धनगढी -सत्तारुढ नेकपाले सोमबार आज ७७ जिल्लामा एकैचोटि अध्यक्ष र सचिवको घोषणा गर्दैछ । एकता सुरु भएको एघार महिनापछि नेकपाले जिल्ला तहको नेतृत्व टुंग्याएको हो । सोमबार नेकपाको ७०औँ पार्टी स्थापना दिवस पनि हो ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले तयार पारेको प्रस्तावलाई पारित गरेसँगै एकीकरणको मूल कामले पूर्णता पाएको हो ।
पूर्वएमालेलाई ४४, पूर्वमाओवादीलाई ३३ जिल्ला
नेकपा सचिवालयले पूर्वएमालेले ४४ र माओवादीले ३३ जिल्लामा नेतृत्व पाउने गरी भागबन्डा गरेको छ । स्थायी समिति सदस्य संयोजक रहेको प्रदेश तहमा गठित कार्यदललबाट प्राप्त सिफारिसका आधारमा भागबन्डा भए पनि जिल्ला नेताको सूची सार्वजनिक गरिएको छैन । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा काठमाडौंमा सोमबार सूची सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशमा ५ जिल्ला पूर्वएमाले र ४ जिल्ला पूर्वमाओवादीलाई
यता सुदुरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा तत्कालिन नेकपा एमालेले जिल्ला अध्यक्ष पाएको छ भने ४ जिल्लामा तत्कालिन माओवादीले अध्यक्ष पाएको छ। कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङ जिल्लामा तत्कालिन माओवादीबाट अध्यक्ष भएका छन् भने कैलाली, डोटी, अछाम, बैतडी र बाजुरा जिल्लामा तत्कालिन एमालेले अध्यक्ष पाएको छ । कैलाली जिल्लामा तत्कालिन एमालेका जिल्ला उपाध्यक्ष रतन थापालाई अध्यक्षको जिम्मेवारी दिईने भएको छ । तत्कालिन एमालेका अध्यक्ष दिर्घ सोडारी कार्बाहीमा परेपछि थापाले जिम्मेवारी पाउने निश्चित भएको हो ।
यस्तै कञ्चनपुरमा तत्कालिन माओवादीका विरवहादुर थापा, डडेल्धुरामा मानसिह माल,दार्चुलामा गणेश खत्री, बझाङमा मिनवहादुर कुँवरले अध्यक्षको जिम्मेवारी पाएका छन । त्यस्तै तकालिन एमालेबाट बैतडीमा सुरेन्द्र पाल, डोटीमा चक्र मल्ल, अछाममा शेरवहादुर कुँवर, बाजुरामा कालीवहादुर शाहीलाऐ अध्यक्षको जिम्मेवारी दिईएको छ ।