अत्तरिया – गोदावरी नगरपालिकामा ६८ दशमलव ४ प्रतिशत मानिसले हात्तिपाईलेको औषधी खाएका छन । नगरभित्र औषधी खान योग्य रहेका १६ हजार ९ सय ७८ घरधुरीका ९६ हजार ७ सय ६० जना मद्ये ६६ हजार २ सय ४९ जनाले हात्तिपाईलेको औषधी खाएका हुन । जुन गत बर्षको भन्दा ३ प्रतिशतले बढी हो ।
गत बर्ष ६५ प्रतिशतले मात्रै हात्तीपाईलेको ओषधी खाएका थिए । गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगर भित्र २ देखि ५ बर्ष उमेर समुहका ७ हजार ६ सय ५६ जना मद्ये ५ हजार ४ सय ५८ जना, ६ देखि १४ बर्ष उमेर समुहका २४ हजार ६ सय ८४ जना मद्ये १९ हजार २ सय १५ जना र १५ बर्ष माथिका ६४ हजार ४ सय २० जना मद्ये ४१ हजार ५ सय ७६ जनाले हात्तीपाईलेको औषधी खाएका छन ।
जसका लागि अल्वेन्डाजोल ६६ हजार ३ सय र डाईइथाइलकार्बामाजिन १ लाख ७४ हजार ४ सय ६१ औषधी चक्की वितरण भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वीर बहादुर कुँवरले बताए । उनका अनुसार हात्तीपाईलेको औषधी खुवाउन नगरपालिकाले अल्वेन्डाजोल १ लाख ५ हजार ९ सय ५ चक्की प्राप्त गरेकोमा ३९ हजार ६ सय ५ बाकी रहेको छ भने डाईइथाइलकार्बामाजिन २ लाख ४० हजार ६ सय ९३ औषधी चक्की प्राप्त गरेकोमा ६६ हजार १ सय ७८ चक्की बाकी रहेको छ ।
यस्तै २ बर्ष मुनिका ४ हजार २ सय ७७, गर्भवती आमाहरु २ हजार ४ सय ३९ र सिकिस्त विरामी ४ हजार २ सय ३ जना गरी १० हजार ९ सय १५ जनाले हात्तीपाईलेको औषधी नखानुपर्ने भएकाले औषधी नखुवाईएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कुँवरले बताए ।
यसैबिच गोदावरी नगरापालिका २ तेघरीमा रहेको भबानी दल र बाहिनीका लागि पनि औषधी पठाएको भएपनि खान नमानेको नगरपालिकाले जनाएको छ । त्यहाँ रहेका १६ सय जनाको लागि औषधी पठाएको भएपनि माथिको आदेश भन्दै औषधी नखाई फिर्ता पठाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार गत बर्ष भने नगरपालिकाले वितरण गरेको हात्तीपाईलेको औषधी नेपाली सेनाले खाएका थिए ।
गोदावरी नगरपालिकामा माघ २५ देखि फागुन ५ सम्म हात्तीपाईले रोग निवारण कार्यक्रम कार्यान्वयन अभियान सुरु भएको थियो । जसका लागि नगरपलिकाले ६० जना स्वास्थ्यकर्मिको टोली परिचालन गरेको थियो ।