धनगढी – कोरोना भाइरसको सर्तकता कार्यक्रम अन्तरगत धनगढीको त्रिनगरभन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो । ‘अहिले ३ वटा सैया राखेका छौं ।’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘आवश्यकता अनुसार सैयाहरु थप गर्ने ब्यबस्था मिलाएका छौं ।’
निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने ब्यबस्था गरिएको नगरप्रमुख वडले बताए । उनले चेकजाँच गर्ने उपकरण र उपलब्ध औषधीहरु पनि राखेको बताए । निगरानी कक्षको अगाडी अत्याधुनीक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको नगरप्रमुख वडले बताए । बिरामीलाई आवश्यक पर्न सक्ने शौचालय खानेपानीको ब्यबस्था पनि मिलाईएको छ ।
निगरानी कक्ष नेपाल भारत मिमानामा त्रिनगर भन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ नगरप्रमुख वडले भने, त्यही ठाउँबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान सजिलो हुने छ । त्यसैगरी धनगढी उप–महानगरपालिकाले फागुन २४ गते देखि नै भन्सार नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रीनेहरुको चेकजाँच गरिरहेको छ ।
कोरोना भाईरस सतर्कता अन्तरगत नै धनगढी उप–महानगरपालिकामा बुधवार नै बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकले धनगढी बजारका मुख्य चौकहरु, बसपार्कमा प्लाष्टिक पानी ट्यांकीहरु राखेर हिडडुल गर्नेहरुका लागि हातधुने ब्यबस्था मिलाउने, कोरोनाबाट बच्न सकिने बिषयमा प्रचारप्रशार गर्ने, बजारमा हुन सक्ने कालाबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षाकेन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय गरेको छ ।
बैकर्स क्लव कैलालीका अध्यक्ष धर्म बिष्टले कोरोना अहिले जनस्वास्थ्य क्षेत्रका लागि चुनौती भएकाले स्थानीय सरकार संग समन्वय गरेर काम गर्ने निर्णय भएको बताए ।