गर्दा केहि ढिलाई हुन गएको बताए । 'बृद्ध आमाबुबाहरु चेक चलाउन जान्नुहुन्न , अर्को कुरा एक दिन मात्र पैसा पाइन्छ अर्को दिन पाइदैकी भन्ने सोच बनाएर एकै दिन सबै आउनुहुन्छ अनि कसरी सबैलाई एकैदिन दिन सकिन्छ' उनले भने - 'तरपनि हामी बढि भन्दा बढिलाई एकदिनमा समेट्ने प्रयास गरिहेका हुन्छौ ।'
अहिले दिनमा १ सय ५० जना सम्मलाई भत्ता वितरण गरिहेको र भत्ता लिन बैंक सम्म पुग्न नसक्नेहरुलाई यो काम सबै सकिएपछि वडाको जनप्रतिनिधिहरुको रोहवरमा बैंकले घर घरमै पुञ्याउने योजना रहेको उनको भनाई छ । अहिले सरकारले २५ जना भन्दा बढिलाई एक ठाँउमा जम्मा भएर भिडभाड गर्न अनुरोध गरेको छ ।
बैंक मार्फत भत्ता दिने ब्यबस्था गरिएपछि बैंक अगाडी दिनभर भिडभाड हुने गर्दछ । गोदावरी नगरपालिकाका प्रबक्ता समेत रहनुभएको वडा नं १ का अध्यक्ष शर्मानन्द भट्टले केन्द्र सरकारको निर्णय अनुसार नै अहिले बैंक मार्फत भत्ता वितरणको भैरहेको बताए । उनले गोदावरी नगरपालिका भित्र बैंकको पहुच सम्म नभएकाहरुलाई वडावाट दिइने गरेको भएपनि गोदावरी नगरपालिका वडा नं १ र २ बजार क्षेत्रमा रहेकाले पनि बैंकवाट वितरण भैरहेको जानकारी दिए ।
उनले भत्ताका लागि सुरुमा बैंकमा जाने र केहि फरक परेपछि वडा कार्यालयमा आएर बुझेर जाने पनि भैरहेको बताए । उनले अहिले धेरैले यसबारे नबुझेकाले मात्रै समस्या भैरहेको र बुझेपछि सहज हुने बताए । तर स्थानियहरुले भने आफुलाई बैंकको प्रकृया झनझटिलो भएकाले वडावाट भत्ता वितरण गर्न माग गरेका छन् ।