मुम्बई -विश्वभर महामारीका रुपमा फैलिएर रहेको कोरोना भाईरस का कारण भरतमा रहेका नेपालीहरु त्रसित बनेका छन्। गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को संक्रमण अहिले विश्वका १५० भन्दा बढी देशमा फैलिइसकेको छ । त्यस्तै सोमबार दिउँसोसम्म ६ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने करिब एक लाख ७० हजार संक्रमित भएका छन् । त्यस्तै ७७ हजारभन्दा बढी निको भइसकेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । भारतमा हालसम्म २ जनाको ज्यान गईसकेको छ भने ११२ जना संक्रमित रहेका छन्। ठुलो संख्यामा रोग संक्रमित व्यक्तिहरु फेला परेपछि भारत सरकारले पनि देशलाई आपतकाल घोषणा गरेको छ ।
बढी भिडभाड हुने ठाउँहरुबाट अझै रोग फैलिन सक्ने भन्दै यँहाको सरकारले बिभिन्न संघ संस्था, सिनेमा घर,बिद्यालय,सपिङ सेन्टर ,होटेल लगायतका सबै ठाउँहरु यहि १५ मार्च देखि ३१ मार्चसम्मका लागि बन्द गर्न आव्हान गरेकोे छ भने कोरोनाबाट बच्न सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको छ । रोजगारीको लागि भारतमा आउने नेपालीहरु मध्य अधिकांश होटेलमा कार्यरत छन् । होटेल व्यवसाय पनि बन्द भएपछि उनिहरु थप संकटमा परेका हुन । काम गर्ने ठाउ बन्द भएपछि घर फर्कन खोजेका छन् ।
तर सिमा अन्यौलता हुँदा झनै मारमा परेको उनीहरुको दुखेसो छ । सिमा बन्द या खुल्ने विषयमा नेपाली मिडियाहरुले अन्यौलता हुनेगरि विभिन्न धारबाट सामाचार प्रसारण गर्दा आफुहरुलाई घर कसरि फर्कने भन्ने चिन्ता रहेको भारतमा रोजगारि गर्दै आएका कैलालीका नविन रेग्मीले बताए। काम गर्ने ठाउँ नै बन्द भएपछि बस्न पनि नसकिने र घर पनि जान नसकिने भएको हुँदा हजारौ नेपालीहरु यतिबेला भारतमा अलपत्र पर्ने अवस्थामा छन् । नेपालीहरुलाई सिमा अन्यौलता को पिर त छंदै छ त्यो भन्दा बढि फर्कदा रोगको संक्रमित भईने होकि भन्ने पिर छ ।
कोरोना रोगको त्रासका कारण दैनिकजसो भिडभाड हुने होटेलमा अहिले १,२ जना पनि ग्राहक आउन छोडेको भारतको कोलापुरमा होटेल व्यवसाय गर्दै आएका कमल मल्लले बताए । होटेल व्यवसायबाट आयआर्जनको पाटो भएपनि बन्द भएपछि अब के गर्ने भन्ने चिन्ता उनको छ । भारतका केहि होटेल व्यवसाय बन्द हुँदा धेरैजसो नेपाली नागरिकहरुलाई अहिले होटेलबाट हटाइएको छ । हातमा रुपैया पैसा पनि नहुनु र बस्न ठाउँपनी नभएपछि उनिहरु भारतमा रहेका आफ्ना आफन्तहरु तथा साथिभाई कहाँ बास खोजिरहेका छन त त केहि नेपालीहरु भने घर फर्किरहेका छन ।
सबै नेपालीहरुलाई घर फर्कन आफन्तहरुको आग्रह
भारतमा दिनप्रतिदिन रोग संक्रमितको संख्या बढ्दो रुपमा गइरहेको छ । नेपालमा रहेका आफन्तहरुले भारतका सबै नेपालीहरुलाई घर फर्कन आग्रह गरिरहेका छ्न । तर घर फर्किएपनि सिमामा १४ दिन क्वारेनटाईनमा बस्नुपर्ने या नपर्ने , सिमा बन्द या खुल्ला लगाएतका बारेमा प्रस्ट नहुँदा प्रवासी नेपालिहरु यतिबेला अन्यौलमा परेका छन ।
अहिले आफुहरु रोगको संक्रमित नभएपनि यात्राका क्रममा भिडभाडबाट जोगिन मुस्किल भएको उनिहरुको तर्क छ । नेपाली मिडियाहरुबाटै स्पस्ट रुपमा सुचना नपाएपछि भारतमा काम गर्न आएकाहरु चिन्तित छन भने कतिपयको घरमा रुवावासिनै चलिरहेको छ ।