अत्तरिया - चिनको बुहानवाट सुरु भएको कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमण अहिले बिश्वका बिभिन्न देशहरुमा महामारीका रुपमा फैलिदै गइरहेको छ । २०१९ को डिसेम्बरमा पहिलो पटक भेटिएको यो भाइरसको संक्रमण चार महिना पुगिसक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
छिमेकी देश भारतमा पनि संक्रमण फैलिदा नेपालमा भने अहिले सम्म कसैमा यसको संक्रमण नदेखिएको पाइएको छ । कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपालमा मास्कको माग अत्यधिक बढ्दो रहेको छ । तर बजारमा मास्क भने समान्य अबस्थामा पाउने अबस्था रहेको छैन ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको अत्तरियामा पछिल्लो समय मास्कको माग ह्वातै बढेको छ । तर बजारमा रहेका मेडिकल तथा अस्पतालहरुमा सर्जिकल (पेपर)मास्कको चरम अभाव भएकोे छ । कोरोना भाइरसको संत्रास पछि बजारमा एका एक मास्कको माग बढ्न थालेपछि मास्कको चरम अभाव भएको हो ।
अत्तरियामा रहेको कुनै पनि मेडिकल , क्लिनक र अस्पतलाहरु सर्जिकल मास्क नरहेको पाइएको हो । कोही मेडिकलहरुमा सर्जिकल मास्क किन्न गएमा मेडिकल तथा अस्पतालमा गएकाहरु रितै हात फार्किने गरेका छन् । अत्तरियाको पदमा अस्पतालका प्रबन्ध निर्देशक डा। नर बहादुर मौनीले पछिल्लो समय कोरोना भाईरसको संत्रासपछि सर्जिकल मास्कको माग अत्याधिक बढ्दो रहेको बताए । उनले आफ्नो अस्पतालमा मात्रै दैनिक १ सय देखी १५० जना सम्म सर्जिकल मास्कका लागि आउने गरेको बताए ।
उनले मास्कको अभाव भएपछि सबै भन्दा बढि स्वास्थ्यकर्मीहरुलाई मर्कामा परेको बताए । 'हामी आफैसंगै मास्क छैन , अप्रेशन गर्दा झन अति आवश्यक पर्छ' उनले भने - 'तर के गर्नु अहिले एउटै मास्कलाई धोएर लगाउनुपर्ने बाध्यता रहेको छ ।' यस अघि आफुहरुले धनगढीवाट मास्क ल्याउने गरेको बताउदै उनले अहिले त्यहाँ पनि अभाव भएपछि समस्या भएको बताए ।
यस्तै अत्तरियाको मेरी मेडिकलका संचालक बलराम भट्टले दुई महिना भन्दा बढि समयदेखी सर्जिकल मास्क पाउन छोडेको बताए । उनले कोरोनाको हल्ला पछि आफुले ल्याउने ठाँउमा पनि मास्का अभाव भएको बताए ।' हामीले पहिला धनगढीवाट मास्क ल्याउने गरेको थियौ , धेरै समय भैसक्यो मास्क नपाएको' उनले भने - 'पाइएपनि महंगोमा पाइन थाल्यो अनि हामीले कसरी महंगोमा बेच्नु भनेर ल्याउनै छोड्यौ । यस्तै अत्तरियाको सेवा मेडिकलका संचालक पदम बहादुर शाहले आफुसंग भएको दुई चार प्याकेट सर्जिकल मास्क कोरोनाको हल्ला सुरु हुनु सकिएको बताए ।'
उनले पछि सुरुमा सहज रुपमा बिक्रि वितरण भैरहेको मास्क कोरोनाको संत्रास फैलिएपछि एका एक अभाव भएको बताए । कोरोना भाइरसबाट जोगिनका लागि ‘एन ९५’ नामक मास्क आवश्यक पर्छ । तर अहिले बजारमा ‘एन ९५’ सँगै साधारण मास्कको पनि अभाव हुन थालेको छ । विगतमा १० रुपैयामाँ सहजै पाएइने सर्जिकल मास्क अहिले नपाइने र पाइहाले पनि निकै महगोंमा बिक्रि वितरण हुने गरेको छ । बजारमा मास्क अभाव भएको हो वा कालोबजारी भैरहेको छ भन्ने बारे सोधी खोजी गर्नुपर्ने भएपनि सम्बन्धित निकाय भने बेखबर रहेको छ । यस तर्फ सम्बन्धित निकाय , अनुगमन टोलीको ध्यान जान आवश्यक छ ।
कपडाको मास्कको माग पनि बढ्दो
सर्जिकल मास्को अभाव भएपछि अत्तरिया बजारमा अहिले साधारण कपडाको मास्कको पनि माग बढिरहेको छ । कोरोना भाईरसको संत्रास बढ्दै गएपछि त्यसवाट बच्न सर्वसाधारणहरु मास्क किन्नकै लागि बजार सम्म पुग्ने गरेका छन् । पछिल्लो समय दैनिक बजारमा कपडाको मास्क खोज्नेहरु बढिरहेको अत्तरियाका ब्यापारीहरु बताउँदछन् ।
अत्तरिया स्थित बोगटी फेन्सी स्टोरका संचालक राजेन्द्र बोगटीले बजारमा कोरोना भाईरसको त्रास फैलिएपछि कपडाको मास्क किन्नेहरुको संख्यामा बढेको बताए । उनले स्वास्थ्य संस्थाहरुमा पाइने सर्जिकल मास्कहरु अभाव भएपछि रोगवाट बच्नका लागि कपडाकै मास्क भएपनि किन्नेहरु बढिरहेको बताए ।
पछिल्लो समय अन्य सामान भन्दा पनि मास्कका लागि सोध्ने र किन्नेहरु धेरै आउने गरेको अत्तरियाका अर्का फेन्सी संचालक दुर्गा कडायतले बताइन् । उनले अहिले आफुले ल्याउने ठाउँमा कपडाको मास्क पनि अभाव हुन थालेको बताइन् । उनले ग्राहकहरुले खोजे बजोजिम कपडाका मास्कहरु पनि पाउन मुस्किल हुन थालेको बताइन् ।