अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी जोड्ने कैलालीको अत्तरिया धनगढी ६ लेन सडक निर्माणाधिन अबस्थामा रहेको छ । यस अघि २ लेनको मात्रै रहेको उक्त सडक २०७४ जेठ महिनामा दुई वर्ष अर्थात २०७६ जेठमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएर काम सुरु भएको थियो । तीन चरणमा निर्माण भइरहेको उक्त सडकको काम तोकिएको समयमा सम्पन्न नभए पछि निर्माणको अबधि पुन एक बर्ष थप गरिएको छ । ६ लेन सडक अन्र्तगत अहिले आधा भाग कालोपत्रे पनि भइसकेको छ ।
यद्धपी सडक ६ लेनमा फराकिलो बनेपनि दुर्घटनाको जोखिम भने कायमै रहेको छ । कारण हो ६ लेन सडकमा परेको हाईटेन्सन टावर र सडक वरपर जथाभावी रुपमा गरिने अब्यबस्थित पाकिङ । ६ लेन सडक अन्र्तगत अत्तरिया स्थित बिधुत प्राधिकरण कार्यालयकै अगाढी रहेको हाईटेन्सन टावर अहिले सम्म हटाइएको छैन भने निर्माणाधिन अबस्थामा रहेको सडक सवारी साधनहरुको पाकिङ स्थल बनेको छ ।
१ लाख ३२ हजार भोल्ट रहेको अत्तरिया स्थित हाईटेन्सन टावर नहटाई टावरको बिचवाटै नाली निर्माण गरिएको छ भने त्यहाँ खतराको संकेत दिइएको छ । जति फराकिलो र खुल्ला सडक पयो सवारी चालकहरुले त्यति नै तिब्र गतिमा सवारी साधनहरु दौडाउने गर्दछन् । जसले गर्दा जुन सुकैबेला पनि ठूलो दुर्घटना हुन सक्ने भएकाले सो ठाँउमा दुर्घटनाको उच्च जोखिममा रहेको छ ।
सडक फराकिलो बनेपछि खुसी भएका स्थानियहरु हाईटेन्सन टावरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै चिन्तित बनेका छन् । ६ लेन सडकमा ट्रक चलाउदै गरेका एक जना ट्रक चालक रमेश बटालाले भने सबै भन्दा ठूलो जोखिम यहि टावरले गर्दा भएको छ । उनले दिउँसको समयमा त्यति समस्या नभएपनि रातिको समयमा भने गाडी चलाउदा निकै साबधानी अपनाउनुपर्ने अबस्था रहेको बताए ।
टिकापुरका एक जना स्थानिय रिचा धमालाले जति सडक फराकिलो बन्यो त्यति नै दुर्घटनाको जोखिम पनि बढेको बताए । 'नेपालको विकास पनि अचम्मको छ उनले भने - 'करोडौ लगानी लगाएर यति राम्रो ६ लेन सडक बनाइदैछ तर बिचमा फेरि यति ठूलो टाबर किन राखिएको हो , किन हटाउन सकिएन होला ।'
उनले आफैमा खतरा मानिने बिधुतको टाबरलाई जसरी पनि सो सडकवाट चाडो भन्दा चाडो हटाउनुपर्ने बताए । मोहनापुल अत्तरिया सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले टावर हटाउनका लागि आफुले अत्तरिया ग्रीड शाखालाई बारम्बार पत्र पठाएर जानकारी गराउदा पनि कुनै वास्ता नै नगरेको बताए ।
उनले सडक क्षेत्राअधिकार भित्र पर्ने बिधुतका पोल र खानेपानीका पाइपलाइनहरु व्यवस्थापन गर्न सके पनि हाइटेन्सन टावरका बारेमा अझै सम्म पनि अन्यौलता कायमै रहेको बताए । 'हेर्नुस मैले यति पटक बिधुत प्राधिकरणलाई जानकारी गराइसके तर उहाँहरुले कुनै वास्ता नै गर्नुहुन्न , अहिले सम्म हामीले पठाएको पत्रको कुनै जबाफ र कुनै प्रतिकृया पाएका छैनौ ' उनले भने - 'यस बिषयमा अत्तरिया ग्रीड शाखाले कुनै चासो नै नराखेपछि काम राकिने हुदा बिचवाटै भएपनि नाली बनाएका हौ ।'
साथै उनले निर्माण सम्पन्न नहुदै ६ लेन सडकलाई पाकिङ स्थल बनाइएको हुदाँ यस तर्फ पनि सम्बन्धित निकायलाई जानकारी गराएको बताए । उनले धनगढी स्थित नेपाल आयल निगमको अगाडी दुवै तर्फ लामबद्ध तरिकाले ट्याङकरहरु पाकिंङ हुदा समस्या भैरहेकाले जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराइसकेको बताए ।
यता नेपाल बिधुत प्राधिकरण अत्तरिया ग्रीड शाखाका प्रमुख गणेश पाण्डेले टाबर हटाउने बिषयमा प्रकृया सुरु भैसकेको बताए । उनले यसअघि विद्युत कार्यालयले हटाउने कि सडकले भन्ने बारे अन्यौता हुदा समस्या भएको बताए । अब भने बिद्युत कार्यालयले नै टावर हटाउने निर्णय गरेपछि प्रकृया सुरु गरिएको उनले बताए ।
'अहिले हामीले स्टमेट बनाएर केन्द्रमा पठाएका छौ , त्यँहावाट स्टमेट स्बिकृत भएर आउने बित्तिकै टेण्डर आह्वान गरेर काम अगाडी बढ्छ उनले भने ।' प्रमुख पाण्डेले सम्भवत अषाढ महिना भित्र टाबर हटिसक्ने बताए । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ०७४ जेठमा सम्झौता गरिएको सडकको म्याद दोस्रो पटक थप गरिएको हो ।
तिन प्याकेजमा निर्माण भैरहेको सडकको पहिलो प्याकेज १८ महिना, दोस्रो र तेस्रो प्याकेजको अवधि २० महिना थप गरिएको योजना कार्यालयले जनाएको छ । ६ लेन सडकको अहिले सम्म ५९ प्रतिशत भौतिक र ५१ प्रतिशत बित्तिय प्रगति भएको योजना कार्यालयका प्रमुख होमबहादुर एसीले गोदावरी न्युजलाई जानकारी दिए ।
सम्बन्धित खबर ६ लेन सडकमा पर्ने टावर मुनिबाटै नाली निर्माण गरियो