काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ ।चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् ।चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ ।
चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने बिहीबार एक जनाको मात्र मृत्यु भएको छ। संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ ।
इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् ।
इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् । उता दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।
चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।