काठमाडौं - कञ्चनपुरवासीले जिल्लामा भारतसँग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पुनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसँग माग गरेका छन्। जनप्रतिनिधिसहित काठमाडौं आएका सीमा पीडितले सुदूरपश्चिम प्रदेशका ९ ठाउँमा भारतले अतिक्रमण गरेको भन्दै ठोस कदम चाल्न उनीहरूले माग गरेका छन्।
अन्तर्रा्ष्ट्रिय सीमा सरोकार समूहको अगुवाइको पत्रकार सम्मेलनमा भारतले एकाएक नेपाली भूभाग उसको नक्सामा राखेको भन्दै उनीहरूले विरोध गरे। समूहका संयोजक पल्लवराज भट्टले भारतद्वारा अतिक्रमित सीमाबारे सरकारलाई जानकारी गराउन राजधानी आउनुपरेको बताए। ‘हामी प्रमाणसहित काठमाडौं आएका छौं। सरकारले तत्कालै प्रभावकारी कदम चाल्नुपर्छ,’ उनले भने।
भारतीय पक्षको नक्साका आधारमा सीमांकन गर्ने नेपाली नापी विभागको सर्भे टोलीलाई कारवाही गर्नुपर्ने माग संयोजक भट्टको छ। उनले भने, ‘मूल सीमास्तम्भलाई आधार मान्दा सम्पूर्ण अतिक्रमित क्षेत्र नेपालकै भूभागमा पर्न आउँछ। तर भारतले साक्षी स्तम्भलाई आधार मानेर सम्पूर्ण क्षेत्र आफ्नोमा पारेको छ।’ कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडकलाई भारतीय एसएसबीका जवानले आफ्नो भूभाग भन्दै रोक लगाएकोप्रति गम्भीर हुन उनको आग्रह छ।
सीमापीडित ओमप्रकाश पन्तले रहरले काठमाडौं नआएको बताए। ‘हामी बाध्यताले यहाँ आएका हौं,’ उनले भने, ‘राज्य गणतन्त्रात्मक प्रणालीमा गए तापनि हामीलाई त्यसको अनुभूति भएको छैन। सबै काम गर्न काठमाडौं नै आउनुपर्ने कारण के हो रु ’ उनले नेपाली सर्भे टोली सीमाजस्तो संवेदनशील विषयमा गम्भीर नभएकाले तत्काल नयाँ टोली पठाएर स्थानीय निकायसँग विचार विर्मश गरी नयाँ नक्सा जारी गर्न सरकारसँग आग्रह गरे। बेलौरी नगरपालिकाकी उपमेयर चित्रकुमारी चौधरीले नेपालली भूभाग भारतले अतिक्रमण गरेपछि राजधानी आएको बताएकी छन्। उनले भनिन्, ‘हाम्रो जन्मस्थल गुम्दैछ। हाम्रो समस्या समाधान गर्न सरकारले तत्कालै पहल गर्नुपर्छ।’
उनीहरूले संघीय सरकारसमक्ष ६ बुँदे मागसमेत अघि सारेका छन्। उनीहरूले मंगलबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याललाई ज्ञापनपत्र बुझाएका थिए। ऐतिहासिक दस्तावेज, भोगचलन, कित्ता नापी नक्साका तथा जग्गाधनी प्रमाणपुर्जा, जंगे पिलर, सीमासम्बन्धी अन्तर्रा्ष्ट्रिय ऐन तथा कानुनका आधारमा नयाँ नक्सा तयार गर्न जनप्रतिनिधिको सहभागिता हुने गरि सीडीओको नेतृत्वमा फिल्डमा कार्यरत टोलीलाई अधिकार दिएर तत्काल स्ट्रिप नक्सा पुनरावलोकन गर्नुपर्ने उनीहरूको माग छ।
स्ट्रिप नक्साको पुनरावलोकन गर्दा सुगौली सन्धिपश्चात् स्थापित सीमा स्तम्भ ९जंगे पिलर० लाई अन्तर्रा्ष्ट्रिय सीमा रेखांकनको मुख्य आधार बनाउनुपर्ने भनाइ पीडित स्थानीयको छ। नियतवस सारिएका, गायब गरिएका, भत्काइएका २०० नम्बर, १९५ नम्बरलगायत पिलरलाई वैज्ञानिक तथ्यका आधारमा पुरानै ठाउँ खोजेर तत्काल पुनःस्थापना गर्नुपर्ने मागसमेत उनीहरूले राखेका छन्। अन्नपूर्ण पोष्टवाट साभार