भक्तपुर – माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार देखि सुरु भइ १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने र परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुने भएका छन् ।
त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक खकुरेलले कूल ८६ वटा विषयमा हुने परीक्षामा करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको जानकारी दिए ।
कोरोनालाई ध्यानमा राखी परीक्षा केन्द्रमा सहायता कक्ष
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए ।
परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले निकै सतर्कता अपनाएको बताए ।
परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर शिक्षा विज्ञान तथा प्रविधि र स्वास्थ्य मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।
परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेक्स राख्ने व्यवस्था मिलाउन सात सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।