एजेन्सी – भारत सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।
१५ अप्रिल सम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा १५ अप्रिल सम्म निलम्बन गर्ने निर्णय गरेको हो ।
ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक) लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुने छ ।
१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले बुधबार विश्वव्यापी महामारी घोषणा गरेको छ । त्यसल गत्तै अमेरिकाले बेलायत बाहेक युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भारतमा कोभिड–१९ को प्रकोप रोक्ने विषयमा विभिन्न स्वास्थ्यमन्त्री सहितका अन्य मन्त्रीहरुको बीचमा बुधबार साँझ भएको छलफल भएको थियो । सो छलफलपछि भारतले कोरोना भाइरस कोभिड–१९ को महामारीबाट बच्न समग्र विश्वबाट क्वारेन्टाइनमा बस्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले लेखेको छ ।
यो निर्णयसँगै भारतमा फेब्रुअरी १५ पछि आउने सबै मानिसहरुलाई पनि १४ दिन क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । भारतमा भाइरसको नयाँ संक्रमितको संख्या बढेसँगै त्यसलाई नियन्त्रणमा राख्न भारतले आफ्ना प्रयास शुरु गरेको हो । यसअघि नै भारतलाई यो भाइरसको जोखिममा रहेको मुलुक बताइएको थियो ।