डडेल्धुरा - जिल्लाको भित्रिमधेस क्षेत्रका सिमा नाकाहरुमा बिहीबार स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरिएको छ । भारतसंग सिमा जोडिएको डडेल्धुराको परशुराम नगरपालिकाले पनि सिमा नाकामा निगरानी बढाएको छ ।
विश्वभर संक्रमणको रुप लिइरहेको कोरोना भाइरस कोभीड–१९ को संक्रमण रोक्न सिमानाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्य परिक्षणका लागि बिहीबारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको परशुराम नगरपालिकाका उपप्रमुख कलावती बाहोराले जानकारी दिइन ।
परशुराम नगरपालिकाको वडानं ६ तातापानीस्थित सिसमझाला घाट र वडा नं ५ परिगाउँस्थित वाङघाट नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो । हेल्थ डेस्कमा २÷२ जना स्वास्थ्यकर्मी तथा आवश्यकता अनुसार सुरक्षाकर्मीहरु खटाइएको परशुराम नगरपालिकाका प्रवक्ता गणेशप्रसाद जोशीले बताए । परशराम नगरपालिकाको खेल मैदान परशुराम रंग मैदानमा आइसोलेसन वार्ड समेत स्थापना गरेको उनले जानकारी दिए । कोरोनाको शंकास्पद बिरामी फेला परे उनीहरुका लागि ४ देखि ५ शैयाको आइसोलेसन वार्ड स्थापना गरिएको हो ।
आवश्यकता अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसंगको समन्वयमा स्वाथ्यकर्मी परिचालन तथा आइसोलेसन वार्ड क्षमता थप गर्न सकिने उपप्रमुख बोहोराले जानकारी दिइन । यसअघि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत फागुन २२ गते हेल्थ डेस्क स्थापन गर्न स्थानीय तहहरुलाइ पत्राचार गरेको थियो ।
छिमेकी मुलुक भारतमा ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोराना भाईरसको संक्रमण रोक्न मुलुकका विभिन्न सिमा नाकाहरुमा कडीकडाउ गर्नुका साथै जनचेतनामुलक गतिविधीहरुका साथै स्वास्थ्य परिक्षण केन्द्र स्थापना भए पनि डडेल्धुराका सिमा नाकामा हालसम्म स्वास्थ्य परिक्षण केन्द्र स्थापना हुन सकेको थिएन ।
भारतीय सिमानाका जोडिएका परशुराम नगरपालिकाका वडा नं. ५ र ६ मा रहेका सिमा नाकामा हालसम्म जनचेतना अभिवृद्र्धी गर्ने किसिमका कुनै पनि काम नभएकोमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना भएपछि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने परशुराम नगरपालिका–६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिँहले बताए ।
भारतको सिमा क्षेत्रमा रहेका यहाँका नाकाहरुबाट दैनिक सयौ स्थानीयहरु आवत जावत गर्ने गर्दछन् । जिल्लाको झण्डै आधा जनसंख्या रहेको भित्रिमधेस क्षेत्रमा रहेका दुबै नाकाहरुमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना भए पनि पहाडी क्षेत्रका बासिन्दाहरुले प्रयोग गर्ने रुपाल नाकामा हालसम्म स्वास्थ्य परिक्षणका लागि हेल्पडेस्क स्थापना हुन सकेको छैन ।
रुपाल नाकामा सरकारले सामान्य पर्चा पोष्टरसमेत पु¥याउन नसकेको स्थानीय अगुवा मदन नाथले जानकारी दिए ।