सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ‘सामन्ती पोसाक’ भन्ने गर्थे ।
शान्ति प्रक्रियामा आएलगत्तै मन्त्री तथा प्रधानमन्त्री बनेका नेताहरूले शपथ ग्रहण गर्दा पनि त्यो पोसाक लगाएनन् ।
तर अहिले उनीहरूको व्यवहारमा परिवर्तन हुन थालेको छ। विभिन्न सार्वजनिक पदमा पुगेका पूर्वमाओवादी नेताहरूले दौरा, सुरुवाल र कोट लगाउन थालेका छन् ।
दशवर्षे सशस्त्र विद्रोहको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेसम्म दौरा सुरुवाल लगाएको देखिएको छैन ।
तर उक्त पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको बताउँदै उनी भन्छन्, “कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु ।”
कहिले लगाउलान् दौरा सुरुवाल ?
पहिलो पटक प्रधानमन्त्री भएदेखि प्रचण्डले भादगाउँले कालो टोपी लगाउन थाले ।
प्रचण्डका सहयोद्धा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा दौरा सुरुवाल लगाएनन् ।
माओवादी दल छोडेर अर्कै दल बनाएका उनले गत वर्ष “देशअनुसारको भेष” भन्दै दौरा सुरुवाल लगाएको तस्बिर सार्वजनिक गरे ।
गत साता बीबीसीसँग कुराकानी गर्दै उनले आफूले दौरा सुरुवाल लगाउन सक्ने बताए ।
“सन्दर्भ मिलेका दिन लगाउनुपर्छ भन्ने मैले सोचेको छु। तर दौरा, सुरुवाल र कोट सधैँ लगाउने भन्ने सायद हुँदैन,” उनले भने ।
विभिन्न जातजाति र धर्मावलम्बीका कार्यक्रममा जाँदा आफूले उनीहरूको पहिचान झल्किने पोसाक लगाउने गरेको प्रसङ्ग निकाल्दै उनले दौरा, सुरुवाल र कोट पनि त्यसरी नै लगाउने बताए ।
पूर्वमाओवादी कमान्डर नन्दबहादुर पुन (बीच) उपराष्ट्रपति भएपछि दौरा, सुरूवाल र ढाका टोपीमा सजिएर औपचारिक समारोहमा भाग लिन्छन
नेकपा एमालेसँग पार्टी एकीकरण भएपछि प्रचण्ड अहिले नेकपाका दुईमध्ये एक अध्यक्ष छन् ।
पार्टी एकीकरण हुनुअघि आफूले पार्टीमा “इच्छा भएका साथीहरूले ृदौरा सुरुवाले लगाउँदा राम्रै हुन्छ” भनेको स्मरण गरे ।
विसं २०६२र२०६३ को आन्दोलन अघिसम्म दौरा, सुरुवाल, कोट र टोपीलाई पुरुषको राष्ट्रिय पोसाक मानिन्थ्यो ।
तर गणतन्त्र स्थापना हुनुअघि जारी भएको अन्तरिम संविधानमा त्यो व्यवस्था हटाइयो ।
नेपालको नयाँ संविधान राष्ट्रिय पोसाकको विषयमा मौन छ ।
अहिलेसम्म किन दौरा सुरुवाल लगाएनन ?
प्रचण्डका अनुसार उनले अहिलेसम्म दौरा सुरुवाल लगाएका छैनन् । राजनीतिक कारणले नै आफूले दौरा नलगाएको उनको तर्क छ । “मलाई के लाग्छ भने राजतन्त्रकालीन संस्कृति, परम्परा, वेशभूषा राजा–महाराजाले विकास गरेर ल्याएका हुन,” उनले भने ।
“मैले त्यसको ठाउँमा सबै नेपालीको पहिचान झल्किने एउटा साझा आन्दोलनको नेतृत्व गरेँ,” उनले भने, “मैले एउटा पोसाकमा गएर केन्द्रित भइदिँदा अरू वेशभूषा, संस्कृति र परम्परा भएका जनताको मनमा के लाग्ला भन्ने कारणले मैले नलाएको हुँ ।”
विभिन्न समुदायका वेशभूषामा प्रचण्ड देखा परिरहन्छन
“सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता भनेर यहाँ आइपुगिएको छ ।”
“संविधान र सबै कुराको मनोवैज्ञानिक पक्षलाई विचार गर्दा मैले हतार गरेर लगाएर हिँड्नुपर्ने छैन भन्ने परेको छ । यो कुनै विरोधको कुराले हैन, भावनात्मक कुराले मात्रै हो,” स्पष्टीकरण दिँदै उनले भने ।
टाई –सूटमा कालो टोपीको संयोजन किन ?
दुई पटकसम्म प्रधानमन्त्री भएका प्रचण्ड प्रायस् सार्वजनिक कार्यक्रममा टाई –सूट र भादगाउँले टोपीमा देखिन्छन् ।
उक्त पोसाक रोज्नुको कारण सुनाउँदै उनी भन्छन, “कम्युनिस्ट भनेका अन्तर्राष्ट्रवादी हुन् । माओको पालामा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कोट लगाउँथे अहिले त्यसलाई सूट र टाईमा परिणत गरिएको छ ।”
“लेनिन, मार्क्स र एङ्गेल्सले पनि सूट र टाई नै लगाउँथे। कम्युनिस्ट हुनुको नाताले उनीहरूले राष्ट्रवाद र अन्तराष्ट्रियतावादको जोड मिलाउनुपर्ने हुन्छ ।”
“राष्ट्रवाद भित्र अन्तराष्ट्रिवाद र अन्तर्राष्ट्रवादभित्र राष्ट्रवाद हुन्छ । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा त्यस बेलामा के पोसाक लगाउने भन्ने विषयमा ठूलै बहस भएको थियो । मैले त्यस बेलामा के गर्नु उचित हो भन्ने बारेमा गम्भीर ढङ्गले विचार गरेको थिएँ ।”
चीन र रुसी कम्युनिस्ट नेताको प्रभावमा आफूले टाई –सूट र टोपीको संयोजन रोजेको प्रचण्डको भनाइ छ ।
त्यस बेला कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा प्रचण्डले शपथ लिएका थिए ।
उनले पोसाकको परम्परालाई आफूले बारम्बार भन्ने गरे जसरी नै “क्रमभङ्ग” गरिदिएका थिए ।
त्यस बेलाको निर्णय सम्झिँदै प्रचण्ड भन्छन, “नेपालीहरूको ठ्याक्कै राष्ट्रिय पहिचान झल्किने भनेको टोपी नै हो । किनभने टोपी सबैतिर लगाइन्छ, कुनै न कुनै रूपमा टोपीको आकार प्रकार फरक भए पनि टोपी आम रूपमा लगाइन्छ । त्यसैले नेपालको राष्ट्रियतालाई झल्काउन मैले टोपी रोजेँ ।”
उनले आफू कम्युनिस्ट भएकाले टाई र सूट रोजेको बताए । उनले भने, “आजभोलि मलाई खुसी लाग्छ – साथीहरू अहिले टाई, सूट र टोपी लगाउने साथीहरू बढेका छन् । राष्ट्रिय भावना पनि त्यहाँ मुखरित होस् र एउटा कम्युनिस्ट नेता हुनुको नाताले अन्तराष्ट्रियतावाद पनि देखियोस् भनेर यो पोसाक रोजिएको हो ।”
–विविसिबाट सभार